कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकारका गौरवका ९ सडक

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले ९ वटा सडक आयोजना निर्माण गर्ने निर्णय गर्दै ती सडक गौरवका हुने बताएको छ । ती सडकले भारत र चीनको सीमा नाका जोड्नेछन् । 

भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका अनुसार कैलालीको चिसापानीदेखि हुम्ला सिमकोट भएर उत्तर चीन जोड्ने सडक सञ्जाललाई गौरवको योजनाभित्र राखिएको छ । उक्त सडक अछामको जंगलघाट, तुर्माखाद, गैरटाड, कालागाउँ, दर्ना, माझठाना, जयगढ, नन्देगडा, मेल्लेक षोडशा, ऋषिदह हुँदै बाजुराको बडिमालिका भएर हुम्ला पुग्नेछ ।


त्यस्तै, कञ्चनपुरको दैजी, बेतकोट, डडेलधुराको जोगबुढा, चिरकट्टे, घटाल, बेलापुर र बझाङको ढुंगाड हुँदै उत्तर चीनको नाका जोड्ने प्रादेशिक गौरवको अर्को सडक योजना सुरु गर्ने निर्णय पनि भएको छ । दार्चुलाको देउथला, खार, खलंगा, लठिनाथ, पारीबगर, खण्डेश्वरी हुँदै उत्तर चीन नाका छुने सडक योजना रहेको छ ।


बाजुराको खप्तड, मार्तडी, सिंगडाकाँडा, जयबागेश्वरी, गैरीखाद, डोगडी, आँटीचौर हुँदै कर्णाली प्रदेशको उत्तर नाका जोड्ने सडकलाई लिंक गर्ने गरी अर्को गौरवको योजनाको निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । बैतडीको सतबाँझ, श्रीभावर हाट हुँदै दार्चुला प्रवेश गर्ने अन्तरजिल्ला लिंक सडकलाई समेत प्रदेश सरकारले गौरवको योजनाभित्र पारेको छ । डोटी दिपायलदेखि बझाङको साइपाल र कैलालीको सहजपुर बोगटान, दिपायल, कञ्चनपुरको बेलौरी, कलुवापुर, नाइल बुडर सडक, कैलालीको भजनी छोटी भन्सारदेखि खिमडी, ठूलीगाड गौरवका सडक हुन् ।


बहुवर्षीय योजनाअन्तर्गत निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले प्रादेशिक गौरवका ९ ठूला सडकको छनोट गतसाता बसेको प्रदेशको मन्त्रीस्तरीय बैठकले गरेको हो । चालु वर्षमा केन्द्र सरकारले ससर्त अनुदानमा दिएको प्रदेशअन्तर्गत ३०५ वटाको २१ करोड रकमसमेत प्रदेश गौरवका सडकमा रकमान्तर गरिने भएको छ । प्रदेश सरकारले साढे ४ करोड डीपीआरका लागि विनियोजन गरेको छ ।


भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकारका ९ गौरवका सडक योजना जिल्लाको आर्थिक मेरुदण्ड बन्ने विश्वास गरे । ‘उत्तर र दक्षिणको सडक सञ्जाललाई लिंक गर्ने ९ गौरवका सडकले भारत र चीनको अन्तर्राष्ट्रिय नाकालाई समेत खोल्नेछ,’ उनले भने । २ लेनमा निर्माण हुने ती सडकको खण्ड–खण्ड निर्माण भइसकेकाले ५ वर्षभित्रै काम सकिने उनले दाबी गरे ।


मन्त्री बोहराका अनुसार कञ्चनपुरको दैजीदेखि जोगबुढा सडक पिच गर्ने योजनामा छ । जोगबुढा र सलौनसम्म ट्र्याक खुलेको छ । डडेलधुराको घटालदेखि चिरकट्टेसम्म ट्र्याक खुलेको छ । चिरकट्टेदेखि सलौनसम्म भने बाँकी छ । डडेलधुराको पोखारादेखि बेलापुरसम्म ट्र्याक खुलेको छ । बेलादेवपुरदेखि बझाङ–ढुंगाडको मात्रै ट्र्याक खोल्न बाँकी छ ।


उनले यो योजना ३ वर्षभित्र पूरा हुन सक्ने बताए । ट्र्याक खुलिसकेको सडकको स्तरोन्नति गर्दै योजनालाई पूरा गरिन लागेको बताए । प्रादेशिक गौरवका योजना सडकको कामलाई उच्च प्राथमिकतामा राखेर काम सुरु गरिने बताए । ‘केन्द्र सरकारको प्रदेशअन्तर्गतका योजनाको २१ करोड रकम पनि त्यसैमा हालेका छौं,’ उनले भने, ‘जिल्लाका साना ३०५ सडक योजनामा २१ करोड दामासाहीले बाँड्दा कुनै पनि योजना पूरा नहुने भएकाले गौरवका ९ योजनामै रकम हाल्ने निर्णय गरिएको हो ।’

प्रकाशित : फाल्गुन १७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?