कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्थापितलाई ऋणको भारी

पहिरोको जोखिम बढेपछि केरौंजावासी सदरमुकाम नजिकैको सिमलगैरीमा
हरिराम उप्रेती

गोरखा — ‘गाउँ छाड्न मन थिएन,’ धार्चे गाउँपालिका २ करौंजाका काजीराम गुरुङले भने, ‘भूकम्पपछि बस्ने अवस्था रहेन ।’ गाउँ आसापास दुई काठे घर अट्ने जग्गा नपाएपछि बाध्य भएर थातथलो छाड्नुपरेको गुरुङको गुनासो छ ।

विस्थापितलाई ऋणको भारी

‘भूकम्पपछि पहिरो आयो, पुरानो घरको नाम निसाना राखेन, भएको आफ्नो बारीमा पहिरो खसिरहन्छ,’ उनले भने, ‘गाउँमा जग्गा किन्छु भन्दा पनि पाइएन ।’


बाबु–बाजेको पालादेखि बस्दै आएको बस्ती आसपास जग्गा खरिद गरेर घर बनाउन काजीरामले प्रयास नगरेका होइनन् । पहिरोले घर लगेपछिको तीन वर्षमा ६ ठाउँ सरे । उनले भने, ‘पहिरो नआउला भनेर छिमेकीको जग्गा मागेर सुरुमा वाम्लाचोकमा टहरो हालेँ, त्यहाँ बस्दा फेरि पहिरो आउला कि भन्ने मनमा डर भइराख्यो छिमेकीको जग्गा मागेर सर्दा–सर्दा ६ वटा टहरो बनाएछु ।’


साविकको केरौंजा गाविसका १, २, ३ र ४ नम्बर वडामा प्राप्चेत भीरको पहिरो र २०७२ वैशाख १२ को भूकम्पले धाँजा फाटदा बस्ती जोखिममा परेको हो । पुरानो बस्ती जोखिममा परेपछि ३ सय ४८ घर धुरी विस्थापित बने । यहाँका धेरैजसो स्थानीयले भने गाउँमै जग्गा खरिद गरेर घर बनाए ।


पहिरोको जोखिममा परेका केरौजाँकै २१ घरधुरीले गोरखा नगरपालिका ६ सिमलगैरीमा जग्गा खरिद गरेर घर ठड्याए । नीलो र हरियो जस्ताको छाना । दुईकोठे उस्तै प्रकृतिका घर । गुजुमुज्ज बस्ती । खेतको बीचमा रहेका यी घर विस्थापित बनेर आएका करौंजाका भूकम्प पीडितका हुन् ।


केरौंजाका स्थानीयको बाहुल्य रहेको बस्तीको नाम नै ‘सेकेन्ड केरौँजा’ भनेर नामकरण पनि गरेका छन् । ‘पहिरोको डर नमानी आनन्दले सुत्न पाइन्छ कि भनेर यहाँ सरेका हौ,’ स्थानीय वाङडुम गुरुङले भने । चार रोपनी जग्गा खरिद गरेर चार–चार आना भागबन्डा गरी घर निर्माण गरेको उनले बताए ।


केरौंजा बस्ती नजिकैको प्राप्चेत भीरबाट बर्खाको समयमा बर्सेनि पहिरो झर्दा थातथलो छाड्न बाध्य भएको उनको भनाइ छ । ‘बजारको नजिक सबै किन्नुपर्ने रहेछ, दुईकोठे घर बनाउन पनि ७ लाख घटीले भेटेन,’ उनले भने, ‘गाउँमा ढुंगा काठलाई पैसा पर्थेन, यहाँ सबै किन्नुपर्ने ।’ घर बनाउँदा अधिकांशलाई ऋण लागेको उनले बताए ।


थातथलो छोडेका उनीहरूलाई ऋणको भारले पीडा थपेको छ । ‘बजारनजिकै घर बन्दा रमाइलो त मान्नैपर्‍यो, सुरुमा गाउँ छाडदा छाना भए खानाको पीर नहोला सोच्यौँ,’ कान्छी गुरुङले भनिन्, ‘घर अट्ने जग्गा त किन्यौँ, गरेर खाने बारी छैन, काम पाए मजदुरीका लागि जाने गरेका छौँ ।’


बिहान बेलुकीको खानेकुरा जोहो गर्न अप्ठेरो परेको उनीहरूले बताए । ‘मसला बनाउने ढुंगा बोक्ने काम त हामी महिलाले नि गर्न सक्छौँ,’ उनले भनिन्, ‘बच्चाबच्चा छन्, घर छाडेर टाढा जान पनि नमिल्ने गाउँमा भए बस्तुभाउ हुन्थ्यो, आफ्नै बारी खोस्रन पाइन्थ्यो, यहाँ अरूको बारीमा टेके पनि गाली गर्दा रहेछन् ।’


कामको खोजीमा पुरुषहरू मनाङदेखि भोटखोलासम्म पुग्ने गरेका छन् । ‘मजदुरी गरेर आएको पैसाले ऋण तिर्ने गरेको छु,’ वाङडुम गुरुङले भने, ‘एक दिनको १२–१५ सय ज्याला हुन्छ, खानेकुरा किनेर बचेको पैसाले ऋण तिर्ने हो ।’


बस्तीमा पूर्वाधारको विकास नहुँदा उनीहरू समस्यामा परेका छन् । पानीको चरम समस्या रहेको कान्छीले गुनासो गरिन् । ‘खेतको मूलको पानी खान्छौं त्यही पानी पनि खेतमा लगाउनुपर्छ भन्छन् खेत धनी,’ उनले भनिन्, ‘भुराभुरी स्कुल जाँदा बारीमा टेकिदिंदा रहेछन्, खेत धनीको गाली खानुपरेको छ ।’ पानीको मूल र पाइप पाए आफैं श्रमदानमा खटिने उनीहरूले बताए ।


केहीका परिवार टुक्रिएका छन् । वृद्ध बाबुआमा गाउँमा र गरिखान सक्नेहरू सदरमुकामतिर हुँदा झनै समस्या भएको मिंगुर गुरुङले बताए । गाउँको जग्गा बाँझिने र बजारमा गरेर खाने जग्गा नभएपछि समस्यामा परेको उनको कथन थियो ।


‘गाउँमा ५–६ रोपनी जग्गा छ, मकै आलु लगाउँथ्यौँ, बूढाबूढी भएका आमा बाले काम गर्न सक्दैनन्,’ उनले भने, ‘तल माथि गरौँ झनै पैसा खर्च हुन्छ, बुबाआमालाई तल जाऊ भन्यो मर्ने बेला अरूको देशमा कहाँ जाने भन्छन् ।’


विस्थापित भएका भूकम्पपीडितलाई जग्गा खरिदका लागि सरकारले बढीमा २ लाख उपलब्ध गराउने भने पनि यहाँ घर बनाएर बसेकाहरूले अझै रकम नपाएको गुनासो गरे । उनीहरूलाई जग्गा खरिदका लागि रकम उपलब्ध गराउने प्रक्रिया चलिरहेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइको कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । ‘प्रक्रियामा छ । उहाँहरूले पैसा पाउनहुन्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?