कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि कांग्रेसले आशनबाट उठेर विरोध जनायो । सोलगत्तै सभामुखले बैठक मंगलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए ।


प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा अझै निर्णय नभएको भन्दै आपत्ति जनाए ।

उपनेता गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल संघीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएको भनी गुनासो गरे ।


देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उनले सोबारेमा जानकारी दिन आग्रह गरे ।


आफ्नो पार्टीका नेताका नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको आरोप लगाउँदै उपनेता गच्छदारले भने, 'दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।'


प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो ।


प्रकाशित : माघ ७, २०७५ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?