कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारलाई कांग्रेसको आरोप, ‘बयलगाडा चढेर सगरमाथा पुगिन्न’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको एकवर्षे कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा ओली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ । सरकार आर्थिक समृद्धि, शान्तिसुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ । 
सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सर्वसाधारणले दुई तिहाइको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए ।

सरकारलाई कांग्रेसको आरोप, ‘बयलगाडा चढेर सगरमाथा पुगिन्न’

‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकर्ता ढुक्कले आउने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने ।


कांग्रेसले आर्थिक सूचकांकका विवरणसमेत प्रस्तुत गरेको थियो । ‘व्यवस्थित अर्थतन्त्रको महत्त्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीगत खर्च समयमै प्रभावकारी रूपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुंँजीगत खर्च माघ मध्यमा आइपुग्दा केबल २२.८७ प्रतिशत मात्रै छ ।’ उसले विदेशी लगानी तत्कालीन कांग्रेस नेतृत्वको पाँच महिनामा ११.८७ अर्ब भित्रिएको तर ओली नेतृत्वको सरकार बनेको पाँच महिनामा (फागुन ४ सम्मको सरकारी तथ्यांक) मा ५ अर्ब घटेर जम्मा ६.१२ अर्ब भित्रिएको जनाएको छ ।


बाह्य मुद्राको सञ्चिति कांग्रेस सरकारको पहिलो ६ महिनामा १० खर्ब ६७ अर्ब रहेको उल्लेख गर्दै ओली सरकार बनेको त्यति नै अवधिमा १० अर्ब घटेर १० खर्ब ५८ अर्बमा सीमित रहेको विवरण कांग्रेसले पेस गरेको छ । ‘एघार महिनाको आयात धान्ने अवस्थाबाट आठ महिना धान्ने स्थितिमा गिरेको छ,’ कांग्रेसले भनेको छ, ‘कांग्रेस नेतृत्वको सरकारको तुलनामा व्यापार घाटा झन्डै दुई खर्बले बढेको छ ।’


सहज राजनीतिक वातावरण र दुई तिहाइको स्थिर सरकार भएको समयमा बजार मूल्य नियन्त्रित हुनुपर्नेमा उल्टो भएको कांग्रेसको ठम्याइ छ । ‘यही बेला बजारभाउ वृद्धि भएको छ, तरकारी किसानले उपयुक्त बजार मूल्य नपाउँदा बारीमै ट्याक्टर लगाएर तरकारी नष्ट गरेका छन्,’ कांग्रेसले भनेको छ, ‘शोधानान्तर घाटा चरम चुलीमा उक्लिएको छ ।’ उसले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सुरुआती पाँच महिनामा ९ अर्ब रहेको शोधनान्तर घाटा वर्तमान सरकारको पाँच महिनामा ८५ अर्ब नाघेको उल्लेख गरेको छ । अर्थतन्त्रको ‘पल्स’ मानिने सेयर बजारसमेत ओली नेतृत्वको सरकार बनेपछि धराशायी भएको कांग्रेसले जनाएको छ ।


‘स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो, पछि १५२० मा रहेको नेप्से कम्युनिस्ट सरकार बनेपछि १३८०, ११२८ हुँदै यो सरकारले एक वर्ष पूरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ,’ कांग्रेसले भनेको छ ।’ देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन ०७४ लाई सरकारले बिनाकारण विस्थापित गरेको भन्दै कांग्रेसले आक्रोश पोखेको छ । ‘अहिलेको ऐनले कर्मचारीको वृत्ति विकासलाई अप्राकृतिक ढंगले नियोजन गर्न खोजेको छ,’ उसले भनेको छ, ‘आम कर्मचारीको भावना कुण्ठित गरेर सुशासन स्थापित गर्ने लक्ष्य कसरी हासिल गर्न सकिन्छ ?’


सहज राजनीतिक वातावरण र दुई तिहाइको सरकार भए पनि यी आर्थिक सूचकांकले सरकारको एक वर्ष व्यर्थमै व्यतीत भएको कांग्रेसले उल्लेख गरेको छ । ‘वर्तमान प्रधानमन्त्रीले गणतन्त्रका लागि संघर्ष भइरहेका बेला बयलगाडाको एक प्रसंग राख्नुभएको थियो । आज उहाँको सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुब्लो शैली हेर्दा भन्नैपर्ने स्थिति आएको छ,’ कांग्रेसले भनेको छ, ‘समृद्धि मिठो नारा मात्रै होइन भने बयलगाडामा बसेर चढिन्न सगरमाथा ।’


शान्ति, समृद्धितर्फ डोर्‍याउन आवश्यक सुशासन मुलुकमा विकसित हुन नसकेको, बलियो सरकार भएका बेला भ्रष्टाचार नियन्त्रण नभएको, लगानीका अवसर नबढेको, बाह्य लगानीकर्ता आकर्षित र शान्तिसुरक्षा कायम गर्न नसकेको कांग्रेसले औंल्याएको छ ।


निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पक्राउ गर्न नसकेको, बिना प्रतिस्पर्धा बुढीगण्डकी जलविद्युत् आयोजना चाइनिज कम्पनीलाई दिएर राष्ट्रघाती काम गरेको, वाइडबडी जहाज खरिद प्रकरणमा अर्बौं भ्रष्टाचार हुँदासमेत छानबिन प्रक्रिया अघि नबढाएको, चिकित्सा शिक्षा सुधारका लागि गोविन्द केसीसँगको सम्झौता तोडेको भन्दै कांग्रेसले यी मुद्दालाई पनि सरकारको असफलतासँग जोडेको छ । उसले मधेसको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमा तदारुकता नदेखाएको, भेनेजुयला प्रकरणमा कूटनीतिक परिपक्वता देखाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बसेर संवैधानिक निकायका प्रमुखको नियुक्ति गरिएको विषयसमेत उठाएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?