कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिव‌ंगत मन्त्री अधिकारीले बुधबार भनेका थिए–'म एकदमै हतारमा छु’

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका–६, चुहानडाँडामा विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सपना अधुरै रह्यो । तीन वर्षभित्र बनाइसक्ने गरी अन्तिम सर्वेका लागि बुधबार अपराह्न चुहानडाँडा आएका मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मगाउँमा विमानस्थल बनाउने सपना अधुरै रहेको हो । 

दिव‌ंगत मन्त्री अधिकारीले बुधबार भनेका थिए–'म एकदमै हतारमा छु’

चुहानडाँडामा बुधबार बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म भएको औपचारिक कार्यक्रम नै अधिकारीको अन्तिम कार्यत्रम बन्न पुग्यो । एकदमै हतारमा छोटो समय सम्बोधन गरेका उनले चुहानडाँडामा विमानस्थल बनाउन प्रधानमन्त्रीको समेत इच्छा रहेकाले ‘चाँडै यहाँबाट हवाईजहाज उड्ने’ बताएका थिए । उनले कार्यक्रममा भनेका थिए, ‘अबको केही वर्षभित्रै काठमाडौं र आठराईको दूरी छोट्टिएर केही घण्टाको मात्र हुनेछ ।’


विमानस्थल निर्माण समितिका उपाध्यक्षसमेत रहेका प्रदेश सांसद तेजमान कन्दङवाका अनुसार मन्क्री अधिकारीले कार्यत्रमलाई सम्बोधन गर्दै अबको तीन वर्षभित्र चुहानडाँडावासीले हवाईजहाज चढेर काठमाडौं पुग्ने बताएका थिए । सांसद कन्दङवा कार्यक्रम स्थलमा मन्त्रीसँगै थिए । अधिकारीले आफ्नै कार्यकालमा विमानस्थल निर्माण सुरु गर्ने बताएका थिए ।


कार्यक्रममै सहभागी आठराई गाउँपालिकाकी उपाध्यक्ष रूपा कन्दङवाले मन्त्री अधिकारी एकदमै हतारमा रहेको बताइन् । ‘म आज एकदमै हतारमा छु, सबैले बोल्न समय छैन, म पनि थोरै कुरा बोल्छु...,’ मन्त्री अधिकारीको भनाइ उदृत गर्दै कन्दङवाले सुनाइन् । अधिकारीले हतार भएको भन्दै आयोजकमध्येका एक जनालाई मात्र बोल्न भनेका थिए । माला खादा लगाउने समयमा समेत ‘छिटो गर्नुस्, आज एकदमै हतार छ’ भनेको उपाध्यक्ष कन्दङवाले बताइन् ।


मन्तव्यमा अधिकारीले प्रधानमन्त्री ओलीको गाउँमा आफ्नै कार्यकालमा जहाज ल्याएर छाड्ने प्रतिबद्धता जनाएको निर्माण समिति सचिव रामचन्द्र थपलियाले बताए । अधिकारीले प्रधानमन्त्रीले पठाएरै आफू आएको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले पठाएरै म आएको हुँ, अब चिन्ता नलिनुस्, चुहानडाँडामा जसरी पनि एयरपोर्ट बन्छ,’ कार्यक्रममा उनले भनेका थिए ।


‘उहाँले ताप्लेजुङ जाने विषयमा कुरा गर्नुभएको थिएन,’ कन्दङवाले भने, ‘काठमाडौं फर्कन हतार छ, भन्नुभएको थियो ।’ मन्त्री अधिकारीले आठराई गाउँपालिकाको इवास्थित ओलीको जन्मघरचाहिँ हेलिकप्टरबाटै भए पनि हेरेर फर्किने बताएको सांसदले जानकारी दिए । ‘प्रधानमन्त्रीको जन्मघर हेलिकप्टरबाटै हेरेर फर्किन्छु, आज हतार छ भन्नुभएको थियो,’ उनले सम्झिए, ‘त्यसको एक घण्टा नबित्दै दुःखको खबर सुन्नुपर्‍यो ।’


विमानस्थलका अलावा जिल्लाको पर्यटन विकास र राष्ट्रिय गौरवका आयोजना चाँडो निर्माणका लागि समेत सक्दो सहयोग गर्ने अधिकारीले बताएका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चुहानडाँडामा प्राविधिकसहितको टोली आएर २९ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण हुने प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा अर्को प्राविधिक टोलीले क्षेत्रफलसमेत बढाएर ८७ करोड रुपैयाँ लागतमा विमानस्थल बन्ने प्रतिवेदन दिएको थियो ।


स्थानीयले २०२८ सालदेखि चुहानडाँडामा विमानस्थल बनाउन माग गर्दै आएका थिए । पछिल्लो समय स्थानीय समाजसेवी लक्ष्मीनारायण उप्रेतीको अध्यक्षतामा स्थानीयले समिति गठन गरेरै विमानस्थल निर्माण अभियान थालेका थिए ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?