कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकको विकल्पमा हेलिप्याड

हरि गौतम

रुकुम पूर्व — सडक सञ्जाल नपुगेको र तत्काल पुग्ने सम्भावनासमेत नदेखेपछि पुथाउत्तरगंगा गाउँपालिकाले हेलिप्याड निर्माण गर्ने निर्णय गरेको छ । माघ १९ गते तकसेरामा बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाका ९ वडामा हेलिप्याड बनाउने निर्णय गरेको हो ।

सडकको विकल्पमा हेलिप्याड

चालु अवमै हेलिप्याड बनाउने गरी गाउँ कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षत्रीले बताए । उनका अनुसार १ देखि ९ नं. वडामा एक/एकवटा हेलिप्याड बनाइनेछ । नागरिक उड्डयन प्राधिकरणले बनाएको हेलिप्याड निर्माणसम्बन्धी मापदण्डका आधारमै बनाइने उनले बताए । जसका लागि चालु वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


गाउँपालिकाका १४ मध्ये ९ वडामा हेलिप्याड बनाउनैपर्ने भएपछि त्यसको प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती मगरले बताए । ‘सडकको विकल्पका रूपमा हेलिप्याड उपयुक्त हुने देखियो,’ उनले भने, ‘तत्काल उद्धारका लागि हेलिकप्टर नल्याई सुखै छैन, त्यसैले व्यवस्थित रूपमा बनाउने निर्णय गरिएको हो ।’


गाउँको पायक पर्ने ठाउँमा हेलिप्याड बनाइने र उपयुक्त ठाउँ छनोटका लागि सम्बन्धित वडालाई नै जिम्मेवारी दिइएको उनले बताए । अझै केही वर्ष सडक सञ्जालमा जोडिने सम्भावना नभएकाले आकस्मिक उद्धारका लागि हेलिप्याड बनाउन लागिएको उनले सुनाए । रुकुम पूर्व छुट्टै जिल्ला बनेको एक वर्ष अवधिमा मात्रै जिल्ला प्रशासनले हेलिकप्टरमार्फत १३ बिरामी तथा घाइतेको उद्धार गरेको छ । व्यक्तिगत रूपमा हेलिकप्टर चार्टर गर्नेको संख्या पनि उत्तिकै रहेको अध्यक्ष घर्तीले बताए ।


हाल गाउँपालिकाका ५ वडामात्रै सडक सञ्जलमा जोडिएका छन् । १० देखि १४ नम्बर वडामा सडक पुगे पनि बाह्रैमास गाडी गुड्दैनन् ।


रोल्पाको थबाङ हुँदै आएको सहिद मार्ग १३ नम्बर वडाको ओख्मासम्म पुगेको छ । त्योभन्दा माथिसम्म सहिद मार्गअन्तर्गत ठेक्का लागे पनि तत्कालै सडक निर्माण हुने सम्भावना नरहेको स्थानीयले बताए । ठेकेदार कम्पनीले सजिलो ठाउँमा सडक निर्माण गर्ने र अप्ठ्यारो ठाउँमा सडक निर्माणको कुनै काम सुरु नगरेको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?