कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा घाइते प्रदेश सांसद् ओलीको निधन

दुर्गालाल केसी

दाङ — सडक दुर्घटनामा गम्भीर घाइते दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको बिहीबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राति ३ बजे ओलीको निधन भएको हो ।

दुर्घटनामा घाइते प्रदेश सांसद् ओलीको निधन

केही दिनअघि घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद् ओली सवार बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका-३ मसोटखोला नजिक ठोक्किदा दुर्घटना भएको थियो । उक्त घटनामा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो ।


दुर्घटनामा गम्भीर घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा एक दिन राखेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडाैं लगिएको थियो । दाङको दंगिशरण गाउँपालिकाको श्रीगाउँमा जन्मिएका ३७ वर्षीय ओली दाङ क्षेत्र नं. ३ 'ख' बाट तत्कालीन एमालेका तर्फबाट निर्वाचित भएका थिए ।


ओलीको शव शुक्रबार दिउँसो हेलिकोप्टरबाट दाङ ल्याउने तयारी गरिएको छ । नेकपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली गरी दाङ ल्याउने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । ओलीका श्रीमती र दुई छोरा छन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?