कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एयरबसको इन्जिन ठेक्का रोकियो

सुरज कुँवर

काठमाडौँ — चारवटा एयरबस (दुइटा न्यारोबडी/दुइटा बाइडबडी) को मर्मत–सम्भार तथा इन्जिन भाडामा लिन नेपाल वायुसेवा निगमले आह्वान गरेको बोलपत्रमा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको मूल्य अन्तर देखिएको ठहर गर्दै संघीय संसद्को सार्वजनिक लेखा समितिले ठेक्का पुरस्कृत कार्य स्थगन गर्न निर्देशन दिएको छ । 

एयरबसको इन्जिन ठेक्का रोकियो

समितिले वाइडबडीको कम्पोनेन्ट सप्लाई र इन्जिन ठेक्का छनोट प्रक्रियाबाट बाहिरिएको कम्पनीलाई फेरि समेट्न तथा न्यारोबडीको रद्द गरिएको टेन्डरलाई सुचारु गर्न सोमबार निर्देशन दिएको हो । यो निर्णयबाट निगमले चारवटा प्रस्तावकमध्ये बेलायती कम्पनी एजे वाल्टरसँग गरेको सम्झौता खारेज हुने भएको छ भने सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने बेलायती कम्पनी लुफ्थान्सा टेक्निक ठेक्का प्रक्रियामा समेटिने भएको छ ।


लुफ्थान्साको प्रस्ताव कानुनसम्मत नभएको कारण देखाउँदै निगमले यसलाई छनोट प्रक्रियाबाट हटाएर १ अर्ब ५३ करोड बढी प्रस्ताव गर्ने बेलायती कम्पनी एजे वाल्टरसँग ६ वर्षका लागि ठेक्का सम्झौता गरेको थियो । वाल्टरसँग मंसिरमा गरिएको सम्झौतामा चारमध्ये दुइटा वाइडबडी विमानका लागि पावर–वाई–आवर (भाडाको समयको मात्रै भुक्तानी दिने विधि) का आधारमा कम्पोनेन्ट सपोर्ट सर्भिस लिने उल्लेख थियो ।


निगमको यो निर्णयविरुद्ध लुफ्थान्साको नेपाली एजेन्ट कम्पनीले सार्वजनिक लेखा समितिमा पुस ३० मा उजुरी दिएको थियो । यसबारे निगमका कार्यकारी अध्यक्ष मदन खरेलसहित कर्मचारीलाई बोलाई समितिले दुई साताअघि छलफल गरेको थियो । खरेलले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै टेन्डर प्रक्रिया यथावत् राख्न निर्देशन दिएको समितिले दुई सातापछि यस्तो निर्णय गरेको हो ।


‘लुफ्थान्सा टेक्निकको प्रस्ताव प्रभावग्राही देखिएको छ,’ समिति सचिव रोजनाथ पाण्डेले निर्णय सार्वजनिक गर्दै भने, ‘निगमले लुफ्थान्सासँग पत्राचारबाट मागेको थप प्रस्ताव मितव्ययी भएको तथा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र निगमको आर्थिक नियमावलीअनुरूप देखिएकाले लुफ्थान्साको प्रस्तावलाई मूल्यांकनमा समावेश गर्नू ।’


एयरबस मर्मत, सम्भार तथा इन्जिन भाडामा ल्याउन असारमा आह्वान गरिएको ग्लोबल टेन्डरमा अमेरिकी कम्पनी एएआर कर्पोरेसन, बेलायती कम्पनी एजे वाल्टर एभिएसन, जर्मनको लुफ्थान्सा टेक्निक र सिंगापुरको एसटी एरोस्पेस सप्लायर्स सहभागी थिए । लुफ्थान्साले सबैभन्दा सस्तो प्रस्ताव पेस गरेको थियो ।


त्यस्तै निगमले दुइटा न्यारोबडी ३२० विमानको बढीमा ६ वर्षसम्मका लागि ओभरहल र इन्जिन मर्मतका लागि टेन्डर आह्वान गरेको थियो । लेखा समितिका अनुसार त्यसमा पनि यी चारवटै कम्पनीले प्रस्ताव पेस गरेका थिए तर निगमले आफ्नै आर्थिक विनियमावलीको कारण देखाउँदै ठेक्का छनोट प्रक्रिया बदर गरेको थियो ।


निगम सञ्चालक समिति सदस्य अच्युत पहाडीले निगमको विनियमावलीको धारा २१८ र २२३ मा बेग्लाबेग्लै व्याख्या गरिएकाले एयरबस ३२० को ठेक्का अघि नबढाइएको समितिमा जानकारी गराएका थिए । उनले यसमा लुफ्थान्साको प्रस्तावले निगमलाई वर्षिक २७ करोड नाफा हुने दाबी गरे । निगमले वाडडबडीको ठेक्कामा ६ वर्षको समयसीमा राखेको छ । जसमा २ वर्ष समय थप्न सकिने प्रावधान छ । त्यस्तै न्यारोबडीमा ४ वर्षको समयसीमा हो । यसमा पनि प्रस्तावकको पर्फमेन्सअनुसार २ वर्ष समय बढाउन सकिने प्रावधान राखिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?