कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्ज मिचेर बनाइएको मञ्चमै बसेर मन्त्री बस्नेतले गरे उद्घाटन

अब्दुल्लाह मियाँ

काठमाडौँ — निकुञ्ज मिचेर बनाइएको मञ्चमा बसेर वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार गागलफेदीमा कागेश्वरी पर्यटन महोत्सव उद्घाटन गरेका छन् । शिवपुरी–नागार्जुन निकुञ्जको सुन्दरीजल सेक्टरअन्तर्गत पर्ने तीन रोपनी जग्गामा कागेश्वरी मनोहरा नगरपालिका र १ नम्बर वडा कार्यालयले डोजर लगाएका हुन् ।

निकुञ्ज मिचेर बनाइएको मञ्चमै बसेर मन्त्री बस्नेतले गरे उद्घाटन

महोत्सवलाई ‘कागेश्वरी–मनोहरा नगरपालिकाको पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धि हाम्रो अभियान’ नारा दिइएको छ । निकुञ्जको जंगलसँगै रहेको ऐतिहासिक कागेश्वरी महादेवको मन्दिरको धार्मिक तथा पर्यटकीय महत्त्व दर्शाउन महोत्सव गरिएको आयोजक नगर र वडाले जनाएका छन् ।


निकुञ्जको जग्गा अतिक्रमण गर्नेलाई कारबाही दायरामा ल्याउन पहल गर्नुपर्नेमा सरोकारवाला मन्त्रीले उल्टै प्रोत्साहन गरेपछि संरक्षणकर्मीले आश्चर्य व्यक्त गरेका छन् । यसबारे मन्त्री बस्नेतसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन् ।


महोत्सव उद्घाटनमा शिवपुरी–नागार्जुन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) डिलबहादुर पुर्जा पुनसँगै उक्त क्षेत्रका नेकपाका सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाल र नगरप्रमुख कृष्णहरि थापालगायत थिए ।


कागेश्वरी–मनोहरासमेत पर्ने निकुञ्जको सुन्दरीजल सेक्टर हेर्नेे सहायक संरक्षण अधिकृत पशुपति अधिकारीका अनुसार नगरपालिका र वडाले मन्दिरसँगै रहेको निकुञ्जको तारबार र पर्खाल डोजर लगाएर भत्काएका हुन् । ‘गत वर्ष रोपिएका बिरुवासमेत फालेर निकुञ्जको जमिन सम्याइएको छ,’ उनले कान्तिपुरसित भने, ‘रोक्न खोजिए पनि सकिएन ।’ १ नम्बर वडाध्यक्ष मुकुन्द गजुरेलले डोजर लगाइए पनि निकुञ्ज नमिचेको दाबी गरे ।


निकुञ्जका तत्कालीन चिफ वार्डेन कमलजंग कुँवरको पहलमा उक्त क्षेत्रमा पर्खाल लगाएर वृक्षरोपण गरिएको थियो । अहिले त्यही पर्खाल भत्काएर महोत्सवका नाममा जग्गा अतिक्रमण गरिएको हो ।


उक्त क्षेत्रमा २०७२ देखि महोत्सव आयोजना हुँदै आएको छ । सांसद फुयालकै पहलमा हुँदै आएको महोत्सवमा यसपालि उनी संरक्षक छन् । महोत्सव व्यवस्थापन समितिमा दलबहादुर लामा, साविकको गागलफेदी गाविसका पूर्वअध्यक्ष विश्वराज श्रेष्ठलगायत थिए । महोत्सवपछि उक्त क्षेत्रमा एक हजार किलोको नेपालकै सबभन्दा ठूलो कागको प्रतिमा स्थापना गर्ने तयारी छ ।

उपत्यकाका उत्तरी पर्वतको प्रवद्र्धन तथा विभिन्न स्थानीय उत्पादन जगेर्ना तथा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाको दाबी छ । उक्त स्थानबाट उपत्यकाको मनोरम दृश्यसहित सूर्यास्त र सूर्योदय अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?