कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँ हाइड्रोले तोडयो सीएमसीसँगको सम्झौता

विजय तिमल्सिना

काठमाडौँ — तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता तोडेको छ । तोकिएको समयमा आयोजनास्थल पुगेर काम नगरेपछि मंगलबार आयोजनाले इटालियन कम्पनीलाई ठेक्का तोडिएको पत्र पठाएको हो ।

तनहुँ हाइड्रोले तोडयो सीएमसीसँगको सम्झौता

सीएमसीले आयोजनाको नदी फर्काउने, बाँधसहित हेडवक्र्स निर्माणको जिम्मा पाएको थियो ।

सीएमसी र आयोजनाबीच असोज १५ गते निर्माण सम्झौता भएको थियो । सम्झौतामा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्ने प्रावधान भए पनि सीएमसी अहिलेसम्म आयोजनास्थल पुगेको छैन ।

सीएमसीले सम्झौताबमोजिम काम सुरु नगरेकाले सम्झौता रद्द गरिएको आयोजना प्रमुख प्रदीपकुमार थिकेले जानकारी दिए ।

सीएमसीले तनहुँ हाइड्रोको पहिलो प्याकेजको काम गर्न २० अर्ब ६४ करोडमा सम्झौता गरेको थियो । आयोजनाको सबै काम डिसेम्बर २०२३ मा सक्ने योजना थियो ।

सीएमसीसँग ठेक्का तोडिएपछि आयोजनाको पहिलो प्याकेजको काम गर्न पुन: बोलपत्र

आह्वान गरिने आयोजना प्रमुख थिकेले जानकारी दिए ।

जलाशययुक्त आयोजना भएकाले लोड व्यवस्थापनका लागि यसलाई महत्त्वपूर्ण मानिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदका लागि असार १५ मा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार आयोजनाले २०८० चैत ३० (२०२४ अप्रिल १२) सम्म उत्पादन गरिसक्नुपर्ने हुन्छ ।

आयोजनाबाट उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ६ रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको हो । आयोजनाबाट प्राधिकरणले सुक्खायाममा १७ करोड ८९ लाख र वर्षायाममा ३२ करोड ३६ लाख युनिट विद्युत् खरिद गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख अमेरिकी डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी) ले ८ करोड ५० लाख अमेरिकी डलर र नेपाल विद्युत् प्राधिकरणले ८

करोड ७० लाख अमेरिकी व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौता भइसकेको छ । आयोजनाका लागि रकम परिचालन गर्न सरकार र प्राधिकरण एवं प्राधिकरण र विद्युत् प्रवद्र्धक कम्पनीबीच सहायक ऋण सम्झौताहरू सम्पन्न भइसकेका छन् ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान र सञ्चालनसहितको दोस्रो प्योकेजको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ । दोस्रो प्याकेजका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको हो ।

इटालिन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको जिम्मा पनि पाएको थियो । इटालियन कम्पनी काम छाडेर हिँडेपछि माघ २४ गते आयोजनाले सीएमसीसँग ठेक्का तोडेको थियो ।

आयोजनाको हेडवक्र्स तथा सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना रेल्वेसँग २०६५ फागुन ७ गते सम्झौता भएको थियो । चार वर्षमा काम सक्ने गरी सम्झौता भए पनि कम्पनीले सन्तोषजनक काम गर्न नसकेपछि २०६९ मा चिनियाँ कम्पनीसँग ठेक्का तोडिएको थियो ।

लगत्तै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी इटालियन कम्पनी सीएमसीलाई सुरुङ र हेडवक्र्स निर्माणको जिम्मेवारी दिइएको थियो । सीएमसीले ७७ अर्ब २३ करोडमा ठेक्का पाएको थियो । कम्पनीसँग आयोजनाले २०७० असार ३१ गते सम्झौता गरेको हो ।

सीएमसी कम्पनी ऋणका कारण टाट पल्टिएको भन्दै इटाली अदालतले कम्पनीलाई फरफारक गर्ने समय दिएको छ ।

१ सय ४० मेगावाट जडित क्षमताको आयोजनाका लागि तनहुँको रिसिङ गाउँपालिकामा कार्यालय र कर्मचारी आवासका लागि भवन निर्माण भएको छ भने प्रभावितलाई मुआब्जा वितरण गरिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?