कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेनेजुएलाले नेकपामा दुई धार

सरकार र पार्टीले वक्तव्य जारी गरिसकेपछि को व्यक्तिले के भन्छ, अर्थ राख्दैन : दाहाल
‘शब्द चिप्लिएको’ : प्रम ओली
दुर्गा खनाल

काठमाडौँ — भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । 

भेनेजुएलाले नेकपामा दुई धार

दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए । दाहालले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् ।


ओलीले दाहालको वक्तव्यप्रति संकेत गर्दै त्यसलाई ‘एउटा व्यक्ति’ को भनाइका रूपमा व्याख्या गरे । आफू नभएका बेला अध्यक्ष दाहालको वक्तव्य आएकामा पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म आउँदै थिएँ,’ ओलीले आफ्नै नियमित कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बुधबार भनेका थिए । ओलीले यसो भनेलगत्तै दाहालले बिहीबार आफ्नो अडान दोहोर्‍याएका छन् ।


प्रधानमन्त्रीको भनाइ आफूलाई जानकारी नभएको भन्दै कुरा सुरु गरेका दाहालले बिहीबार भरतपुरमा सञ्चारकर्मीसँग आफूले पहिले जारी गरेको वक्तव्य नै सही भएको उल्लेख गरे । उनले ‘शब्द चिप्लिएको’ भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्ने शैलीमा भने, ‘त्यो एउटा राजनीतिक वक्तव्य थियो, एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाह्य हस्तक्षेप कतैबाट नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो ।’


दाहालले माघ ११ गते भेनेजुएलाको राजनीतिक संकटबारे वक्तव्य जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका थिए । त्यस्तै भेनेजुएलामा साम्राज्यवादी ‘कु’ गर्न खोजिएको टिप्पणी दाहालले गरेका थिए । यस्ता कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन पनि दाहालले आग्रह गरेका थिए ।


सत्तारूढ दलका अध्यक्षबाट सिधै आफूप्रति लाञ्छित गरिएको वक्तव्य आएपछि अमेरिकी दूतावासले नेपाल सरकारको धारणा मागेको थियो । उता अमेरिकामा विदेश मन्त्रालयले नेपाली राजदूत अर्जुन कार्कीसँग सोधपुछ गरेको थियो । यता परराष्ट्र मन्त्रालयले दाहालको भन्दा केही नरम भाषामा वक्तव्य जारी गरेको थियो । त्यो वक्तव्यबाट पनि अमेरिकीले चित्त नबुझाएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई छुट्टाछुट्टै बोलाएर सम्झाए ।


यही बीचमा नेकपाको सचिवालय बैठकले समेत यसबारे थप धारणा सार्वजनिक गर्‍यो । त्यसमा दाहालको भन्दा केही भाषा नरम बनाएर भेनेजुएलाको राजनीतिक संकट त्यहींका जनताले समाधान गर्नुपर्ने खालको वक्तव्य नेकपाका महासचिव विष्णु पौडेलले जारी गरे ।


सचिवालय बैठक र परराष्ट्रको वक्तव्यलाई दाहालले आफ्नै वक्तव्यको निरन्तरता भनेका छन् । ‘परराष्ट्र मन्त्रालयबाट जो वक्तव्य जारी भयो, त्यो पनि मूलत: त्यही भावनामै आयो, अस्ति प्रधानमन्त्रीजीसमेत हामी सचिवालयको बैठक बसेर पनि हस्तक्षेपका विरोधमा नै वक्तव्य जारी भएको हुनाले अब अरू कुराले अर्थ राख्दैन,’ दाहालले बिहीबार भरतपुरमा भने, ‘सचिवालयको बैठकले समेत त्यही खालको वक्तव्य जारी गरिसकेपछि अब को व्यक्तिले के भन्छ, त्यसले अर्थ राख्दैन ।’


ठयाक्कै यस्तै धारणा प्रधानमन्त्री ओलीले बुधबार राखेका थिए । ‘कोही एक जना साथीले वक्तव्य दिनुभयो, यसले कुनै देश देशको सम्बन्ध बिग्रिहाल्ने हुँदैन,’ उनले भनेका थिए, ‘म नेपालमै भएको भए यस्तो वक्तव्य आउने थिएन, हाम्रो सुस्पष्ट नीति छ, त्यसैले यस्तो हुने थिएन ।’


