कर्मचारीले गैससको कार्यक्रममा जान पूर्वस्वीकृति लिनुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा मन्त्रालयले पूर्वस्वीकृति लिएर मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको कार्यक्रममा सहभागी हुन कर्मचारीलाई सर्कुलर गरेको छ ।

मन्त्रालयले कार्यक्रमहरूको अध्ययन गरी सहभागी हुन उपयुक्त भएमा मात्र अनुमति दिन मातहतका निकायलाई निर्देशन दिएको छ । व्यक्तिगत पहुँचका आधार गैससको कार्यक्रममा सहभागी हुनु कर्मचारी आचारसंहिता विपरीत हुने मन्त्रालयले प्रस्टाएको हो ।

मुलुकबाहिर सञ्चालन हुने कार्यक्रमको हकमा वैदेशिक भ्रमण स्वीकृति लिएर मात्र जान निर्देशन दिइएको छ । कर्मचारीहरू स्वदेश तथा विदेशमा हुने एनजीओ/आईएनजीओका कार्यक्रममा जथाभावी सहभागी हुन थालेपछि कडाइ गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सर्कुलरविपरीत कर्मचारी कार्यक्रममा सहभागी भए प्रचलित कानुनअनुसार कारबाही गरिने शिक्षा सचिव खगराज बरालले बताए ।

प्रकाशित : माघ २७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती राजकुमारले त्यागे सवारी चालक अनुमतिपत्र

कान्तिपुर संवाददाता

लन्डन — बेलायती महारानी एलिजाबेथका पति राजकुमार फिलिपले स्वेच्छाले आफ्नो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) त्यागेको बकिङ्घम राजदरबारले जनाएको छ । ९७ वर्षीय राजकुमार फिलिपले चलाइरहेको ल्यान्ड रोभर जिप हालै दुर्घटनामा परेपछि उनले क्षमायाचना गरेका थिए । उनलाई ड्युक अफ एडिन्बरा पनि भनिन्छ।


उक्त दुर्घटनालगत्तै उनले मोटर चलाउँदा चालक पेटी (सिट बेल्ट) नलगाएको फोटो सार्वजनिक भएपछि बेलायतको नोरफोक काउन्सिलका प्रहरीले उनलाई केही सुझाव दिएका थिए तर त्यो सुझाव के थियो भन्ने खुलाइएको छैन। बीबीसीका अनुसार बकिङ्घम दरबारले राजकुमार फिलिपले शनिबार स्वेच्छाले आफ्नो लाइसेन्स बुझाएको जनाएको छ।

राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्ससम्बन्धी निकायमा पठाइने पनि प्रहरीले जनाएका छन्। बीबीसीका एक सम्वाददाताले गत महिना भएको दुर्घटनामा राजकुमार फिलिपले आफ्नो गल्ती भएको स्वीकार गरेको जनाएका छन्।

जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार फिलिप आफै त घाइते भएनन् तर उनको जिपसँग ठोक्किएको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो। कियामा एक नौ महिनाको बालकसहित तीनजना मानिस सवार थिए। राजकुमारले घाइते महिलालाई पत्र लेख्दै 'निकै दु:खदायी घटना' भएको जनाएका थिए। दुर्घटनापछि राजकुमारले आफूलाई सम्पर्क नगरेको भनी घाइते महिलाले उनको आलोचना गरेकी थिइन्।

ब्रिटेनमा एकपटक सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि फेरि कानुनी रूपमा गाडी चलाउन नपाउने कुनै उमेर हद छैन। तर सवारी चालकले नियमितरुपमा आफ्नो नेत्र परीक्षण गराउनुपर्छ।
दुर्घटनापछि प्रहरीले राजकुमार फिलिपको आँखा जाँच गरेका थिए र उनी परीक्षणमा उत्तीर्ण भएका थिए।

प्रकाशित : माघ २७, २०७५ १९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT