गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित, रिले अनशन लम्बियो

कान्तिपुर संवाददाता

(कास्की) — सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नेसहित चार सूत्रीय माग राखेर विद्यार्थी आन्दोलित भएपछि १८ दिनदेखि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा पठनपाठन हुन सकेको छैन । विद्यार्थी आइतबार आठौं दिन पनि रिले अनशनमा बसेका छन् ।

पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका विद्यार्थी रिले अनशनमा । तस्बिर : विना/कान्तिपुर

चारपटक भएका औपचारिक र अनौपचारिक वार्तामा पनि कलेज व्यवस्थापन विद्यार्थीका माग सुनुवाइ गर्न तयार नभएपछि पठनपाठन अनिश्चित बनेको हो । विद्यार्थीका मागबारे सञ्चालक गम्भीर नभएको देखेर अभिभावकहरूलाई पनि चिन्ता बढेको छ । ‘हामीले छोराछोरीलाई आन्दोलन गर्न पठाएका होइनौं,’ पोखरा माछापुच्छ्ेर टोलकी सुशीला केसी अधिकारी भन्छिन्, ‘सरकारले तोकेको भन्दा बढी बुझाएको पैसाको रसिद हामीसँग छ । सम्बन्धित निकायले छानबिन गरी रकम फिर्ता दिनुका साथै कक्षा सञ्चालन हुने वातावरण मिलाइयोस् ।’ राम्रो डाक्टर होस् भनेर पढ्न पठाएका सन्तानको भविष्यप्रति चिन्ता लागेर आएको उनले बताइन् । ‘कलेज सञ्चालकले सधंै यसरी लुकेर समाधान हुँदैन,’ उनले भनिन्, ‘प्रशासनले पनि चासो दिनुपर्छ ।’

विद्यार्थी आन्दोलित भएपछि १८ दिनदेखि कलेज ठप्प छ । पठनपाठन ठप्प हुँदा पनि सञ्चालक मौन बसेको विद्यार्थीको आरोप छ । विद्यार्थी कलेज परिसरमा रिले अनशनमा छन् । ‘तेस्रो वर्षको जाँच आउँदै छ । मंगलबार अन्तिम दिन हो तर हामी सबै फारम नभर्ने पक्षमा छौं,’ विद्यार्थी अजय पाण्डेले भने । उनका अनुसार तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी ८० जना छन् । यही महिनामा परीक्षा हुने तालिका छ । ‘कस्तो सपना बोकेर आएका थियौं, बाध्यताले आन्दोलनमा उत्रनुपरेको छ,’ अर्का विद्यार्थी विशाल क्षत्रीले भने, ‘सञ्चालकहरू वार्तामा बस्न चाहन्नन् । हाम्रो भविष्य अन्धकारतिर जाँदै छ । राज्यको पनि दायित्व हो दुवै पक्षलाई राखेर वार्ता गराउने । राज्य कानमा तेल हालेर बसेको छ ।’

चारबुँदे माग सार्वजनिक गर्दै सुरुमा १० दिनसम्म प्रदर्शन गर्दा सुनुवाइ नभएपछि, विद्यार्थीले रिले अनशन गरेका हुन् । सन् २०१५ देखि हालसम्मको पाँच ब्याचका करिब ६ सय विद्यार्थी छन् । प्रतिविद्यार्थी अनधिकृत रूपमा वार्षिक २ लाख रुपैयाँभन्दा बढी असुली गरिएको आरोप उनको छ । आन्दोलित विद्यार्थीले कास्की जिल्ला प्रशासन र प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । विद्यार्थीका जायज मागप्रति जिल्ला प्रशासन गम्भीर हुनुपर्ने अभिभावकको भनाइ छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विद्यालयलाई डेढ करोडको छात्रावास

प्रदीप मेन्याङ्बो

(सुनसरी) — कान नसुन्ने बहिरा विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट पढ्ने पूर्वको एक मात्र शैक्षिक संस्था धरानको पूर्वाञ्चल बहिरा विद्यालयले स्वदेशीविदेशी दाताबाट संकलित करिब १ करोड ५० लाख रुपैयाँ लागतको छात्रावास निर्माण गरेको छ । छात्रावासको उद्घाटन आइतबार धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरिन् । 

पूर्वाञ्चल बहिरा विद्यालयको छात्रावास उद्घाटन गर्दै धरान नगरप्रमुख मञ्जु भण्डारीलगायत । तस्बिर : प्रदीप/कान्तिपुर

