विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट

मेनुका ढुंगाना, नवीन पौडेल, भवानी भट्ट, कृष्ण थापा, घनश्याम खडका,

अछाम / नवलपुर / कञ्चनपुर/नुवाकोट/म्याग्दी — शुक्रबार राति विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट भएकाे छ । आगजनी गर्नेकाे पहिचान हुन सकेकाे छैन । कञ्चनपुरमा भने 'जय जनता' काे नामबाट फालिएकाे पर्चा भेटिएकाे छ ।

अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएकाे छ। आगजनीबाट एनसेलकाे माेबाइल सेवा अवरुद्ध भएकाे छ।

शुक्रबार मध्यराति गरिएकाे आगजनीबाट साढे दुई मिटर जति तार जलेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगजनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 'अहिले नै कसले आगजनी गर्‍यो भन्ने स्पष्ट भइसकेको छैन। तर विप्लव निकट नेकपा माओवादीले जलाएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ। बाकी अनुसन्धान कै क्रममा छौं,' अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने।

जिल्लामा रहेका अन्य एनसेल टावरमा पनि आगजनी हुनसक्ने भन्दै ती स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

टावरमा बिष्फाेट
नवलपरासी– पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ अम्ररामा रहेको एनसेलको टावरमा शुक्रबार राति बिष्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामीछानेका अनुसार टावरमा आगलागी भएको बताए।
घटनास्थल वरपर पेट्रोल भरिएको सिसा भेटिएको छ। विष्फोटबाट टावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

शुक्रबार राति नौ बजेतिरे टावरमा विष्फोट भएर आगलागी भएपछि टावर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

घटनास्थलमा कुनै पनि पर्चा पम्प्लेट नभेटिएकाले घटना कसले गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्फोटबाट कुनै पनि मानविय क्षति भने भएको छैन। टावर जलेपछि आसपासका क्षेत्रमा एनसेल प्रयोगकर्ता सेवाबाट बञ्चित भएका छन्।

टावरमा आगजनी
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा रहेकेा एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगजनी कसले गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए। उनका अनुसार आगजनी गरिएको क्षेत्रमा 'जय जनता' लेखिएको पर्चा पनि फेला परेकाे छ।

पर्चामा ७२ अर्ब कर नतिरेको, सर्वाेच्च अदालतको फैसला पनि उल्लंघन गरेको कुरा लेखिएको छ। अहिले सांकेतिक कारवाही गरिएको र यसलाई बेवास्ता गरिए कडा कारवाहीमा जान बाध्य हुने पर्चामा लेखिएको छ। पर्चाको अन्तिममा वैज्ञानिक समाजवाद जिन्दावाद, कर छलुवा एनसेल मुर्दावाद भन्दै जय जनताका नाममा हस्ताक्षर पनि गरिएको छ।

नुवाकोटमा पनि आगजनी
नुवाकोट-अज्ञात समूहले विदुर नगरपालिका-२ महामण्डलमा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरेकोछ। ३/४ जनाको समूहमा आएका व्यक्तिले टावर घेरेर राखेको गेटमा ताल्चा फुटाएर मोबिल छेर्केर आगो साढे १० बजे आगो लगाएको स्थानीयवासीले बताएका छन्।

आधा घन्टापछि आगो नियन्त्रणमा आएको थियो। क्षतिको विवरण लिने कार्य भैरहेको भैरवी प्रहरी चौकीले जनाएको छ। उक्त टावर सदरमुकाम विदुरबाट ७ किमी उत्तरपूर्वमा पर्छ।

म्याग्दीमा चार वटा टावरमा आगजनी
म्याग्दी- अज्ञात समूहले शुक्रवार नै म्याग्दीका विभिन्न चार ठाउँमा रहेका एनसेलका रिपिटर टावरमा आगजनी गरेको छ।

समूहले एनसेलको बेनीनगरपालिका–३ भकिम्ली सेले, मंगला गाउँपालिका–३ बरंजाझाँक्रेपानी, रघुगंगा गाउँपालिका–५ झिंको टोड्के र मालिका गाउँपालिका–१ निस्कोटस्थित टावरमा आगो लगाएको प्रहरीले जनाएको छ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटकीय क्षेत्रको आम्दानी समुदायको विकासमा

अर्जुन राजवंशी

सुरुङ्गा, झापा — बिजुली नहुँदा पहिला नारायण माझीको घरमा टुकी बाल्नु पर्थ्यो । तर, दुई वर्षयता यस्तो बाध्यता हटेको छ । नजिकै रहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले उनको घरमा सोलार प्यानल जोडिदिएको छ । 

झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा निर्माण गरिएको झोलुंगे पुल । तस्बिर : अर्जुन/कान्तिपुर 

कन्काई नगरपालिका १ र २ स्थित जामुनखाडी सिमसारले गरिबी न्यूनीकरण तथा सामुदायिक विकासमा वर्षेनी एक करोडभन्दा बढी बजेट खर्च गर्दै आएको छ । जिल्लाको अग्रणी पर्यटकीय स्थलका रूपमा स्थापित जामुनखाडीले आम्दानीको एक तिहाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीयको विकासमा खर्चिने गरेको छ ।

जामुनखाडी सिमसार क्षेत्रमा मासिक २० हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । ०५२ मा दर्ता भएको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहले ०६५ देखि जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालनमा ल्याएको समूहका अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए ।

