दिल्ली दूतावासको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन

देवेन्द्र भट्टराई

काठमाडौँ — दिल्लीस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गरिएको छ । नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुधबार बुझाएको ओहोदाको प्रमारणपत्र बारेको विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण उल्लेख छ ।

दिल्ली नियोग हुँदै परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीका तर्फबाट’ एकसाथ शुभेच्छाको सन्देश व्यक्त गरिएको छ।

Citizen

यसअघि, गत पुस १० मा इन्डानेसियामा आएको सुनामीका कारण ठूलो जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डानेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पठाएर प्रेस विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिको सर्वत्र निन्दा भएपछि र पररष्ट्रको ‘कपी–पेष्ट’ कार्यशैलीमा प्रश्नचिह्न उठेपछि परराष्ट्र मन्त्रीको निजी सचिवलायले क्षमायाचना गर्दै विज्ञप्ति सुधारेको थियो। उक्त गम्भीर त्रुटीबारे छानबिन गरिने र सम्बद्ध अधिकारीलाई कार्यबाही गरिने भनिएपनि उक्त घटनामा कुनै छानबिन भएको जानकारी बाहिर आएको छैन।

परराष्ट्रको उक्त कार्यशैली सेलाउन नपाउँदै दिल्ली दूतावासबाट ‘प्रधानमन्त्री केपी शर्मा ओली’ लाई राष्ट्रपति सम्बोधन गरेर विज्ञप्ति जारी गरिएको हो।

प्रकाशित : फाल्गुन ३०, २०७५ १८:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मलेसिया र सिङ्गापुरका लगानीकर्तालाई नेपालमा निम्तो

कान्तिपुर संवाददाता

क्वालालम्पुर — नेपाली अधिकारीहरूले मलेसिया र सिङ्गापुरका व्यवसायी तथा लगानीकर्ताहरूसँग भेट गरी काठमाडौँमा हुन लागेको लगानी सम्मेलनमा सहभागिता हुन निम्तो दिएका छन् ।

यही मार्च २९ देखि आयोजना हुन लागेको दुई दिने लगानी सम्मेलन नजिकिँदै गर्दा मङ्गलवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा नेपाली अधिकारीहरूले मलेसियाका व्यवसायी, लगानीकर्ता कम्पनीलगायतलाई नेपालमा लगानी गर्ने सही समय आएको भन्दै निम्तो गरेका हुन् ।

कार्यक्रममा नेपाली राजदूत उदयराज पाण्डेले नेपालमा ठुलो बहुमतसहितको सरकार रहेको साथै भारत र चीनजस्ता विश्वकै द्रुत गतिका उदीयमान बजारको निकट रहेकाले जलविद्युत, पर्यटन र पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न उपयुक्त समय आएको भन्दै सहभागीहरूलाई निम्तो दिए । उनले मुलुकमा तीन करोड जनसङ्ख्या रहकोले उक्त आन्तरिक बजारबाट समेत लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले नेपालमा पछिल्लो समय वैदेशिक लगानी आकर्षित गर्न भइरहेका प्रयास, नीतिगत एवं कानुनी सुधार र लगानी सम्मेलनबाट हुने लाभबारे जानकारी दिए ।

लगानी सम्मेलनमा मलेसियाबाट सहभागिता जुटाउन अर्थ मन्त्रीका सल्लाहकार रामशरण खरेलको नेतृत्वमा लगानी सम्मेलनको प्रबर्द्धनार्थ मलेसिया र सिङ्गापुरका लागि आएको नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका प्रतिनिधिहरू सम्मिलित छन् ।

नेपालमा हाल पिउने पानी, पर्यटन र अटो ईन्डस्ट्रिज् तथा कतिपय पूर्वाधार विकासलगायत आधा दर्जन क्षेत्रमा मलेसियनको लगानी छ । यद्यपि नेपालले मलेसियाबाट पर्याप्त लगानी भित्र्याउन सकिरहेको छैन ।

नेपाली प्रतिनिधि मण्डलले मलेसियाको लगानी प्रवर्द्धनसम्बन्धी निकायहरू मलेसिया लगानी विकास प्राधिकरण (एमआईडिए), पर्फमेन्स म्यानेजमेन्ट डेलिभरी युनिट (पेमाडु) र अर्थमन्त्रालयलगायतका प्रतिनिधिहरुसँगसमेत भेट गरी लगानी सम्मेलनबारे जानकारी गराएको छ ।

मलेसियाको लगानी विकास प्राधिकरणले मलेसियासहित तान्जानिया, दक्षिण अफ्रिका, ओमान, भारतको आन्ध्र प्रदेश र महाराष्ट्रमा समेत ठुला परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा मलेसियाका व्यवसायी, लगानीकर्ता कम्पनीका प्रतिनिधि, विश्व बैङ्कका प्रतिनिधि, नेपाल मलेसिया बिजनेश काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT