कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँटीमा छैन सुनको चाप्की

मोहन शाही

डोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन् । लोप हुँदै गएको सुनको चाप्की घाँटीमा लगाएको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । भाइरलसँगै सहरबजारमा फेसनका रूपमा चाप्की गहना देखिन थालेको छ । 

घाँटीमा छैन सुनको चाप्की

चाप्की नयाँ पुस्ताका महिलाले प्रयोग गर्न थाले पनि अन्य थुप्रै गहना भने लोप हुने अवस्थामा छन् । मेलाहरूमा मात्र ग्रामीण क्षेत्रका महिलाले यस्ता गहना लगाउँछन् । महिलाहरूले खुट्टामा लगाउने कल्ली, घाँटीमा बेर्ने चाँदीको सुता, कानको ढुंग्री, चाप्के, टाउकाको पूरै कपाललाई छोप्ने श्रीबन्दी, सूर्य फूल आकारको कानमाथिको टाउकाको भागमा सजाउने सुनको फूल, हातमा लगाउने विशेष प्रकारको बालालगायत गहना हराउन थालेका छन् । बुलाकी, तिलहरी, मुन्द्री, फुलीजस्ता गहना पनि कमैले प्रयोग गर्छन् ।


सुदूरपश्चिमका महिलाले लगाउने मुख्य गहनामा तिलहरी, फुली, मुन्डी, पायल, बाली, श्रीफूल, चाप्की, श्रीबन्दी, बुलाकी, ढुकरी, चौखुडा, ढेडी, झुझुबी, कण्ठश्री, तारिका, पएडा, जोडी र डोरी पर्छन् । गहनासँगै परम्परागत पहिरन पनि हराउन थालेका छन् । यस क्षेत्रका नेता, उच्च ओहदाका कर्मचारी, व्यापारी तथा घरानियाँ परिवारका महिलाले परम्परागत गहनालाई प्रोत्साहन गर्नुको साटो हेप्ने प्रवृत्तिले लोप हुन थालेको कतिपयको आरोप छ ।


पूर्वीचौकी गाउँपालिका–१ सानागाउँकी पद्मा खड्काले पुराना गहना बेचेर चलनचल्तीका गहना बनाउन थालेकामा दु:खेसो पोखिन् । ‘पुराना गहना लगाउँदा केही पढेलेखेका तथा सहरिया महिलाले हेप्न थाल्छन्,’ उनले भनिन्, ‘समाजको सेवा गर्छौं भन्नेले नै गहनाको महत्त्व नबुझ्दा यस्तो भएको हो ।’ ४७ वर्षीया पद्मा भने अहिले पनि घरपरिवार तथा गाउँमा हुने चाडपर्वमा पुरानै गहना लगाउँछिन् । सानागाउँको भुवो पर्व हेर्न देवलगणि खेत पुगेकी उनी श्रीबन्दी, बुलाकी, नौगेडी लगाएर आएकी थिइन् ।


बडीकेदार–५ गडगाउँकी नर्मदा भुल पनि बिहेमा पतिले बनाइदिएको जोडी गहना मात्र लगाउँछिन् । तीनवटा तिलहरीझैं आकारका

सुन जोडेर बनाइएको गहनालाई जोडी भन्छन् । ‘बिहेमा बनाइदिएका हुन्,’ उनले भनिन्, ‘मैले जतन गरिराखेकी छु, मेरी देउरानी, जेठानीले भने बिहेका गहना मासेर नयाँ डिजाइनका बनाइसके ।’

प्रकाशित : पुस २८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?