कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला पन्त प्रकरण : डीएनए परीक्षण नै शंकाको घेरामा

डीएनए नमुनाबाट अटोसोमल एसटीआर (महिला र पुरुष सबैमा पाइने क्रोमोजम) र वाई एसटीआर (पुरुषमा मात्र पाइने क्रोमोजम) दुवै निकाल्नुपर्नेमा प्रहरीको प्रयोगशालाले वाई एसटीआर मात्रै निकाल्यो
‘अटोसोमल एसटीआर ननिकालीकन वाई एसटीआरका आधारमा मात्रै अपराधीको किटान गर्न सकिँदैन’ – जीवन रिजाल पूर्वनिर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
जनकराज सापकोटा

काठमाडौँ — निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ ।

निर्मला पन्त प्रकरण : डीएनए परीक्षण नै शंकाको घेरामा

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । विशेष स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाब (योनीभित्र हुने र्‍यालजस्तो तत्त्व) बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको हो ।

डीएनए नमुनाबाट अटोसोमल एसटीआर (महिला र पुरुष सबैमा पाइने क्रोमोजम) र वाई एसटीआर (पुरुषमा मात्र पाइने क्रोमोजम) दुवै निकाल्नुपर्नेमा प्रयोगशालाले वाई एसटीआर मात्रै निकालेको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालामा अटोसोमल एसटीआर निकाल्ने उपकरण छन् । अटोसोमल एसटीआरले व्यक्ति किटान गर्छ भने वाई एसटीआरले पुरुषहरूको समूह किटान गर्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकिट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने भए निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ । फलस्वरूप पुरुषको वाई एसटीआर परीक्षण मात्र सम्भव भएको छ ।’

प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एवं डीएनए विज्ञ एसपी राकेश सिंहको नेतृत्वमा स्वाब परीक्षण भएको थियो । यो तथ्यले भेजाइनल स्वाबको परीक्षणका क्रममा प्रहरीको विधि विज्ञान प्रयोगशालामा त्रुटि भएको संकेत गर्दछ । प्रतिवेदनले हाल प्रयोगशालाबाट निकालिएको डीएनए नतिजाका आधारमा मात्रै वास्तविक अपराधी पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ ।

किनकि डीएनएबाट निकालिएको वाई एसटीआर मात्रै अपराधी पहिचानको अकाट्य आधार हुन नसक्ने डीएनए विज्ञको बुझाइ छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालले भने, ‘अटोसोमल एसटीआर ननिकालिकन वाई एसटीआरका आधारमा मात्रै अपराधीको किटान गर्न सकिँदैन ।’ रिजालले वाई एसटीआरले पुरुषको एउटा तत्त्व मात्रै थाहा हुने र यस्तो तत्त्व सगोलका दुई–तीन पुस्ताका अन्य पुरुष सदस्यसँग पनि मिल्न सक्ने बताए । उनले भने, ‘वाई एसटीआरको मात्रै नतिजा बाँकी छ भने डीएनए परीक्षणकै आधारबाट अपराधी पहिचान गर्न धेरै नै कठिन हुन्छ ।’

आयोगलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘यस केसमा भेजाइनल स्वाब नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नतिजा आगामी दिनमा कुनै आरोपीसँग मिलेमा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन । वाई एसटीआर मिलेको अवस्थामा मात्रै राय दिन सजिलो हुँदैन । नेपालमा एक अध्ययनमा फरक भौगोलिक क्षेत्र, फरक थर भएका व्यक्तिबीच १५ वटासम्म वाई एसटीआर मिलेका छन् ।’

समितिका एक सदस्यले प्रहरीको विधि विज्ञान प्रयोगशालाले अटोसोमल एसटीआर निकाल्न सकेन कि निकालेन भन्नेबारे स्पष्ट आधार नमिलेको बताए । कान्तिपुरसँगको सम्पर्कमा आएका विधि विज्ञान प्रयोगशालाका एक विज्ञले अटोसोमल एसटीआर निकाल्न नसकिएको अवस्थामा किन प्रहरीको भन्दा राम्रो मानिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएन वा विदेशका गुणस्तरीय प्रयोगशाला पठाउने बाटोतर्फ गइएन भन्ने प्रश्न उठ्नु अस्वाभाविक नभएको बताए ।

प्रतिवेदनमा उल्लेखित तथ्यले प्रहरीको विधि विज्ञान प्रयोगशालाले निकालेको निष्कर्षका आधारमा मात्रै जतिजना शंकास्पदहरूको डीएनए परीक्षण गरे पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीको पहिचान सम्भव देखिँदैन ।


नमुना सुरक्षित नराख्नु गल्ती : विज्ञ

विधि विज्ञान प्रयोगशालामाथि उठेको अर्को शंका भनेको भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिनु पनि हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालले भेजाइनल स्वाबबाट निकालिएको नमुना जस्तोसुकै भए पनि सुरक्षित नराख्नु गल्ती भएको बताए ।

