कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वप्रमुख आयुक्तको नाममा बक्यौता

कान्तिपुर संवाददाता

काभ्रे — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतको नाममा जिल्ला सहकारी संघमा बक्यौता देखिएको छ । संघका पूर्व व्यवस्थापक रहेका बस्नेतसँग ३ हजार १ सय ७३ रुपैयाँ पाउनुपर्ने हिसाब भन्दै लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । 

साझा संस्थाको रूपमा स्थापना भएको जिल्ला सहकारी संघमा सहकारी इन्स्पेक्टर पदका सरकारी कर्मचारीले नै संघको व्यवस्थापन र प्रशासन चलाउने गर्थे । ‘सहकारी इन्स्पेक्टरको रूपमा बस्नेत संघमा कार्यरत हुनुहुन्थ्यो,’ संघका पूर्व अध्यक्ष कुलचन्द्र अधिकारीले भने, ‘अनियमितता गरेको पैसा हैन होला, केही गर्दा उहाँको नाममा रकम बाँकी रहेको हुन सक्छ ।’


संघका पूर्वअध्यक्ष सोमप्रसाद हुमागाँईले बस्नेतको घर ठेगाना नखुलेकोले बक्यौता उठाउनका लागि पत्र लेख्न नसकिएको बताए । ‘उहाँको घर ठेगाना नै पत्ता लागेन । सोही कारण पत्र पठाउन सकिएन,’ हुमागाँईले भने, ‘ती सबै बेरुजु भएका पैसा हुन्, मेरो कार्यकालमा पहल गर्दा केही रकम उठेको पनि थियो, बाँकी पैसा उठाउन सकिएन ।’


संघका पूर्वअध्यक्ष अधिकारीको नाममा पनि ६९ सय रकम बक्यौता छ । राष्ट्रिय सहकारी बैंक लेखा समितिका पूर्व संयोजकसमेत रहेका अधिकारीले के आधारमा बक्यौता रहेको जानकारी नभएको बताए । ‘सहकारी संघ काभ्रेको लागि ठूलो योगदान गरेको छु, के आधारमा बक्यौता रह्यो थाहा भएन,’ अधिकारीले दाबी गरे, ‘सहकारी संघले बरु हामीलाई दिनुपर्नेछ, तालिम, गोष्ठीका धेरै पैसा सहकारी संघलाई छोडेको छु ।’


जिल्ला सहकारी संघको पछिल्लो लेखा परीक्षण समावेश भएको वार्षिक प्रगति प्रतिवेदनमा १५ लाख १८ हजार २ सय ८८ रुपैयाँ ‘विभिन्न पार्टीसँग पाउनुपर्ने हिसाब’ उल्लेख छ । कुनै समय मल, बीउ, दाना, खाद्यान, पेट्रोलियम पदार्थसमेतको कारोबार गर्दै आएको संघका पूर्व कर्मचारी, सरकारी कार्यालय, संस्थान र बिक्रेताहरूसँग पैसा उठाउन बाँकी रहेको छ ।


प्रतिवेदनअनुसार, कृषि सामग्री संस्थानको अञ्चल कार्यालयले ३३ हजार ९ सय ८८, कृषि विकास बैंकले २३ हजार ४ सय ७१, नेपाल दूरसञ्चार संस्थानले ५५ सय, जिल्ला प्रशासन कार्यालयले ५ हजार, नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको ४ हजार १६, नेपाल आयल निगमले २ हजार र नेसनल ट्रेडिङ लिमिटेडले १ हजार रुपैयाँ तिर्न बाँकी भएको प्रतिवेदनमा उल्लेख छ ।


काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष रहेका इन्द्रप्रसाद अधिकारीको नाममा पनि २० हजार १ सय ८६ रुपैयाँ बक्यौता देखिएको छ । जिल्ला संघका पूर्वव्यवस्थापक रहेका उनले सञ्चालकले सामान लगेर पैसा नतिरेपछि आफ्नो नाममा बक्यौता राखिदिएको दाबी गरे । ‘संघले व्यापारिक कारोबार गर्दै आएकोमा सामान नबिकेपछि सञ्चालक सोमप्रसाद दाहाल (भीमसेन) र उनको संस्थाले पैसा तिरेन, जागिर छोड्ने बेलासम्म नतिरेपछि मेरो नाममा बक्यौता देखाइयो,’ अधिकारीले भने, ‘बक्यौताको बारे मसँग कुनै छलफल, सोधपुछ केही भएको छैन, अनियमितता नगरेकोले शिर ठाडो पारेर कुरा गर्न सक्छु ।’

२० वर्षअघि देखिको हिसाब प्रत्येक वर्ष लेखा परीक्षण प्रतिवेदनमा पाउनुपर्ने भन्दै सर्दै आए पनि जिल्ला सहकारी संघसँग आवश्यक कागजपत्र भने छैन । सम्बद्ध स्रोतका अनुसार, २०३९–४० सालमा जिल्ला सहकारी संघमा आगलागी भएको भन्दै ती बिलभर्पाइहरू नष्ट गरिएका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?