भेनेजुएला प्रकरणमा पार्टीका दुई अध्यक्षकै तहबाट प्रकट भएको यस खालको जुहारीलाई नेकपाका नेताले राम्रो मानेका छैनन् । सामूहिक नेतृत्व गर्ने र निर्णयहरूको स्वामित्व लिने सवालमा नेताहरू चुकिरहेको बुझाइ उनीहरूको छ । ‘हाम्रो असंलग्न परराष्ट्र नीति छ, त्यसैले कुनै देशको मामिलामा राष्ट्रसंघको भावनाअनुसार हामी बोल्नुपर्छ र त्यसअनुसारका गतिविधि गर्नुपर्छ,’ परराष्ट्र मामिला नियाल्ने नेकपाका केन्द्रीय सदस्य राम कार्कीले भने, ‘संस्थागत रूपमा जे निर्णय भएको छ, त्यसलाई नै बोकेर हिंड्नुपर्छ तर एउटा वक्तव्यलाई लिएर सधैं त्यसका रौं केलाइरहनु आवश्यक छैन ।’


भेनेजुएलाका सन्दर्भमा त्यहाँ शक्तिराष्ट्रले प्रभाव जमाउने र हस्तक्षेप गर्ने कुरा पार्टीले स्वीकार गर्न नसक्ने उनले उल्लेख गरे । अमेरिका दाता राष्ट्र हो भन्दैमा जे पनि मान्न बाध्य नहुने उल्लेख गर्दै उनले एउटा वक्तव्यकै पछि लागेर हिंड्नु आवश्यक नरहेको बताए ।


कूटनीतिक मामिलाको ख्याल नगरी पार्टीका नेताहरू यस विषयमा बढी बोलिरहेको पूर्वराजदूत एवं नेकपा केन्द्रीय सदस्य टंक कार्कीको बुझाइ छ । ‘परराष्ट्र मामिलमा बढ्ता मुखर हुनु हँ‘दैन, उपयुक्त अभिव्यक्तिसाथ प्रस्तुत हुनुपर्छ,’ उनले भने, ‘नेताहरू बढ्ता हतारिएर बोलेको र व्यक्तिगत रूपमा अडान लिएको देखिनु राम्रो होइन ।’


जसका अभिव्यक्ति वा व्यक्तिगत वक्तव्य जे भए पनि पार्टीको सचिवालय बैठक बसेर एउटा निर्णय गरेपछि त्यसलाई नै सबैले आधिकारिक मानेर हिंड्नुपर्ने उनले बताए । ‘भर्खरै पार्टीको बैठकले एउटा निर्णय गरेको छ, त्यसैलाई बोकेर हिंड्नुपर्छ,’ कार्कीले भने, ‘को ठीक, को बेठीक भन्ने शैलीमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले यसलाई कोट्याइरहन जरुरी थिएन ।’


पार्टीभित्र सामूहिक नेतृत्व गर्नेभन्दा पनि आफ्नो अधिकार र शक्ति प्रयोग गर्ने खालको प्रवृत्ति हावी हँ‘दा यस्तो असहज खालको दृश्य देखा परेको उनको बुझाइ छ । नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी धार छ । त्यसभित्र पनि नेतापिच्छेका समूह छन् । भेनेजुएलाका विषयमा ती समूह पनि आफूनिकट नेताको बचाउ गर्ने शैलीमा लागेका छन् । पूर्वमाओवादी पक्षले दाहालको वक्तव्यलाई बचाउ गर्न खोज्छ भने ओली पक्षको समूह दाहालले अलि कच्चा काम गरेको धारणा राख्छ ।


प्रधानमन्त्री स्वदेशमा नभएका बेला दाहालले सरकारलाई अप्ठेरो पार्न वक्तव्य जारी गरेको हो कि भन्ने आशंका ओली पक्षको छ । यो आशंकालाई ओली नभएका बेला वरिष्ठ नेताहरूको ललितपुरमा भएको एउटा बैठकले बल दिएको आरोप लाग्दै आएको छ तर उक्त बैठक भेनेजुएलाका विषयमा वक्तव्य दिन नभई पार्टी एकता टुंग्याउने सम्बन्धमा केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठ दाबी गर्दै आएका छन् ।


प्रकाशित : माघ २५, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?