वन क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गरेपछि उक्त सामुदायिक वन जिल्लाकै उदाहरणीय सामुदायिक वन बनेको छ । पर्यटकीय स्थलबाट मात्र वार्षिक करीब दुई करोड आम्दानी हुने गरेको छ ।

उक्त आम्दानीबाट सामुदायिक वनले आफ्ना उपभोक्ताको घरमा सोलार जडान, गोबर ग्यास निर्माण, औषधि उपचारमा सहयोग, शौचालय, सडक निर्माण, शिक्षा, स्वास्थ्य, विद्युत् विस्तार, खानेपानी, सीपमूलक तालिमलगायतमा वार्षिक करोड बढीको बजेट खर्चिने गरेको हो ।

४३४ हेक्टरमा फैलिएको सामुदायिक वनमा ६ सय ८४ घरधुरीका उपभोक्ता आबद्ध छन् । उनीहरूमध्ये २ सय २१ घरधुरी न्यून तथा एक सय ८५ घरधुरी विपन्न र अतिविपन्न परिवारका छन् । समूहले अतिविपन्न परिवारका उपभोक्तालाई पर्यटकीय क्षेत्रमा दैनिक रोजगारीसमेत दिएको छ ।

पर्यटकीय क्षेत्र आसपासका २० जनाले दैनिक रोजगारी पाएका छन् । सबै उपभोक्ताको घरमा सोलार प्यान जडान गरिदिएको अध्यक्ष सिटौलाले बताए । अतिविपन्न परिवारका लागि शौचालय निर्माण गरिएको छ । उपभोक्ताले वन क्षेत्रबाट नियमित दाउरा तथा आवश्यक मात्रामा काठ समेत सहुलियत दरमा पाउदै आएका छन् ।

सिमसार क्षेत्रले उपभोक्तालाई पछिल्लो पाँच आर्थिक वर्षमा शैक्षिक अनुदानमा १३ लाख २१ हजार एक सय ८८, शौचालय निर्माणमा ११ लाख ३२ हजार ६ सय ४१, गोबर ग्यास निर्माणमा २ लाख ११ हजार ५ सय रुपैयाँ अनुदान दिएको छ । चार आर्थिक वर्षमा गरी सिमसार क्षेत्रले ४६ लाख ३२ हजार ७ सय ४ रुपैयाँ खर्चिएर आसपासको बाटो ग्राभेल गरेको छ ।

उपभोक्ताको चाप रहेको ग्राभेल भएका सडकमा दुई वर्षमा गरी ३२ लाख ९८ हजार ३ सय २५ रुपैयाँ खर्चिर कालोपत्रे गरेको सिमसार कार्यालयका सचिव अम्बरबहादुर चौहानले जानकारी दिए । सिमसारले दुई आर्थिक वर्षमा गरी ३० लाख ८४ हजारको बजेटमा सामुदायिक वनमा आबद्ध सबै उपभोक्ताको घरमा सोलार जडान गरिदिएको छ ।

सिमसारले अतिविपन्न परिवारका सदस्य बिरामी हुँदा तीन आर्थिक वर्षमा गरी ८ लाख २४ हजार उपचार सहायता वितरण गरेको छ । सामुदायिक वन आसपासका सडकको स्तरोन्नतिअन्तर्गत कल्भर्ट मर्मतमा २२ लाख ६४ हजार तथा ढल निर्माणमा ६० हजार खर्च गरेको छ । ती सडकमा १२ लाख ८५ हजार खर्चिएर सडक बत्तीसमेत जडान गरेको सामुदायिक वन समूहका सदस्य दीपक बोहोराले जानकारी दिए ।

पर्यटकीय स्थल तथा वन क्षेत्रबाट चालु आर्थिक वर्षमा तीन करोड ७४ लाख ६६ हजार आम्दानी हुने उपभोक्ता समूहले अनुमान गरेको छ । उक्त आम्दानीमध्येबाट उपभोक्ताको मागअनुसार सडक कालोपत्रे, ग्राभेल, स्तरोन्नति, स्वागत द्वार र खानेपानी सञ्चालन तथा अनुदानका लागि ‘सामुदायिक विकास खर्च’ शीर्षकमा ५७ लाख विनियोजन गरेको छ ।

त्यस्तै उपभोक्ता सीपमूलक तालिम, औषधि उपचारमा सहयोग, स्थानीय विद्यालयलाई शैक्षिक अनुदान, छात्रवृत्ति, कृषि क्षेत्रमा अनुदानलगायत विभिन्न ३२ वटा शीर्षकमा चालु वर्ष ‘गरिबी न्यूनीकरण, सामुदायिक विकास तथा सेवामूलक कार्यक्रम’ अन्तर्गत ४५ लाख ५० हजार विनियोजन गरेको छ ।

‘पर्यटकीय क्षेत्रको विकास भएपछि यहाँका उपभोक्ताले व्यापार, व्यवसाय गरेर जीवनस्तर उकासेका छन । सोलार, शौचालय, बाटाघाटालगायत विभिन्न सुविधाहरू पाएका छौं,’ स्थानीय बुद्धिमान बोहोराले भने । इन्द्रकला मगरले घर नजिकैको पर्यटकीयस्थल तथा वन क्षेत्रबाट पछिल्लो ५ वर्षयता विभिन्न सहयोग पाउन थालेको बताइन् । सिमसार तथा वनले सबै उपभोक्तालाई समान रूपमा सहयोग गरेकाले सिमसार आसपासको विकासका लागि सरकारी निकाय धाउनु नपरेको स्थानीयको भनाइ छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT