१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार 

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ ।  

इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार 

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए । माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको जोखिममा रहेका उनीहरुको उद्धार गरेको हो ।

अध्यक्ष खड्काले माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो । बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

माइती नेपालले भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सराकार, मणिपुरस्थित गोरखा दु:ख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्यव गरेको थियो ।

उद्धार गरिएकाहरुलाई सोमबार राति नेपाल ल्याइने छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार उद्धार गरिएकी एक महिलाको अस्वस्थताका कारण नेपाल ल्याउन ढिलाई भएको हो । ‘सोमबार राति या मंगलबार बिहानसम्ममा पुऱ्याइन्छ होला’, घिमिरेले भने ।

अध्यक्ष खड्काले मानव तस्करीको यस प्रकारको भयाभह घटनामा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कारवाही गर्न माग गर्ने र पीडितलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारसँग पहल गरिने जनाएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?