कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सीमा च्यापेर बजार विस्तार

संखुवासभा — किमाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी किनारमा चीनले तटबन्ध बनाई रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ । यसले नेपाली भूमि कटान जोखिम बढाएको छ ।

स्थानीयले नदी कटान रोक्न भोटखोला गाउँपालिका–१ किमाथांकामा बनाएको तारजालीको तटबन्ध कमजोर छ । चीनले पक्की तटबन्ध लगाउँदा नदीले धार परिवर्तन गरी नेपाली भूमिमा क्षति पुर्‍याउन थालेको वडाध्यक्ष तेनछेबी भोटेले बताए । चिनियाँ निर्माण पक्षले नदीमै क्रसर राखेको र डोजर प्रयोग गरी बालुवा तथा ढुंगा निकालेको छ ।


हरेक वर्ष उतापट्टि तटबन्ध लगाउन थालिएको छ, उनले भने, अरुण नदी हाम्रोतिर बग्न थाल्यो, किमाथांकाको भूमि कटान भएको छ । चाँगाबजारमा भएका तिब्बतको प्रशासनको आडमा उनीहरूले जबरजस्ती तटबन्ध बढाउन थालेको उनले बताए ।


‘उतापट्टि नदी च्यापेर काम सुरु भएपछि किमाथांका भएर अरुण बग्न थालेको छ,’ उनले भने, अहिले अरुणमा बाढी आए किमाथांका जलमग्न हुनेछ ।’ पटकपटक चाँगामा भएको तिब्बतका सुरक्षाकर्मी र प्रशासनसँग स्थानीयले वार्ता गरे पनि अटेर गरेको उनीहरूको भनाइ छ । यसअघि डेढ रोपनीभन्दा बढी जग्गा कटान भएपछि रोकथामका लागि साबिक किमाथांका गाविस र त्यसपछि भोटखोला गाउँपालिकाले १ करोडभन्दा बढी खर्च गरिसकेका छन् ।


चीनबाट सिमेन्ट र तारजाली ल्याएर बनाइएको तटबन्धले केही मात्रा नदी नियन्त्रण भएको स्थानीय निमा नावाले बताए । ‘माथिल्लो सीमा कायम भएको कामु खोलामा पनि चीनले पक्की तटबन्ध लगाएको छ,’ उनले भने, ‘बर्खाको समय नेपाली भूमि अझै धेरै कटान हुने सम्भावना छ ।’ उनका अनुसार चीनले किनार च्याप्दै सडक विस्तार गरिरहेको छ ।


प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले नदी व्यवस्थापनका लागि स्थायी तटबन्ध निर्माण गर्न आवश्यक देखिएको बताए । ‘नेपाली भूमि जोखिममा रहेकाले संरक्षणमा जोड दिनुपर्छ, उनले भने, हामी पनि किमाथांका पुगेर फर्कियौं, अरुणले धार परिवर्तन गरिसकेको रहेछ ।’


उनका अनुसार यो क्षेत्रमा भन्सार कार्यालय, सुक्खा बन्दरगाह, सीमा सुरक्षा, अध्यागमनलगायत कार्यालय स्थापना गर्ने गरी नक्सासमेत तयार गरिएको छ । चीनतर्फ कंक्रिट पर्खालसमेत लगाइएकोबारे सम्बन्धित कार्यालयमा पत्राचार गरिने उनले बताए ।

नदी नियन्त्रणका लागि बलियो आधार नअपनाउने हो भने नाका सञ्चालनपछि नेपाली भूमि नरहने र व्यापारमा नकारात्मक असर पर्ने प्रदेश सांसद सरिता थापा खड्काले बताइन् ।


चीनले सीमा क्षेत्रका चाँगा, देन्दाङ बजार दुई वर्षदेखि विस्तार गरिरहेको छ । नदीमा एक्साभेटर लगाएर बालुवा झिक्ने र स्पर राखी नदी नेपालको किमाथांकातर्फ मोडेको स्पष्ट देख्न सकिने भोटखोला–१ का वडाध्यक्ष शेर्पाले बताए । अरुणमा तटबन्ध निर्माण गर्न २५ करोडभन्दा बढी चाहिने र भूमि रक्षाका लागि संघीय सरकारको नजर पुग्नुपर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको भनाइ छ । स्थलगत अवलोकनपछि सदरमुकाम खाँदबारी आएका उनले अरुणमा तत्काल तटबन्ध निर्माण गर्नुपर्ने बताए ।


सांसद गौतमको नेतृत्वमा केही अघि प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, खड्का, पदमकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित २७ जना स्थलगत अवलोकनमा गएका थिए । उनीहरूका अनुसार चीनतर्फका चाँगा र देन्दाङ बजारमा भूकम्पपछि पुनर्निर्माणसँगै सहरीकरण तीव्र भएकाले नदीबाट ढुंगा, बालुवा जथाभावी संकलन गरेको पाइएको छ ।


सानो रकमले तटबन्ध बन्दैन

तेम्बा भोटे, अध्यक्ष, भोटखोला गाउँपालिका

हाम्रोतिर तिब्बतले तटबन्ध बनाएपछि मैले पनि यो निर्माण गर्नुभएन भनेर उताका प्रशासकलाई भनेको छु । निर्माण रोकिएको छैन । हामीले भनेको कहिल्यै सुन्दैनन् । तटबन्ध निर्माण गरेर क्रसर मेसिन र डोजर प्रयोगबाट अरुणको बालुवा झिकिन्छ । ढुंगा/गिट्टी पनि प्रयोग गरिएको छ । ठूल्ठूला सपिङ कम्प्लेक्स निर्माण भइरहेका छन् । दुवै देशको मध्यभाग भएर बग्ने खोला अहिले हाम्रोतिर बग्न थालेको छ ।


अरुण पस्ने डरले स्थानीयले हाम्रोतिर पक्की घर बनाएका छैनन् । एक महिनाअघि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमसहितको टोली माथि गयो । सांसदज्यूले क्याबिनेटमा लैजान्छौं भनेर आश्वासन दिएका छन् । सानो पैसाले भ्याउँदैन, केही गर्न सकिँदैन । ३ करोडभन्दा माथि बजेट ल्याउनुपर्छ भनेर आश्वासन दिएका छन् ।

प्रकाशित : माघ ४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?