कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हस्तान्तरण नहुँदै चर्कियो भवन

भवन निर्माणको सुरुदेखि निर्माण कम्पनीले लापरबाही गरेको कर्मचारीको आरोप 

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालय भवन हस्तान्तरण नहुँदै चर्किएको छ । भीमदत्त नगरपालिका १८ को सालघारीमा बनेको भवन सुरुमै चर्किएपछि मर्मत थालिएको हो ।

भवन चर्किएकै कारण हस्तान्तरण पनि रोकिएको छ । गत आवभित्रै सक्नुपर्ने काम अहिले पनि अधुरै छ । ‘भवन अगाडिपट्टिका सबै गारो चर्किएपछि निर्माण कम्पनीलाई मर्मत गर्न भनेका छौं,’ विश्वविद्यालयका सहप्रशासक तथा सूचना अधिकारी गोविन्द पन्तले भने, ‘अहिले ती सबै गारो भत्काएर मर्मत गरिएको छ ।’


०७२ मा केन्द्रीय कार्यालय भवन निर्माणका लागि नेपाल आदर्श कुमार श्रेष्ठ जेभीसँग १२ करोडमा ठेक्का सम्झौता भएको हो । ०७४ माघभित्रै सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गरी असार मसान्तसम्मको सयम तोकिएको थियो । उक्त भवनका बाहिरी दिवाल मात्रै नभई भित्र पनि चर्किएको छ । भवन निर्माणमा सुरुदेखि निर्माण कम्पनीले लापरबाही गरेको विश्वविद्यालय कर्मचारी बताउँछन् ।


कमसल निर्माण सामग्री प्रयोगकै कारण निर्माण नसकिँदै चर्किएको उनीहरू बताउँछन् । कुमार श्रेष्ठ निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयले भवन निर्माण क्रममा भएको प्राविधिक त्रुटिले चर्किएको बताए । उनका अनुसार बिमभन्दा बाहिर दिवाल लगाउँदा चर्कियो । ‘हामीलाई २ महिनाभित्र चर्किएको दिवाल मर्मत गर्न समयावधि दिइएको छ,’ पाण्डेयले भने, ‘अहिले मर्मतकै क्रममा छौं ।’ उनले नयाँ दिवाल निर्माण गरेर रंगरोगन भइरहेको बताए ।


मर्मत सकेर हस्तान्तरण प्रक्रियामा जाने तयारी भइरहेको उनले बताए । एक/डेढ साताभित्रै मर्मत सकेर हस्तान्तरण हुनेछ । भवन निर्माण क्रममा ठाउँठाउँमा चर्किएको देखिएपछि भुक्तानी पनि रोकिएको छ । निर्माण समितिले ६० लाखबाहेक भुक्तानी गर्न भने पनि अढाई करोड रोकिएको सहप्रशासक पन्तले बताए ।


महेन्द्रनगर नगर विकास समितिले दिएको ५ बिघा जमिनमा ०७२ मै केन्द्रीय कार्यालय निर्माणका लागि शिलान्यास भएको थियो । भवन निर्माण भइरहे पनि कार्यालयसम्म पुग्ने बाटो नहुँदा तत्काल हस्तान्तरण भए पनि प्रयोगमा आउने सम्भावना देखिँदैन ।


‘कार्यालय भवनसम्म पुग्ने बाटो निर्माणका लागि प्रक्रिया अघि बढेको छ,’ सहप्रशासक पन्तले भने, ‘तर प्राविधिक समस्याकै कारण यो पनि अल्झिएको छ ।’ उनका अनुसार विगतमा बाटो निर्माण गर्नुपर्ने जमिन अतिक्रमण भएका कारण समस्या देखिएको हो ।


भौतिक प्रगति निराशाजनक

यहाँका विद्यार्थी र स्थानीयको लामो समयको आन्दोलनपछि स्थपाना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भौतिक प्रगति नगण्य छ । निर्माणाधीन केन्द्रीय कार्यालय हस्तान्तरण नहुँदै ठाउँठाउँमा चर्किएको छ भने इन्जिनियरिङ भवन पनि अधुरै छ । तीनतले भवनको इस्टिमेट गरिए पनि एक तला मात्रै निर्माण भएको छ ।


विज्ञान भवन, पदाधिकारी क्वार्टर, स्टाफ क्वार्टरलगायत भौतिक संरचना निर्माणतर्फ विश्वविद्यालयले गति लिनै सकेको छैन । ‘भौतिक प्रगति १० प्रतिशत पनि भएको छैन,’ सहप्रशासक पन्त भन्छन्, ‘काम गर्ने वातावरण नै बनेन, पदाधिकारीले पनि हिम्मत गर्न सकेनन् ।’

प्रकाशित : माघ ७, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?