कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविमा स्ववियु चुनावको तयारी छलफल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले आउँदो फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव तयारी सम्बन्धी छलफल सुरु गरेको छ । 

त्रिविमा स्ववियु चुनावको तयारी छलफल

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार विभिन्न संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख र उपत्यका भित्रका आंगिक क्याम्पसका प्रमुखलाई बोलाएर छलफल गरेको हो । कीर्तिपुरस्थित सभाहलमा स्ववियु निर्वाचन निर्देशिका, आचारसंहिताका विषयमा छलफल गरेको त्रिवि सूचना विभागले जनाएको छ ।

उपकुलपति तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु र विद्यार्थी संघसंगठनहरुसँग निरन्तर छलफल गरी स्ववियु निर्वाचन सम्पन्न गरिने बताएका छन् । त्रिविले अघिल्लो स्ववियु निर्वाचनमै उम्मेदवार हुन विद्यार्थीको उमेरहद २८ वर्ष कायम गरेको छ ।

‘यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नु सबै आंगिक क्याम्पसको दायित्व हो,’ उपकुलपति खनियाँले भने, ‘छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुंगो लगाएर तोकिएको मितिमा निर्वाचन सम्पन्न गरिने छ ।’


त्यसनिम्ति व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुंगो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसँग निरन्तर संवाद गर्न क्याम्पस प्रमुखलाई निर्देशन दिए ।


त्रिवि नियमावलीअनुसार हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ । उपकुलपति खनियाँले यसअघि स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा यसपटक सहज वातावरण निर्माण गर्न अपिल गरेका छन् ।


शिक्षाध्यक्ष सुधा त्रिपाठीले स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउने गत पुस २२ मा सबै क्याम्पसमा परिपत्र भइसकेको बताइन् । ‘छलफलबाट अघिल्लो निर्वाचन अनुभवअनुसार सहज ढंगले अघि बढ्न सरोकार पक्ष विद्यार्थीसित दोहोरो संवाद गर्न सबै क्याम्पस प्रमुख, प्राध्यापकलाई अनुरोध छ,’ त्रिपाठीले भनिन् ।


स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी, निर्वाचन समिति गठन गरी आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउन जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित : माघ ७, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?