विद्यालयमा योगसँगै कक्षा

टीकाप्रसाद भट्ट

रामेछाप — ‘शान्त हुनुस्,’ कक्षाकोठामा माइकबाट निर्देशन आउँछ, ‘अब योग सुरु हुँदै छ ।’ नियन्त्रण कक्षबाट शिक्षकले सीसी क्यामराले २३ वटै कक्षाकोठा नियाल्छन् । विद्यार्थी र शिक्षक जब ध्यानपूर्वक शान्त भएर बस्छन्, कन्ट्रोल कक्षबाट मधुरो संगीत पठाइन्छ ।

लगातार ५ मिनेट सबै कक्षाकोठाका विद्यार्थी र शिक्षक आँखा चिम्लिएर ध्यानमा बस्छन् । ‘मेडिटेसन पिरियड’ सकिएपछि शिक्षकले माइकबाट शुभकामना दिन्छन्, ‘आजको दिन सबैको सुखमय रहोस्, राम्रोसँग अध्ययन गर्नुहोला ।’

मध्याह्नको छुट्टीपछि पनि योग दोहोरिन्छ । घण्टी लाग्नेबित्तिकै त्यसैगरी शिक्षकले सबै कक्षामा ध्वनि पठाउँछन् र भन्छन्, ‘शान्त हुनुहोला ।’ अनि मधुरो संगीत बजाएर ५ मिनेट ध्यान गराउँछन् ।

रामेछापको सदरमुकामस्थित मन्थली माविमा ध्यान हुन थालेको एक वर्ष भएको छ । ‘यसले अनुशासन र नैतिक शिक्षामा वृद्धि गराएको छ,’ शिक्षक चन्द्रसिं धामीले भने, ‘ध्यानले विद्यालय प्रशासनको काम धेरै घटाएको र विद्यार्थीलाई नियमित विद्यालयमा आउने दरमा सुधार ल्याएको छ ।’

धामीका अनुसार पहिले विद्यार्थीबीच दैनिक दुई चार झगडा मिलाउनुपथ्र्यो । ध्यान गराउन थालेपछि झैझगडा स्वात्तै घटेको उनको अनुभव छ । ‘अहिले वर्षको एकाधभन्दा बढी झगडाका विषय विद्यालय प्रशासनले मिलाउनुपरेको छैन ।’

विद्यार्थीलाई अध्ययनशील बनाउन र समयको पालना गराउन पनि ध्यानले बल पुर्‍याएको शिक्षकहरू ठान्छन् । ‘पहिले प्रार्थना सकेर कक्षाकोठामा पसेपछि हामी धेरैबेर कल्याङमल्याङ गथ्र्यौँ,’ कक्षा १० का एक छात्र भन्छन्, ‘आँखा चिम्लिएर ध्यानमा बसेपछि वातावरणै फरक हुन्छ, एकाग्रता आउँछ ।’

२०७४ मंसिरमा उक्त विद्यालयका केही शिक्षक ओमशान्तिमार्फत भारतको मधुवनी जाँदा यही सिकेर आए । सीसी क्यामेराका साथै सबै कक्षामा माइकको व्यवस्था गरेपछि राजयोग सहज भयो ।

प्रधानाध्यापक टंकप्रसाद दाहाल बालअधिकार र मानवअधिकारका दृष्टिले कक्षाकोठामा जडित सीसी क्यामेराप्रति सधैंै संवेदनशील भएको बताउँछन् । उनले ध्यान गराउन र महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्न विद्यालयको नियन्त्रण कक्ष प्रयोग हुने बताए । ‘यो कक्ष हामीले विद्यार्थीलाई मनोरन्जन र नैतिक आचरणमा सुधारका लागि प्रयोग गरेका हौँ,’ उनले भने ।

मन्थली मावि जिल्लामा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने सामुदायिक विद्यालय हो । यसमा कक्षा १ देखि १२ सम्म १ हजार ९ सय ९३ जना विद्यार्थी छन् जसमध्ये छात्रा बढी छन् ।

प्रकाशित : पुस २८, २०७५ ०७:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वाइडबडीमा देउवा पनि

लेखा उपसमितिले ‘कानुनसम्मत कारबाहीका लागि’ सिफारिस गर्दा मन्त्री जितेन्द्र देवको नाम लिए पनि २०७४ जेठ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै पर्यटन मन्त्रालय सम्हालेका थिए । 
कृष्ण ज्ञवाली

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् ।

२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ । यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । कार्यालयको विवरणअनुसार देवले २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासँगै उनी जेठ २३ देखि पदमा रहेनन् ।

भोलिपल्ट जेठ २४ मा देउवाको नेतृत्वमा सरकार गठन भयो । तत्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरे । देउवाकै नेतृत्वमा पाँच दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखे । देव भने दोस्रो पटक २०७४ साउन ११ गते मात्र मन्त्री नियुक्त भएका थिए । उनको उक्त कार्यकाल फागुन ३ गते देउवाले राजीनामा दिएसँगै सकियो । भोलिपल्टै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो ।

लेखा समितिले राजन केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले विमान खरिद प्रकरणमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र बहालवालामन्त्री रवीन्द्र अधिकारीलाई जिम्मेवार ठहर्‍याई ‘कानुनसम्मत कारबाही’ का लागि लेखी पठाउने निर्णय गरेको थियो ।

