दुई तिहाइ हिउँ पग्लने चेतावनी
काठमाडौँ — विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने बताइएको हो ।
५ वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ वटा संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) ले यस्तो चेतावनी दिएको हो ।
जलावायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) ले शताब्दीको अन्त्यतिर १ दशमवल ५ डिग्री सेल्सियसमा कायम गर्नुपर्ने सुझाव दिइरहेका बेला हिन्दुकुश हिमालयमा क्षेत्रमा २ दशमलव १ डिग्री तापक्रम बढ्ने प्रतिवेदन आएपछि यसले हलचल ल्याएको छ । विश्वमा धेरै हरित गृह ग्यास उत्सर्जन गर्नेमा अमेरिका, चीन, भारतजस्ता मुलुक पर्छन् । यो प्रतिवेदनले यी देशलाई जलवायु परिवर्तनको असरका बारेमा झक्झकाउने बुझिएको छ ।
शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने प्रतिवेदनमा उल्लेख छ ।
इसिमोडका अनुसन्धानकर्ता एवं उपमहानिर्देशक एकलव्य शर्माले भने, ‘शताब्दीको अन्त्यतिर संसारमा १ दशमलव ५ डिग्री तापक्रम पुग्दा पनि हिमालय क्षेत्रमा २ दशमलव १ डिग्री सेल्सियस तापक्रम पुग्छ ।’
शर्माका अनुसार अहिलेकै अवस्थामा विश्वमा कार्बन उत्सर्जन भइरहने हो भने हिमालयका केही क्षेत्रमा ५ डिग्री सेल्सियस तापक्रम बढ्छ । यस्तै, रिमोट सेन्सिङबाट गरिएको अध्ययनबाट सन् १९८० देखि ठूला हिमतालमा हिउँले ढाकिएको भाग घटदै गएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सन् १९७० देखि हिन्दुकुश हिमालयको १५ प्रतिशत हिउँ पग्लिएको छ ।
मौसमविद्समेत रहेका इसिमोडका सिनियर क्लाइमेट चेन्ज स्पेसलिस्ट अरुणभक्त श्रेष्ठले भने, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर मनसुनी वर्षामा देखिन्छ । सन् २०५० सम्मको अवधिलाई हेर्दा ठूलो जलाशय क्षेत्रमा खासै ठूलो परिवर्तन नदेखिए पनि साना जलाधार क्षेत्रमा यसले प्रत्यक्ष प्रभाव राख्छ । यसले मनसुनी वर्षाको वृद्धि गराउनुका साथै खडेरीसमेत देखिन्छ । तापक्रम वृद्धि हुँदा यस क्षेत्रका हिमताल बढ्ने र फुट्ने सम्भावना बढ्छ । यसको प्रत्यक्ष असर जलविद्युत्, कृषिलगायतको क्षेत्रमा देखापर्छ ।’
शून्य दशमलव २ प्रतिशतले तापक्रम वृद्धि
प्रतिवेदनले यस क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तत्काल उपाय अपनाउन सुझाव दिँदै हिमालय क्षेत्रको तापक्रम वृद्धिको तथ्यांकसमेत दिएको छ । प्रतिवेदनमा सन् १९०१ देखि १९४० सम्म हिन्दुकुश हिमालयमा तापक्रम बढेको र १९४० देखि १९७० सम्म तापक्रम घटेको उल्लेख छ ।
यस्तै, सन् १९७० देखि अहिलेसम्म यस क्षेत्रमा तापक्रम बढिरहेको देखाइएको छ । पछिल्लो ५० वर्षयता हिन्दुकुश हिमालयमा शून्य दशमलव २ प्रतिशत प्रतिदशकको दरले तापक्रम बढिरहेको उक्त प्रतिवेदनले देखाएको छ ।
हिउँ पग्लिने मुख्य कारण वायु प्रदूषणलाई मानिएको छ । मुख्य रूपमा हावामा रहेका घुलित कण (एरोसोल), कार्बन र धूलो हिउँमा टाँसिने र तापक्रम सोस्ने गर्छन् । जसका कारण तापक्रम वृद्धि भई हिउँ पग्लन्छ । यस क्षेत्रमा हिमताल विस्फोटनको खतरा पनि उत्तिकै बढेको औंल्याइएको छ ।
जलवायु परिवर्तनका कारण इन्दुस, गंगा र ब्रह्मपुत्रजस्ता नदीमा पानीको बहाव बढ्नेछ । इन्दुस नदीमा हिउँ पग्लिएर र गंगा र ब्रह्मपुत्र नदीमा अतिवर्षा तथा मौसमी कारणले पानीको बहाव बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
५ सय गिगावाट जलविद्युत् उत्पादन क्षमता रहेको यस क्षेत्रमा दिगो ढंगले अगाडि बढाउँदै पानीको प्राकृतिक बहने क्षमतालाई समेत बुझ्न आग्रह गरिएको छ ।
हिमालयको वैज्ञानिक अनुसन्धानमा छलाङ
सोमबार प्रकाशित प्रतिवेदन हिन्दुकुश हिमालयको पहिलो वैज्ञानिक अनुसन्धान रहेको श्रेष्ठले बताएका छन् । प्रतिवेदनले विश्व समुदायलाई जलवायु परिवर्तनको असर हिन्दुकुश हिमालय क्षेत्रका मानिसलाई मात्रै नभएर अन्यलाई पनि असर पुग्ने औंल्याइएको छ ।
यो प्रतिवेदनले अन्य मुलुकलाई जलवायु परिवर्तन निर्माणसम्बन्धी कानुन तथा नीति निर्माण गर्न सघाउ पुर्याउने बताइएको छ । नीति निर्माणकर्ताले वैज्ञानिक धारणा पाएपछि यसले कानुन निर्माण गर्दा सहज हुने बताइएको छ ।
प्रतिवेदनमा हिन्दुकुश हिमालयमा बसोबास गर्ने मानिसको अवस्था, जलवायु परिवर्तन अनुकूल, यहाँको जैविक विविधता, पानी, ऊर्जा, विकास, मानिस लगायतको सम्पूर्ण विषय समावेश छन् । प्रतिवेदनमा हिन्दुकुश हिमालयबारे जानकारी लिन खोज्नेलाई धेरै विवरण र तथ्य उल्लेख गरिएको छ ।
के हो हिन्दुकुश ?
हिन्दुकुश एउटा हिमालय पर्वन शृङ्खला हो जसले ३ हजार ५ सय किलोमिटर क्षेत्रफल ओगटेको छ । यो पर्वत शृङ्खलामा विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तानको केटु हिमाल, अन्नपूर्ण हिमाललगायतका विश्वका ठूला पहाड पर्छन् । संसारको सबैभन्दा कान्छो पहाडका रूपमा यसलाई लिइन्छ ।
अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान गरी ८ देशमा यो पर्वत शृङ्खला फैलिएको छ । संसारको १० ठूला नदी प्रणालीको उद्गमस्थल यही हो । पर्वत शृङ्खलामा झन्डै २५ करोड मानिसको बसोबास छ । पर्वत शृङ्खलामुनि संसारका १ अर्ब ९० करोड मानिस बसोबास गर्छन् । उनीहरूको जीविकोपार्जन यहाँबाट निस्किएको पानीमा निर्भर छ । पृथ्वीको दुई ध्रुवपछि संसारको सबैभन्दा बढी हिउँ यस क्षेत्रमा रहेकाले यसलाई ‘थर्ड पोल’ पनि भनिन्छ ।