कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सशस्त्र प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

एक भारतीय सहित तीन पक्राउ, ४२ किलो गाँजा नियन्त्रणमा
अवधेशकुमार झा

राजविराज — सशस्त्र प्रहरी र गाँजा तस्करबीच शुक्रबार राति सप्तरीमा दोहोरो गोली हानाहान भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा टापुमा उक्त गोली हानाहान भएको हो । 

गाँजा लिएर तस्करहरु जाँदैछ भन्ने गोप्य सूचनाका आधारमा पछयाउँदै गएको सशस्त्र प्रहरीको टोली देख्नासाथ तस्करहरुको टोलीले सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरि दुई राउण्ड गोली प्रहार गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजमा गणपति एसपी खेमबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रहरीलाई लक्षित गरि तस्करहरुले गोली हानेपछि सशस्त्र प्रहरीले पनि एक राउण्ड हवाई फाइर गरेको थियो । सो क्रममा प्रहरीले घेराहाली एक भारतीय सहित तीनजनालाई नियन्त्रणमा लिएको एसपी थापाले जनाए ।


नियन्त्रणमा लिइएकाहरुमा भारत बिहार राज्य अन्तरगत सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय रहेका छन् । पक्राउ परेकाहरुको साथबाट सेतो बोरामा रहेको १४–१४ किलो गरि ४२ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।


प्रहरीमाथि गोली चलाउने उक्त समूहका अन्य दुईजना भने फरार भएको एसपी थापाले जनाए । पक्राउ गरिएको गाँजा र तीनैजनालाई आवश्यक अनुसनधान र कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित : माघ १९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?