कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै घरबाट निकालिए...

अर्जुन राजवंशी

दमक — बुवाआमा नहुनुको पीडा कस्तो होला ? कल्पना गर्न गाह्रो छ । यो पीडाबाट गुज्रिरहेका कमल गाउँपालिका ३ का दाजुबहिनी आफन्तले घरबाट निकालिदिंदा बेसहारा बनेका छन् । 

आफ्नै घरबाट निकालिए...

१७ वर्षीय अभिषेक र १५ वर्षीया आयुष्मा राई अहिले ठूलो समस्यामा परेका छन् । उनीहरूलाई पुस ५ गते हजुरआमा र फुपूहरूले घरबाट निकालिदिएका हुन् । १२ कक्षामा अध्ययनरत अभिषेक सँगै पढ्ने साथी अनिश दाहाल र कक्षा ९ मा अध्ययनरत आयुष्मा साथी भूमिका सुवेदीको घरमा बस्दै आएका छन् ।


उनीहरूका बुवा अनमोल राईको ०६० सालमा निधन भएको थियो । घाँटीको क्यान्सरबाट पीडित बुवाको निधनपछि आमा कृष्णमायाले छोराछोरीलाई छाडेर अर्कै घरजम गरिन् ।


बुवाआमा नभएपछि दाजुबहिनी ७० वर्षीया हजुरआमा नीरमाया राईसँग आफ्नै घरमा बस्दै आएका थिए । तर, एक वर्षयता उनीहरूसँग फुपूहरू पनि बसोबास गर्न आए । दु:खकष्ट गरेर हुर्कंदै गरेका उनीहरूलाई फुपूहरू आएपछि भने घरमा बस्न गाह्रो हुँदै गयो । त्यसपछि हजुरआमाको व्यवहारमा पनि परिवर्तन भयो । ‘हामीलाई सधैं गाली गर्न थाल्नुभयो । जहिल्यै झगडा हुन थाल्यो,’ आयुष्माले भनिन्, ‘पुस ५ गते मलाई कुटेर घरबाट निकालिदिनुभएको हो ।’ उनीहरूको बुवा अनमोललाई क्यान्सर भएपछि विभिन्न स्थानमा उपचार गराउँदा फुपूहरूले पैसा दिएका थिए ।


फुपूहरूले उक्त पैसा अहिलेसम्म फिर्ता पाएका छैनन् । हजुरआमा नीरमायाका अनुसार छोराको उपचारमा करिब १२ लाख रुपैयाँ खर्च भयो । त्यसमा अधिकांश पैसा छोरीहरूले दिएको उनले बताइन् । पैसा फिर्ता नपाएका फुपूहरूले घरबाट निस्केर जान भन्दै विभिन्न समयमा कुटपिट गर्ने गरेको दाजुबहिनीको भनाइ छ ।


गाली र झगडा सहेर बस्दै आएका दाजुबहिनी फुपू र हजुरआमाले आफ्नै घरबाट निकालिदिएपछि भने साथीको शरणमा पुग्न बाध्य भएका छन् । आफैं कमाइ गर्न नसक्ने दाजुबहिनीलाई आफन्तले उनीहरूकै घरबाट निकालिदिएपछि स्थानीयको सहयोगमा आयुष्माले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएकी थिइन् ।


न्यायिक समितिले तत्काल दाजुबहिनीलाई घरमा लगेर राख्न भन्दै लिखित पत्र पठायो । उक्त पत्रमा हजुरआमाले सहमति जनाउँदै हस्ताक्षर गरिन् । तर दाजुबहिनीलाई घरमा ल्याएर भने राखिनन् । स्थानीय सरकारको समेत कुरा नमानेपछि बुधबार गाउँपालिकाकै नेतृत्वमा प्रहरी प्रशासन र छिमेकी भेला भएर दाजुबहिनीलाई उनीहरूको घरमा भित्र्याएका छन् । ‘हजुरआमा र फुपूहरूले कानुनभन्दा माथि उठेर व्यवहार गर्नुभयो,’ गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले भने, ‘कुनै समस्या थियो भने कानुनी उपचार खोज्नुपर्दथ्यो । तर, पढ्दै गरेका बालबालिकालाई यसरी आफ्नै घरबाट निकाल्नु ठूलो गल्ती हो ।’


दाजुबहिनीका बुवा अनमोलको नाममा ११ कट्ठा जमिन छ । उक्त जमिनमा बुवाले बनाएको घर छ । हजुरआमा उनीहरूसँगै बस्दै आएकी थिइन् । तर अहिले बुवाआमा नभएको अवस्थामा आफ्नै घरबाट निकालिंदा उनीहरूको पढाइमा प्रत्यक्ष असर परेको छ । अहिले अभिषेकलाई कक्षा १२ को परीक्षा फाराम भर्नुपर्नेछ । तर, उनी आफ्नै घरमा बस्न पाउने कि नपाउने चिन्तामा छन् ।


आयुष्माले पनि विद्यालयमा भएको त्रैमासिक परीक्षा साथीकै घरमा बसेर दिनुपर्‍यो । ‘घरबाट निकालिदिएपछि टेन्सनले परीक्षा नै राम्रो भएन,’ उनले भनिन् । लगातार झगडा र कसैले पैसा नदिएपछि बोर्डिङ स्कुल पढ्दै गरेकी आयुष्मा यस वर्षदेखि सामुदायिक विद्यालयमा भर्ना भएकी छन् ।


उनीहरूका ठूलोबुवा गोकर्ण राईले बालबालिकालाई आमा र बहिनीहरूले नराम्रो व्यवहार गर्ने गरेको बताए । ‘यिनीहरूलाई आमा र बहिनीहरूले कहिल्यै राम्रो गरेनन् । पढ्ने विद्यार्थीसँग सधैं गाली र झगडा गर्छन्,’ गोकर्णले भने, ‘हुँदाहँुदा आफ्नै घरबाट उनीहरूलाई निकालिदिए ।’

प्रकाशित : माघ १०, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?