‘जितेन्द्र देवको नाम पर्यटन मन्त्रालयबाटै त्रुटिपूर्ण रूपमा जोडिएकाले उनीमाथि लागेको आरोप अब तत्कालीन अवस्थामा मन्त्रालयको नेतृत्व गरेका माथि सार्नुपर्ने भयो,’ लेखा समितिका एक सदस्यले भने, ‘देवले २०७४ जेठ २९ गते जेजस्ता निर्णय गरे भनेर उनीमाथि आरोप लगाइयो, त्यो अब तत्कालीन अवस्थामा मन्त्रालयको नेतृत्व गर्ने प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका भागमा पर्न जान्छ ।’

उपसमितिले त्यति बेला ‘नैतिक जिम्मेवारी’ को प्रश्न उठाएको थियो । शाहीमाथि सार्वजनिक खरिद कानुनविपरीत विमान खरिद प्रक्रिया अघि बढाउँदा निगमको बोर्ड अध्यक्ष रहने पर्यटन सचिवलाई निर्देशन दिन नसकेको आरोप लगाइएको छ । उनीमाथि बैना रकम सटहीको सुविधा दिने क्रममा यथेष्ट सतर्कता अपनाउन नसकेको आरोप पनि छ ।

शाहीपछिका मन्त्रीलाई लगाइएको आरोप अलि गम्भीर थियो । जहाज खरिदका लागि हाई–फ्लाई–एक्ससँग कानुनविपरीत सम्झौता हुँदासमेत नजरअन्दाज गरी पहिलो किस्ता भुक्तानी भएको भन्दै ‘नैतिक जिम्मेवारी’ कै प्रश्न उठाइएको छ । प्रतिवेदनले कानुनसम्मत कारबाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरेको थियो । अब लेखा समितिले पुरानो निर्णय संशोधन गरी तत्कालीन पर्यटनमन्त्रीका हैसियतले देउवामाथि समेत ‘कानुनसम्मत कारबाहीका लागि निर्देशन दिने’ निर्णय गर्नुपर्ने देखिएको ती सदस्यले बताए ।

पूर्वप्रधानमन्त्री देउवाले गत पुस ११ गते संसदको बैठकमा वाइडबडी अनियमितताको प्रसंग चर्को रूपमा उठाएका थिए । उनले वाइडबडीका सम्बन्धमा ‘ठूलो लफडा’ भएको भन्दै जनतालाई यथार्थ विवरण दिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । ‘ठीक छ भने किन यत्रो कुरा आइरहेको छ ? सारा बदमासी भएको छ,’ उनले भनेका थिए, ‘धेरै ठूलो घप्ला भएको छ । यसको सत्यतथ्य कुरा आउनुपर्छ । हामी छोड्नेवाला छैनौं ।’

देउवाका राजनीतिक सहयोगी भानु देउवाले ‘सचिवस्तरीय निर्णय’ माथि उठेको प्रश्नमा प्रधानमन्त्री देउवालाई जोड्न नहुने प्रतिक्रिया दिए । ‘त्यति बेला सचिवस्तरीय निर्णय भएको रहेछ । मन्त्रालयसमेत सम्हालेका तत्कालीन प्रधानमन्त्रीको त्यसमा के भूमिका हुन्छ र ?’ उनले भने, ‘सचिवको तहबाटै टुंगिने विषयमा प्रधानमन्त्रीलाई जोड्न हुँदैन ।’ उपसमितिले मन्त्रीकै भूमिकामाथि प्रश्न उठाएको प्रसंगबारे भने उनले तत्काल जवाफ दिन नसकिने बताए । उनले भने, ‘यसमा उहाँ (देउवा) को धारणा के छ, सोधेर मात्रै भन्नुपर्ने हुन्छ ।’

विभिन्न सरकारी निकायबाट प्राप्त सूचनाका आधारमा विश्लेषण गरी प्रतिवेदन तयार गरिएको भन्दै लेखा समितिका सभापति भरत शाहले अब प्राप्त हुने सूचनाका हकमा अख्तियारलगायत निकायले थप छानबिन गर्ने प्रतिक्रिया दिए । ‘त्यति बेला जति भेटियो, हेरियो । अब प्रतिवेदन नै बुझाएपछि च्याप्टर बन्द भएको छ,’ उनले भने, ‘बाँकी आउने सूचनाका विषयमा अख्तियारले नै हेर्ला । को छन्, को छैनन्, अख्तियारले नै हेरेर टुंगो लगाउला ।’ उपसमितिले नै वाइडबडीबारे विस्तृत अध्ययन गरेकाले समितिमा त्यसलाई खासै नचलाइएको उनले बताए ।

तत्कालीन मन्त्री देवले वाइडबडीको किस्ता पठाउने निर्णय हुँदा आफूले मन्त्रालयको नेतृत्व नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘मन्त्रालयको प्रशासनमा नेतृत्व गर्ने पर्यटन सचिव कृष्ण देवकोटाको भूमिका शंकास्पद छ । गलत विवरण दिनेमाथि छानबिन हुनुपर्छ । मैले लेखा समितिमा पनि निवेदन दर्ता गराएको छु । संसद्मा समेत यो कुरा राख्नेछु ।’ पूर्वमन्त्री देवले पदमा रहँदा ‘वाइडबडीको फ्लीट थप्ने’ निर्णयमा भने हस्ताक्षर गरेका थिए । २०७४ कात्तिक ८ गते भएको निर्णयलाई उनले खरिदसँग प्रत्यक्ष सरोकार राख्ने नभई ‘नीतिगत प्रकृतिको निर्णय भएको’ प्रतिक्रिया दिए । उनले भने, ‘नयाँ विमान आउने भएपछि ती विमान सञ्चालन त गर्नैपर्‍यो । त्यसका लागि विमान थप्ने निर्णय भएको हो ।’

प्रकाशित : पुस २८, २०७५ ०७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT