कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा जिप दुर्घटना, ५ को मृत्यु, ७ घाइते

राजकुमार कार्की

सिन्धुली — मध्येपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

सिन्धुलीमा जिप दुर्घटना, ५ को मृत्यु, ७ घाइते

जिल्लाकै महादेवडाडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जिप बिहान १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाउँपालिका- २ का ५५ वर्षीया तीलमाया बिक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी बिक, २५ वर्षीया अनिता महत र वडा नं. ३ की ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् । दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया बिक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।


अन्य चार जना यात्रु सामान्य घाइते रहेका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।


त्यस्तै, बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका २ को कमेरेफाँटमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।


रामेछापको खाँडादेवी गाउँपालिका १ कठोरेबाट काभ्रेको तिमालतर्फ बेहुली लिएर जाँदै गरेको बा. ४ ख ९४३८ नं टिपर बुधबार राति दुर्घटना हुँदा तिमाल ९ की २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीया चुन्पाइ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।


गम्भीर घाइते तिमाल गाउँपालिका ९ का १२ वर्षीय दिनेश तामाङ र निरज माझीसहित ९ जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र सामान्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । टिपर चालक खड्क माझीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।



प्रकाशित : माघ २४, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?