कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाको एकता कार्यदल भंग

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपाको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने कार्यदल भंग भएको छ । संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले काम गर्न नसक्ने धारणा राखेपछि सचिवालय बैठकले कार्यदल भंग गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदल भंग गर्ने प्रस्ताव राखेका थिए ।

नेकपाको एकता कार्यदल भंग

कार्यदल भंग भएपछि नेकपाको सांगठनिक एकता प्रक्रिया झन् जटिल बनेको र कहिले टुंगिने भन्ने अनिश्चित भएको छ । संयोजक थापा र महासचिव पौडेलले काम गर्न सक्दैनौं भनेपछि ओलीले कार्यदल भंग गर्न प्रस्ताव राखेका थिए । छलफलक्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नेता वामदेव गौतमले भने कार्यदललाई एकता प्रक्रिया टुंग्याउन थप समय दिनुपर्ने धारणा राखेका थिए ।


‘एकता प्रक्रिया चाँडै टुंग्याउनुको विकल्प छैन, कार्यदललाई थप समय दिएर भए पनि एकता छिटो टुंग्याऔँ, कार्यदलकै बहुमत ५ सदस्यले एकता प्रक्रिया टुंग्याउन थप समय माग्नुभएको छ, कार्यदललाई काम गर्न दिऔँ,’ नेपाल, खनाल र गौतमको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो ।


थापा र पौडेलले तीन नेताको भनाइको प्रत्युत्तरमा म्याद थप गरे पनि आफूहरूले काम गर्न नसक्ने धारणा राखेका थिए । ‘जसले जिम्मा लिएको हो, उसैले काम गर्न सक्दिनँ भनेपछि कार्यदल राखिरहनुको के अर्थ ?’ अध्यक्ष ओलीले सचिवालय बैठकमा यस्तो धारणा राखेपछि कार्यदल भंग गरिएको हो ।


कार्यदलका अरू पाँच सदस्यमध्ये सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले भने एकता प्रक्रिया टुंग्याउन थप समय दिन आग्रह गरेका थिए । सदस्य वर्षमान पुन बैठकमा अनुपस्थित थिए । बहुमत सदस्यले कार्यदल भंग गरिएकामा असन्तुष्टि प्रकट गर्दै आफूहरूले एकता प्रक्रिया टुंग्याउनेबारे छुट्टै प्रतिवेदन दिने धारणा राखेका थिए ।


म्याद थपका पक्षमा रहेका सदस्यले सचिवालयको कार्यदल भंग गर्ने निर्णय दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै त्यसले एकता प्रक्रियालाई जटिल बनाउने धारणा राखेका थिए । सदस्य योगेश भट्टराईले विधानअनुसार स्थायी कमिटीले बनाएको कार्यदल सचिवालयले भंग गर्न नसक्ने धारणा राखेका थिए ।


भट्टराईले कार्यदल भंग भए पनि आफूहरू ५ जनाले एकता प्रक्रियालाई टुंग्याउन छुट्टै प्रतिवेदन स्थायी समितिमा पेस गर्ने जानकारी दिए । ‘हामीले एकता प्रक्रियालाई टुंग्याउने गरी काम गर्न केही समय मागेका थियौं, सचिवालयले दिएन,’ उनले भने, ‘हामी एक/दुई दिनभित्र आफ्ना तर्फबाट छुट्टै प्रतिवेदन बुझाउँछौं ।’


स्थायी समिति बैठकले पार्टी र भ्रातृसंस्थाको केन्द्रदेखि जिल्ला तहसम्मको एकता प्रक्रिया टुंग्याउन गत जेठमा थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तत्कालीन एमाले र तत्कालीन माओवादीभित्रका गुट/उपगुटले प्रदेश र जिल्ला तहमा पदाधिकारी तोक्न छुट्टाछुट्टै नाम सिफारिस गरेपछि एकता प्रक्रिया टुंग्याउन कार्यदललाई सकस पर्दै आएको थियो । एकता प्रक्रिया नटुंगिएका कारण तत्कालीन एमाले र माओवादी भ्रातृसंगठनले केन्द्रदेखि तल्लो तहसम्म समानान्तर ढंगले छुट्टाछुट्टै काम गर्दै आएका छन् ।


एकता नटुंगिँदा प्रदेश कमिटीमा अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोकिए पनि सदस्यहरू तोकिएका छैनन् । सहमतिकै अभावमा सबै प्रदेश र जिल्ला कमिटीले पूर्णता पाउन सकेका छैनन् । कार्यदल भंग भएपछि एकता प्रक्रिया कहिले टुंगिने अनिश्चित भएको नेकपाका नेताहरू बताउँछन् ।


भंग भएको कार्यदलका संयोजक थापा र वरिष्ठ सदस्य पौडेलले सांगठनिक एकता प्रक्रिया पार्टीका शीर्ष नेता तहबाट मात्र टुंग्याउन प्रस्ताव गरेका छन् । ‘हाम्रो तहबाट एकता प्रक्रिया टुंगिन सक्दैन, शीर्ष नेताहरूले नै टुंग्याउनोस्,’ थापा र पौडेलको भनाइ थियो । सचिवालयले स्थायी समितिले एकता प्रस्ताव तयार गर्ने र बैठक बसेर टुंग्याउने निर्णय गरेको जानकारी एक नेताले दिए ।


नेकपाले माघ मसान्तभित्र पार्टीको सबै तहको एकता प्रक्रिया टुंग्याई फागुन पहिलो सातादेखि मुलुकभर एकता सन्देश दिन पार्टी परिचालन अभियान चलाउने तयारी गरेको थियो । कार्यदल भंग भएपछि अभियानसमेत अन्योलमा परेको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?