कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढे रेडपान्डा

जुम्ला र मुगु — विश्वकै दुर्लभ जनावर रेडपान्डाका लागि कर्णालीका हिमाली जिल्ला सुरक्षित बासस्थान मानिएका छन् । सुरक्षित बासस्थानका कारण बर्सेनि रेडपान्डाको संख्या बढ्दै गएको छ । 

बढे रेडपान्डा

रेडपान्डा नेटवर्कले जुम्लामा गरेको अनुसन्धानअनुसार जुम्लाका तातोपानी, सिंजा, हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका जंगलमा संख्या बढ्दै गएको छ । नेटर्वकका सरोज श्रेष्ठका अनुसार विश्वका ५ देशमा मात्रै पाइने रेडपान्डा पूर्वी नेपालका केही जिल्ला र कर्णालीमा धेरै पाइने गरेको छ ।


उनका अनुसार रेडपान्डाको ४४ प्रतिशत बासस्थान कर्णालीमा छ । निगालाको जंगलमा रेडपान्डा धेरै भेटिने गरेको छ । ६ वर्षअघि जुम्ला खलंगामै रेडपान्डा भेटिएको थियो । स्थानीयले खलंगामा भेटाएको रेडपान्डा जिल्ला वन कार्यालयमा बुझाएका थिए ।


जिल्लामा हातेमालो नेपालले रेडपान्डा नेटवर्कको सहयोगमा रेडपान्डा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समितिका सदस्यसँग पनि पटकपटक संरक्षणबारे जानकारी गराउने गरिएको नेटवर्कले जनाएको छ ।


वन विनाशसँगै अव्यवस्थित चरणले पनि रेडपान्डा संकटमा पर्ने गरेको हातेमालो नेपालका पुरुषोतम जैसीले बताए । यसको संरक्षण गरे रेडपान्डा हेर्न जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने सहायक वन अधिकृत नीरज झा बताउँछन् ।


संरक्षणकर्मी उत्साही

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रारा लोपोन्मुख रेडपान्डाको राम्रो बासस्थान बन्न थालेको छ । रारा भ्रमणमा आउने पर्यटकको वृद्धि भइरहेका बेला रेडपान्डाको संख्या बढ्दै गएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् । रेडपान्डाको प्रमुख बासस्थान रारा बन्न थालेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत लालबहादुर भण्डारीले बताए । रेडपान्डाको गणना भइनसकेकाले संख्या किटान नभए पनि बढिरहेको उनको भनाइ छ ।


भौगोलिक र वातावरणीय दृष्टिले रेडपान्डाका निम्ति रारा उपयुक्त मानिएको अनुसन्धानले जनाएको छ । छमुर्माटप, चुचुमारे, रुमखोला माझघट्ट, खमालेखोलालगायत निकुञ्ज क्षेत्रमा रेडपान्डा बस्ने गरेको निकुञ्जले जनाएको छ । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निगालो र रूखको टोड्काहरू धेरै भएकाले रेडपान्डालाई बासस्थान बनाउन सजिलो भएको हो ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?