भण्डारीले बहिरा विद्यालयको थप स्तरोन्नति गर्नका लागि उपमहानरपालिकाले सकेसम्म सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘स्वयंसेविकाका रूपमा प्रवेश गरेकी प्रधानाध्यापिका रेनुका बुढाथोकीले आफ्नै प्रयास र पहलमा दाताहरू खोजेर आज डेढ करोड रुपैयाँको छात्रावास बनाउन सक्नु नै गर्वको विषय हो ।

आफ्नो तलबभत्ता सुविधासमेत विद्यालयलाई नै दिएर चाडबाड, दसैं, तिहारको बिदासमेत नभनी रातदिन बहिरा विद्यार्थीको शिक्षादीक्षामा लागेकी बुढाथोकीको योगदानलाई समाजले बिर्सनु हुदैन ।’

विद्यालयका प्रधानाध्यापक रेनुका बुढाथोकीका अनुसार अमेरिकाको द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन (टीआरआईएफसी) का बोर्ड सदस्य रोज स्टेफन, त्यसका अध्यक्ष रवर्ट रोज र सदस्य जोनले सुस्त श्रवण कल्याण संघमार्फत एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माण गरिएको हो । विद्यालयमा नि:शुल्क पठनपाठन हुने गरेको उनले बताए ।

उनका अनुसार भवन निर्माणका लागि विद्यालयले जग्गा किनेपछि शिक्षा विभागको समावेशी शिक्षा शाखाबाट प्राप्त ८३ लाख रुपैयाँले १६ कोठाको २ तलाको भवन निर्माण गरिएको हो ।

उनले भनिन्, ‘शिक्षा शाखाबाट आएको रकमले भवन निर्माण भयो । विद्यालयको छात्रावासका लागि थप अपुग फर्निचर, किचन, शौचालय, बाथरुम, सेफ्टी ट्यांकी, पुस्तकालयका लागि जर्मनका नागरिकले ६ लाखरुपैयाँ पठाइदिए ।’ विद्यालयका ५५ विद्यार्थीलाई आवासीय सुविधा भएको छात्रावासको पक्की घेराबारा, अन्य व्यवस्थाका लागि स्थानीय समाजसेवी हर्कशोभा लिम्बूले १ लाख ५ हजार रुपैयाँ, इन्दिरा श्रेष्ठले १ लाख रुपैयाँ प्रदान गरेको उनले बताइन् । उनले बहिरा विद्यार्थी पनि नेपालकै नागरिक भएकाले उनीहरूलाई शिक्षादीक्षा दिनु र आत्मनिर्भर र स्वावलम्बी बनाउनु राज्यको दायित्व भए पनि आफूले चिनेजानेका आधारमा विदेशी नागरिकहरूसँग हारगुहार गरेर बहिराका लागि केही गर्न नागरिक दायित्व पूरा गरेको बताइन् ।

विद्यालयमा हाल विभिन्न जिल्लाबाट ६९ बहिरा विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम बुढाथोकीले कुनै आवाज नै नसुन्ने बालबालिकाका लागि हाल कक्षा आठसम्म पठनपाठन हुँदै आए पनि आभारभूत सुविधायुक्त होस्टल अभाव बल्ल पूर्ति भएको बताए । उनले भने, ‘बहिरा विद्यालयमा पठनपाठनका लागि बेग्लै तरिका अपनाउनुपर्छ । भएको पाठ्यक्रमलाई सांकेतिक भाषामा ढालेर सिकाउनुपर्छ । आर्थिक अभावले सबै व्यवस्था गर्न अझै बाँकी छ । दाताहरूकै खोजीमा छौं ।’ होस्टल कक्षा एकै ठाउँ बनाइएको विद्यालयको कोठालाई अब कक्षाकोठा, प्रयोगशाला कक्ष बनाउने अध्यक्ष बुढाथोकीले बताए । मुलुककै सांकेतिक भाषाका पहिलो बहिरा शिक्षक भानुभक्त आचार्यले बहिरा विद्यार्थीका लागि राज्य संवेदनशील हुन नसकिरहेका बेला धरानमा बहिरा बालबालिकाका लगि अवासीय छात्रावाससहितको शैक्षिक संस्था बामे सर्दै गरेको बताए । उनले भने, ‘बहिरा बालबालिकालाई उचित शिक्षा र सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउन सके अभिभावक, समाज र राज्यको भार बन्दैनन् ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT