कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीभीआइपी सवारीको दुख: जनतामा धैर्यको बाँध फुटेपछि....

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।

भीभीआइपी सवारीको दुख: जनतामा धैर्यको बाँध फुटेपछि....

मंगलबार साँझ पनि उही प्रकृतिको समस्या दोहोरियो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सैनिक मुख्यालय भद्रकाली जाने कार्यक्रमले ।

शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपथबाट उपराष्ट्रपति नन्दबहादुर पुन र बालुवाटारबाट प्रधानमन्त्री केपी ओली पालैपालो नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन सैनिक मुख्यालय भद्रकाली जानका लागि एक घण्टाभन्दा बढी सवारी साधन रोकिए ।

खानी विभाग, लैनचौर, केशर महल र राजदरबार संग्राहलयको दक्षिण गेट, भद्रकाली क्षेत्रमा साँझको बेला झन्डै पौन घण्टा सडक जाम हुँदा सर्वसाधारणले अरु बेलाझैं सहेनन् । मोटरसाइकल चालकहरुले बाटो खोल्न आग्रह गरी पटक पटक हर्न बजाए तर ट्राफिक प्रहरीले अनुमति दिएन । दिन मिल्ने अवस्था थिएन ।

त्यसकै बीच 'म्याजिक लाइट' देखाउँदै ट्राफिकले फुकेको सिट्ठीको बेवास्ता गर्दै दरबारमार्गमा रहेका मोटरसाइकलमा रहेका एक युवा जबरजस्ती अघि बढे । उनका पछि पछि अरु मोटसाइकल, स्कुटर, ट्याक्सी र अन्य सवारी साधन हुरुरु अघि बढे । त्यसपछि ट्राफिक प्रहरीले सवारी रोक्न सक्ने अवस्था नै रहेन । दरबारमार्गजस्तै खानी विभाग, लैनचौर, केशरमहललगायत क्षेत्रमा अवज्ञा गरी सवारीसाधन गन्तव्यतर्फ अघि बढे ।

लामो समय सवारी रोकिँदा सास्ती भोग्नुपरेको भन्दै उनीहरुले अवज्ञा गरेका हुन् । तर, ट्राफिक प्रहरीले सर्वसाधारणले अवज्ञा गरेको नभई होहल्ला मात्र गरेको प्रतिक्रिया दिए । ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त भन्छन्, 'हल्लामात्र गरेको हो, अवज्ञा होइन ।'

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । अवज्ञाको पक्षमा ठूलो पंक्ति उभिएका छन् ।

सुरक्षाको नाममा विशिष्ट व्यक्ति ओहोरदोहोर गर्दा हुने सवारी जाममा कतिपय बेला एम्बुलेन्ससमेत पर्ने गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पनि 'राजकीय शैली' मा 'ठूला व्यक्ति'हरुको सवारी हुनु सुहाउँदो नभएको सर्वसाधारणको गुनासो छ । यही भिडियोमा देखिएको दृष्यको पक्षमा बुधबार दिनभर सामाजिक सञ्जाल तातियो ।

राजनीतिक विश्वलेषक एवं प्राध्यापक सुरेन्द्र केसीले जनताको पीरमर्का बुझेर राजनीतिक नेतृत्वले व्यवहार प्रदर्शन गर्न नसकेकोमा यस्तो अवस्था आएको बताए । 'लोकतन्त्र जनताका लागि हो, जनतालाई दु:ख दिन होइन' उनले भने, 'राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पटक पटक यस्तो आलोचना भइरहेको छ । यस घटनाप्रति म खेद प्रकट गर्दछु ।'

प्रकाशित : फाल्गुन २२, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?