कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुनाबाट ह्वाट्सएपमा किताब

रोयटर्स

मेलबर्न — इरानस्थित कुर्दिस म्यागेजिन ओर्याको कार्यालयमा सन् २०१३ मा इरानी रेभुलुसनरी गार्डले छापा मारेपछि पत्रकार तथा लेखक बेहरूज बोचानीले ३ महिनासम्म लुकेर ज्यान जोगाए ।

थुनाबाट ह्वाट्सएपमा किताब

त्यसै वर्षको मे २३ मा इरानबाट भागेका बोचानी इन्डोनेसियाबाट डुंगामार्फत अस्ट्रेलिया पस्न लाग्दा क्रिस्मस टापुमा पक्राउ परे । पक्राउ परेपछि उनलाई पपुवा न्युगिनीस्थित मानुस टापुस्थित अस्ट्रेलियाली थुनावा केन्द्रमा राखियो । ६ वर्षदेखि थुनामा रहेका तिनै बोचानीले अहिले आएर अस्ट्रेलियाकै सबैभन्दा बढी धनराशिको साहित्यिक पुरस्कार जितेका छन् ।


थुनामा परेपछि बोचानी बेचैन भए । उनी साहित्य लेख्न थाले । फारसी भाषामा लेख्थे र त्यसलाई ह्वाट्सएपबाट अनुवादक ओमिड तोफिघियानलाई पठाउँथे । करिब ६ वर्षसम्म यस्तै चलिरह्यो । परिणाम निस्क्यो– ‘नो फ्रेन्ड बट द माउन्टेन्स : राइटिङ फ्रम मानुस प्रिजन’ पुस्तक ।


यही पुस्तकले सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन पुरस्कार जितेको हो । साहित्यतर्फ अस्ट्रेलियाकै उत्कृष्ट यो पुरस्कारको राशि १ लाख अस्ट्रेलियन डलर छ । यसले २५ हजार अस्ट्रेलियन डलर राशिको गैरआख्यानतर्फको अर्को पुरस्कार पनि जितेको छ । ‘यो मेरा लागि विरोधाभासपूर्ण अनुभूति हो,’ पुरस्कार घोषणाको खबर सुनेपछि उनले भने, ‘केही कुराले म धेरै खुसी छु । हाम्रा दु:खबारे धेरैको ध्यान तानियो र धेरै मानिसले हाम्रो अवस्था थाहा पाए ।’ थुनुवा केन्द्रबाट मुक्त हुनु र नयाँ जीवन सुरु गर्नु पुरस्कारभन्दा पनि महत्त्वपूर्ण रहेको उनले बताए ।


‘ह्वाट्सएप मेरा लागि कार्यालयजस्तै हो,’ उनले भने, ‘मैले कागजमा लेखिन किनभने सुरक्षाकर्मीले नियमितजसो हाम्रो कोठामा छापा मार्थे । मलाई आफ्नो लेखन हराउने वा सुरक्षाकर्मीले नियन्त्रणमा लिने डर थियो । त्यसैले ह्वाट्सएपमार्फत लेख्दै पठाउन सजिलो लाग्यो ।’


निर्णायकहरूले उनको पुस्तक ‘साधारण विवरणभन्दा माथि उठेको कला र आलोचनात्मक सिद्धान्तको अविश्वसनीय कार्य’ ठहर्‍याएका छन् । पुरस्कारका लागि अस्ट्रेलियन नागरिक वा त्यहाँको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान हो । तर पुरस्कार प्रदान गर्ने संस्था ह्वीलर सेन्टरले निर्णायकहरूको अनुरोधमा बोचानीलाई अपवादका रूपमा दिइएको जनाएको छ ।


बोचानीले आफ्नो फोनबाट हिरासतभित्रै ‘चौका, प्लिज टेल अस द टाइम’ शीर्षकको डकुमेन्ट्रीसमेत बनाएका थिए । गत वर्ष अमेरिका मानुस र नाउरु टापुका थुनुवा केन्द्रका केही शरणार्थीलाई पुन:स्थापना गर्न सहमत भएको थियो ।


त्यसयता सयभन्दा बढी शरणार्थी पुन:स्थापित भए पनि बोचानी भने अन्तर्वार्ता दिएर उम्कने दिनको पर्खाइमा छन् । बोचानीलाई पपुवा न्युगिनीले शरण दिएको भए पनि उनी त्यहाँ बस्न इच्छुक छैनन् । ‘पत्रकारिताका कारण सरकारको आँखी भएपछि इरानबाट भागेँ,’ बोचानीले भने, ‘इरानमै जेल पर्ने डरले भागेँ तर अस्ट्रेलियाले छोडेन ।’

प्रकाशित : माघ २१, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?