कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मगर गाउँमा ‘मही जाप्च’

माधव अर्याल

(भीरपानी, पाल्पा) — हरेक दिन डेढ घण्टा लगाएर पानी ओसार्नु, घाँस काट्नु अनि दाउरा बोक्नु । दुर्गमको विपन्न बस्तीमा यी दुःख बेसाउने यसपालि नयाँ अनुहार छन् । यसैलाई उनीहरू सुख मानिरहेका छन् । भन्छन्– ‘निकै रमाइलो लागिरहेको छ, हाम्रोमा यस्तो कहाँ पाउनु ?’

मगर गाउँमा ‘मही जाप्च’

निस्दी गाउँपालिकास्थित मित्यालको भीरपानी बस्ती । सदरमुकाम तानसेनबाटै गाडीमा ४ घण्टा लाग्छ । यही बस्तीमा १० दिनदेखि जापानका ३५ तन्नेरी गाउँले जीवन सिक्दै छन् । मगर गाउँका केटाकेटी, बूढाबूढी, अधबैंसेसँग रमाएका छन् ।


‘म दुई वर्षअघि पनि यही गाउँ आएकी थिएँ,’ साइतो सोयाले भनिन्, ‘त्यतिबेला २ कोठाको विद्यालय भवन बनाएर गयौं ।’ अहिले उनीहरूको लक्ष्य ११ वटा गोबरग्यास प्लान्ट बनाउन सघाउनु हो । त्यसका लागि हरेक दिन १० देखि ५ बजेसम्म खटिएर खाल्डा खनिरहेका छन् । प्रत्येक घरलाई गोबरग्यासका लागि १५ हजार नगद दिने घोषणा गरेका छन् । ‘जापानमा यस्तो काम कहिल्यै गरेका थिएनौं,’ अर्की विद्यार्थी मिसिमा रिहोकोले भनिन्, ‘कलेजमा गएर साथीहरूसँग अनुभव साट्दा निकै खुसी लाग्छ ।’ उनीहरूका अनुभवमा जापानमा यस्तो खटाइ दैवीप्रकोप आउँदा मात्र हुन्छ ।


स्थानीय रहनसहन मात्र होइन, खानेकुरा पनि नौला छन् यी विद्यार्थीलाई । ‘भुटेको मकै, कोदोको रोटी अनि मही जाप्च (मगरभाषामा मीठो) लाग्यो,’ रिहोकोले भनिन् । नेपाली समाज, संस्कृति र भाषा बुझ्न उत्साही उनीहरूलाई इन्टरनेसनल भोलेन्टियर युनिभर्सिटी अफ स्टुडेन्ट एसोसिएसन (इभुसा) ले यहाँ ल्याएको हो । संस्थाका प्रतिनिधि सुतोमु यामाजाकीका अनुसार प्रत्येक २ वर्षमा विद्यार्थीलाई विभिन्न देश लगेर त्यहाँको संस्कृति, रहनसहन सिकाइन्छ । ‘हामी संस्थाबाट समाजसेवा गर्न र गाउँले जीवन बुझ्न चाहनेहरूलाई सूचना आह्वान गर्छौं,’ उनले भने । संस्थामार्फत खानेपानी योजना, सिंचाइ कुलो, विद्यालय भवन, गोबर ग्यासलगायतमा श्रमदान र नगद सहयोग हुँदै आएको छ । ‘जापानको सहरमा बसेर विद्यार्थीले यस्तो परिवेश कहिल्यै सिक्न पाउँदैनन्,’ यामाकाजीले भने, ‘त्यसैले जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) को सल्लाहमा यहाँसम्म विद्यार्थी ल्याउने गरेका हौं ।’


नेपाल आएपछि समाज बुझेको फुकुत सोताले बताइन् । उनी दोस्रोपटक आएकी हुन् । ‘मगर भाषा, जाँड, रक्सीजस्ता कुरासँगै यहाँको रहनसहन अध्ययन गरेका छौं,’ उनले भनिन्, ‘जापानमा कक्षाकोठा र सहरमा सीमित हुँदा केही बुझेका रहेनछौं ।’ यो सिकाइले नयाँ ठाउँ र परिवेशमा घुलमिल हुन, जीवनमा आइपर्ने समस्या समाधान गर्ने ज्ञान मिलेको विद्यार्थीहरूको अनुभव छ । ‘यी काम गर्न पाउँदा हातमा उठेको घाउ पनि सन्चो भएको छ,’ इमाइसी ताकुमाकाले भने, ‘हामी सबै जना धेरै खुसी छौं ।’


कतिपय जापानी विद्यार्थी दोहोर्‍याएर पनि आउने गरेको गोरखनाथ आधारभूत विद्यालयका शिक्षक पूर्णबहादुर सोमैले बताए । ‘दुई वर्षअघि आउनेले हाम्रो विद्यालयमा २ कोठे भवन बनाउन सघाएका थिए,’ उनले भने ।

स्थानीय ताराबहादुर थापाको बुझाइमा जापानी विद्यार्थी निकै मिजासिला छन् । स्थानीयकै घरमा बस्छन्, काममा सघाउँछन् । हरेक कुराको सकारात्मक विश्लेषण गर्छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?