कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारी हिमपात : लिमीसँग सम्पर्कविच्छेद

हुम्ला/मुगु — दशकपछि हुम्लामा भारी हिमपात भएको छ । यसअघि पुसमा दुईपटक हिउँ परे पनि १ इन्चभन्दा बढी परेन । सदरमुकाम सिमकोटमा २ फिट बाक्लो हिउँ जमेको छ । हिउँ पर्न रोकिए पनि बदली भइरहेकाले चिसो बढेको छ ।

भारी हिमपात : लिमीसँग सम्पर्कविच्छेद

चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातबाट नाम्खा, सिमकोट र खार्पुनाथ गाउ‘पालिकाका बासिन्दा बढी प्रभावित बनेका छन् ।


हिमपातपछि हिमालपारिको बस्तीका रूपमा चिनिने लिमीको अन्य गाउँसँग सम्पर्क टुटेको छ । लिमी आवतजावत गर्ने बाटो पुसमै भएको हल्का हिमपातले बन्द भइसकेको थियो । सञ्चारको भरपर्दाे साधन नहुँदा लिमीमा सम्पर्क हुन सकेको छैन ।


४ फिटसम्म हिउँ पर्ने हुम्लामा दशकपछि केही बढी हिउँ परेको स्थानीयले जनाएका छन् । ‘२०६३ मा भारी हिमपात हुँदा घरबाट मूल सडकसम्म जान पनि हिउँको थुप्रो छिचोल्नुपर्ने अवस्था थियो, त्यसपछिका वर्षमा १ फिटभन्दा बढी हिउँ परेन,’ स्थानीय लोटइ लामाले भने, ‘लामो समयपछि यो वर्ष सदरमुकाममै २ फिटसम्म हिउँ जमेको छ ।’


अहिले सिमकोट तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । चिसो बढेसँगै सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । व्यवसायीले व्यवसाय सञ्चालन गर्न सकेका छैनन् । सिमकोट विमानस्थलमा हिउँ जमेकाले मंगलबारदेखि नै उडान ठप्प छ ।


हिमपातले वातावरण सफा भएको छ । हिउँले वन/जंगल, डाँडाकॉडा, रूख/बिरुवा सेताम्मे छन् । खाली जमिन कतै नहुँदा घरपालुवा चौपाया गोठभित्रै थुनिएका छन् । जनजीवन कष्टकर बने पनि किसान भने खुसी छन् । हिउँदे बाली उवा, जौ, गहँु छरिसकेकाले बाली राम्रो हुने आसले किसान खुसी भएका हुन् । ‘हिमपात किसानका लागि अनिवार्य हो,’ पुमा गाउँका रामचन्द्र बुढाले भने, ‘हिउँले बालीनाली हुर्कन मद्दत गर्ने भएकाले अति उत्तम भएको छ ।’


सवारीसाधन अलपत्र

भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दर्जन बढी मालवाहक ट्रक, जिप, यात्रुवाहक गाडी बाटोमै अलपत्र परेका छन् । जिल्लाबाट सुर्खेत र नेपालगन्ज जाने र भित्रिने सवारीसाधन बाटोमै अलपत्र परेका हुन् ।


मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा ३ फिट बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको रारा–छायानाथ यातायात प्रालिका इन्चार्ज रविनकुमार मल्लले जानकारी दिए । बाक्लो हिउँ नपग्लिँदासम्म सडक खुल्न नसक्ने उनले जनाए ।


उनका अनुसार सुर्खेत र नेपालगन्ज जाने गाडी गमगढी बजारमा रोकिएका छन् । त्यस्तै जिल्ला भित्रिने गाडीहरू साधन गोठिज्युला, नाग्मा, डाबलगायत क्षेत्रमा रोकिएका छन् । खत्याड गाउँपालिका जोड्ने कालाकाडा–गम्था सडक पनि हिमपातले अवरुद्ध भएको छ ।

प्रकाशित : माघ ११, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?