कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकाण्ड प्रकरण : उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

कृष्ण ज्ञवाली

काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ ।

सुनकाण्ड प्रकरण : उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो ।


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ ।


‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’

न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् ।


यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए ।


जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ ।


भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो ।


परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए ।


राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।


यो पनि पढ्नुहोस्ः

सुनकाण्डका अभियुक्त उम्काउने पाँच न्यायाधीशलाई ‘कारबाही’

प्रकाशित : माघ ७, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?