कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाक्दै ढिकरी

भवानी भट्ट

कञ्चनपुर — चुरे फेदीको जंगलबाट सालको पात टिपेर ल्याइन् । र, आँगनमा बसेर फटाफट दुना गाँस्न थालिन् भीमदत्त नगरपालिका–१ राजीपुरकी ६५ वर्षीया भगवती डगौरा । ‘घरआँगन लिपपोत त अस्ति नै सकेको,’ माघीको तयारी गर्न निकै हतारोमा देखिएकी डगौराले आइतबार भनिन्, ‘भोलिदेखि त परिकार पकाउनु छ, के गर्नु सामानको जोरजाम गर्न भ्याइनभ्याइ ?’

पाक्दै ढिकरी

माघीको विशेष परिकार ढिकरी पकाउन चामलको पिठो खोजिसकेकी रहिछन् । भनिन्, ‘अब सेलपुरी पकाउने सामान र तरकारीको जोहो गर्न बाँकी छ ।’


माघी थारू समुदायको प्रमुख चाड । बस्तीका घर लिपपोतले चिटिक्क । गाउँका सबैजना केही न केही काममा व्यस्त । घर बाहिर भएकाहरू प्राय:जसो चाड मनाउन आइसके । कोही घर फर्कंदै गरेका भेटिन्छन् बाटोमा । थारू समुदायले नयाँं वर्षका रूपमा समेत माघी मनाउने गर्छन् । वर्षभरि काम गरेर माघीमा घरपरिवार, आफन्त र इष्टमित्र सँगै बसेर दु:खसुख बाँड्छन् ।


राजपुरमा माघीका लागि भनेर डेढ महिनाअघि नै जांँड बनाएर बेग्लै राखिएको रहेछ । ढिकरीसँगै बंगुरको मासु विशेष मानिन्छ । ‘गाउँभरिका लागि २ क्विन्टलको बंगुर खोजेका छौं,’ राजीपुरका गोपाल डगौराले भने, ‘हरेक परिवारले एक पसेरी (अढाई किलो) पाउँछ, त्यसबाफत ५ सय तिर्नुपर्छ ।’


कमैया प्रथा छँदा माघीमै कमैया बसेको घर फेर्ने गरिन्थ्यो । त्यसलाई खोजनीभोजनी भनिन्थ्यो । माघीका दिन खानपिनपछि दोस्रो दिन नयाँ जमिन्दार खोज्नुपथ्र्याे । पुरानो ऋण जसले तिरिदियो उसैकहांँ कमैया बस्नुपर्ने हुन्थ्यो । साहू वा कमैया जसले मन नपराएर होस् माघीमा फेरबदल हुन्थ्यो । अहिले घर छुट्टिने र बडघर (गाउँको अगुवा) छान्ने काम भने हुन्छ । ‘माघीमा थारू गाउँमा बेग्लै रौनक छ,’ राजीपुरका बडघर फूलपतिराम डगौराले भने ।

प्रकाशित : पुस ३०, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?