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्री भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षणका निम्ति प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले यी तीनै नमुना परीक्षणका क्रममा सकिएको बताएको छ । रिजालले भने, ‘कमजोर नै भए पनि नमुना बाँकी रहेको भए विदेशका प्रयोगशालामा पठाउन सकिन्थ्यो । अब त त्यो सम्भावना पनि अन्त्य भएको छ ।’

प्रतिवेदनले पनि नमुना सुरक्षित किन राखिएन भन्ने शंका उठाएको छ । कान्तिपुरलाई प्राप्त निर्मला पन्तको डीएनए प्रोफाइलमा अटोसोमल एसटीआर नै निकालिएको देखिन्छ । जसमा भेजाइनल स्वाबको बाहिर, मध्य भाग र भित्री भागबाट निकालिएको नमुनाको परीक्षण र निर्मलाको रगतबाट निकालिएको डीएनए प्रोफाइलका सबै सूचक मिलेका देखिन्छन् । कान्तिपुरसँग सम्पर्कमा आएका एक डीएनए विज्ञले महिलाको अटोसोमल एसटीआर निस्कने तर पुरुषको ननिस्कने अवस्था किन आयो र त्यसका पछाडि के कस्ता कारण थिए भन्नेबारे अनुसन्धान हुनुपर्ने बताए ।

निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो । जबकि गम्भीर प्रकृतिका फौजदारी घटनामा अपराधी पहिचान गर्ने सबैभन्दा बलियो प्रमाण मानिएको डीएनए परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गर्नुपर्थ्याे ।

एक पूर्वप्रहरी अधिकारीले प्रहरीमाथि नै विश्वासको संकट भइरहेका बेला निर्मलाको भेजाइनल स्वाबको परीक्षण प्रहरीकै प्रयोगशालामा मात्र किन परीक्षण गरियो भन्ने प्रश्न सधैं उठिरहने बताए । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालाको मात्रै भर पर्दा आउने नतिजामाथि प्रश्न उठ्ने भन्दै एसपी दिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नगरपालिका प्रमुखका भतिज आयुष विष्टको डीएनए राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत गरिएको थियो ।

कान्तिपुरसँगको कुराकानीमा प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एवं डीएनए विज्ञ एसपी राकेश सिंहले प्रतिवेदनले औंल्याएको तथ्यबारे केही प्रतिक्रिया दिन मानेनन् । उनले भने, ‘यसबारे प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरेर प्रवक्तासँग बुझ्नुहोला ।’

प्रतिवेदनमा शंकाका अन्य आधारबिनै र तथ्यबिना कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्ट र उनका छोराको डीएनए परीक्षण गर्ने कामबाट उनीहरूको मानव अधिकार हनन भएको तथ्य औंल्याइएको छ । प्रतिवेदनले बम दिदीबहिनीको घरमा समयमै खानतलासी लिने काम नगरिएकाले उनीहरूमाथि शंका बढेको र उनीहरूको पनि मानव अधिकार हनन भएको उल्लेख गरिएको छ । डीएनएको भरमा मात्रै अबको अनुसन्धान अगाडि बढाउन नहुने सुझावसमेत प्रतिवेदनले दिएको छ ।

प्रतिवेदनले विभागीय कारबाही गर्दा यथोचित विधि अवलम्बन गर्न सुझाव दिएको छ । अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई कानुनले तोकेको प्रक्रियाअनुसार विभागीय कारबाही गर्नुपर्ने र प्रक्रियाबेगर कारबाही गर्दा भविष्यमा हुने अनुसन्धानमा प्रहरी अधिकारीको क्षमतामा ह्रास आउने तथ्यसमेत उल्लेख गरेको छ । फौजदारी अपराधमा डीएनए परीक्षण आवश्यक रहेको र त्यसका लागि गुणस्तरीय प्रयोगशाला चाहिने औंल्याइएको छ । प्रतिवेदनको सुझाव छ, ‘गोपनीयताको हकको संरक्षण गर्नुपर्ने, नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्नुपर्ने देखिन्छ ।’


अबको बाटो

निर्मला पन्त प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार डीएनए नमुना बाँकी नरहनु र निकालिएको नतिजा अपूर्ण एवं शंकास्पद ठहरिएपछि अनुसन्धान झनै जटिल बनेको छ । पन्तको घटनामा अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले अनुसन्धान झनै जेलिएको र पेचिलो बनेको बताए । ती अधिकारीले ‘निर्मलाले फोन नबोक्ने र सामाजिक सञ्जाल पनि नचलाउने भएका कारण र डीएनए स्याम्पलको नतिजा पनि शंकास्पद भएको अवस्थामा प्राविधिक अनुसन्धानको पाटो झन् जटिल बनेको’ बताए । त्यसो भए के निर्मला पन्त प्रकरण सधैं रहस्यमै रहन्छ त ? ती अधिकारीले भने, ‘अबको बाटो भनेको विगतमा गरिएको अनुसन्धानबाट निकालिएको तथ्यको पुनर्पुष्टि र निरन्तरको निगरानी मात्रै हो ।’

प्रकाशित : माघ ५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?