कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत चेकपोस्ट शिलान्यास

ठाकुरसिंह थारू

नेपालगन्ज — भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालगन्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहका लागि इन्ट्रिगेट चेक पोस्ट (आईसीपी) को शिलान्यास गरेका छन् ।

एकीकृत चेकपोस्ट शिलान्यास

आईसीपी अर्थात एकीकृत सुरक्षा चौकी निर्माणपछि नेपाल–भारत सीमामा सुरक्षा सहजता हुने उनले दाबी गरे । यसका लागि भारतले दुई सय करोड भारु खर्च गर्दैछ ।


करिब डेढ दशकदेखि नेपालगन्जमा सुक्खा बन्दरगाहका रूपमा आईसीपी निर्माण पहल थालिएको थियो । तर सोमबारमात्रै भारतीय अधिकारीले औपचारिक रूपमा यसको शिलान्यास गरे । भारतीय गृहमन्त्री सिंहले छिमेकी मुलुकसँग सौहार्दपूर्ण व्यवहार गरिरहेको दाबी गरे । उनले साथीहरू बदलिन सक्ने तर छिमेकी कहिल्यै बदलिन नसक्ने बताए । ‘सबै छिमेकी मुलुकसँग हामी सौहार्दपूर्ण व्यवहार गर्न चाहन्छौँ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालसँग भारतको उत्तिकै सौहार्दपूर्ण व्यवहार छ ।’


भारतीय बजेटमा जमिन सम्याउने र तारबार लगाउने काममात्र पूरा भएपछि औपचारिक काम सुरु गरिएको हो । ५५ हेक्टर क्षेत्रमा निर्माण थालिएको सुक्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछ । भारत सरकारले बन्दरगाह निर्माणका लागि राइट्स कम्पनीलाई ठेक्का दिएको छ ।


नेपालगन्ज नाकामा सुक्खा बन्दरगाह निर्माणलाई तीव्रता नदिएको भारतीय पक्षले नेपाल–भारत सीमा जयपुर क्षेत्रमा काँडेतार लगाएको छ । नेपाली सीमा भने खुलै छ । तर, नेपालले बन्दरगाहका लागि खटिने सुरक्षाकर्मीका लागि बस्ने घर मर्मत गरी रङरोगन गरेको छ । तारबारबाहेक काम भारतीय पक्षले अगाडि बढाएको छैन ।


सहरी तथा भवन डिभिजन कार्यालय इन्जिनियर होमनाथ भुसालले जग्गा अधिग्रहणदेखि गर्नुपर्ने सबै काम नेपालका तर्फबाट भइसकेको बताए । भारतले काम अघि नबढाउँदा बन्दरगाहको काम अलपत्र अवस्थामा थियो । नेपाल सरकारले बन्दरगाह सुरक्षा लक्षित गरी सशस्त्र प्रहरी बस्ने घर निर्माण गरिसकेको छ । तर, हाल सशस्त्र प्रहरीको गण भने बसेको छैन ।


सुक्खा बन्दरगाहका लागि नेपालका तर्फबाट नेपालगन्जको जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरिएको छ । नेपालले जग्गा अधिग्रहण गर्दा किसानलाई मुआब्जासमेत दिइसकेको छ । ९० मध्ये २७ बिघामा बन्दरगाहका लागि आवश्यक सडक बनाइनेछ । अन्य खाली जग्गामा तारबार लगाइएको छ ।


भारतीय अधिकारीले सुक्खा बन्दरगाह निर्माणका लागि सहरी तथा भवन डिभिजन कार्यालयका अधिकारीसँग समन्वय गर्दै आएका छन् । पछिल्लोपटक भारतीय अधिकारीले दुई वर्षमै काम सक्ने गरी निर्माण जिम्मा दिएका हुन् ।

प्रकाशित : माघ १, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?