२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

बहुमूल्य शालिग्राम चोरी

कान्तिपुर संवाददाता

पर्वत — मोदीवेणीको नृसिंह मन्दिरमा रहेका बहुमूल्य शालिग्राम शिला शनिबार राति चोरी भएको छ । लामो समयदेखि संग्रह गरेर राखिएका शालिग्राम मन्दिरको ढोकामा लगाएको ताल्चा काटेर चोरी भएको मोदीवेणी दिव्यधाम व्यवस्थापन समितिले जनाएको छ ।

बहुमूल्य शालिग्राम चोरी

मन्दिरमा संग्रह गरेर राखिएका करिब ५ सय वर्ष पुराना शालिग्राम र नृसिंहका मूर्ति चोरिएका हुन् । रातको समयमा मूलद्वारको ताला काटेर ४९ वटा प्राचीन शालिग्राम शिला लगेको नृसिंह मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपालदास पौडेलले बताए । ‘नदी किनारमा काम गर्नेहरू नजिकै ओडारमा बस्छन् । उनीहरू साढे ११ बजेसम्म आगो तापेर बाहिरै बसेका रहेछन्,’ उनले भने, ‘उनीहरूको भनाइअनुसार १२ बजेपछि चोरी भएको हुन सक्छ ।’ कालीगण्डकी किनारमा मात्रै पाइने निकै दुर्लभ शालिग्राम उक्त मन्दिरमा संग्रह गरिएको थियो । १८९० सालमा निर्मित मन्दिरमा करिब चार सय वर्ष अघिदेखिका शिला राखिएको इतिहास भएको मन्दिर व्यवस्थापन समितिको दाबी छ । त्यहाँ एकदेखि पाँच किलोसम्मका साना–ठूला शालिग्राम संग्रहित थिए । पूजाआजाका लागि बिहान ४ बजे पुजारी टीकाराम बैरागीले ढोका खुला देखेपछि चोरी भएको थाहा भएको हो ।


शंकास्पद स्थानको आइतबार बिहान खोजी गर्ने क्रममा चोरीमा संलग्नले प्रयोग गरेको हुन सक्ने फलामे हतियार, मन्दिरभित्र राखिएका विभिन्न देवदेवीका फोटा र हातमा लगाउने पञ्जा नजिकैको जंगलमा भेटिएको थियो । व्यवस्थापन समिति सदस्य युवनाथ गौंडेलले भने, ‘औंठाछाप कतै मिल्न सक्ने भयले पञ्जा लगाएर चोरेको हुन सक्छ । यो हेर्दा पेसेवर चोर हुनुपर्छ ।’


शालिग्राम शिलाभित्र सुन र हीराजस्ता बहुमूल्य धातु भेटिने विश्वास गरिन्छ । शालिग्रामलाई हिन्दु धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पनि पूजाआजा गर्छन् । भारतका विभिन्न सहरमा शालिग्राम शिला महँगो मूल्यमा बिक्री हुन्छ ।


चोरिएका शिलाको मूल्य १० लाखभन्दा बढी हुन सक्ने मोदीवेणीधामका अध्यक्ष केशवदास बैरागीले बताए । पर्वतका प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीले घटना थाहा भएलगत्तै सक्रियतापूर्वक चोरको खोजी भइरहेको बताए ।

‘चोरले लगेको दानपेटिका सदरमुकाम आउने सडकको सिँढीमा भेटियो । चोरहरू सदरमुकामतर्फ आएको हुन सक्छ,’ उनले भने । सदरमुकामका विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । त्यसका फुटेज पनि हेरेर अनुसन्धान तीव्र पारिएको उनले बताए ।


रित्तो दानपेटिका, ताला फुटाउन प्रयोग गरिएको हतौडी र ह्याक्सो ब्लेडलगायत फेला परेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?