कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैलुङ–स्याफ्रुबेंसी सडक खुल्यो

बलराम घिमिरे

(रसुवा) — ९ महिनादेखि बन्द मैलुङ–स्याफ्रुबेंसी सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएपछि यो सडक सञ्चालनमा आएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोधकुमार देवकोटाले सडकमा अब साना गाडी चलाउन सकिने बताए । ‘केही ठाउँमा मोड फराकिलो बनाउने काम बाँकी छ, ठूला गाडी चल्न केही दिन लाग्छ,’ उनले भने । 

नेपाली सेनाले निर्माण गरेको उक्त खण्डको लम्बाइ करिब १७ किमि छ । पहिरो पन्छाउन नसक्दा उक्त खण्डमा गत बर्खादेखि नै आउजाउ बन्द भएको थियो । सडक आयोजनाले गत पुस अन्तिम साताबाट अवरोध पन्छाउन थालेको थियो । चट्टान फुटाउन समयमै विस्फोटको अनुमति नपाउँदा सडक सञ्चालन गर्न केही महिना ढिला भएको आयोजनाले जनाएको छ ।


भूकम्पपछि तातोपानी नाका बन्द भएकाले चीनबाट हुने धेरैजसो आयात–निर्यात २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको छ । राजधानीबाट रसुवागढी नाका पुग्न छोटो दूरीको सडक बनाउने सरकारको योजनाअनुसार यो सडकको निर्माण सुरु गरिएको हो । पछिल्लो समय नाकाको भौतिक संरचनाको विकासमा चीनले चासो दिएपछि गल्छी–रसुवागढी सडक खण्डलाई तीन भागमा विभाजन गरेर निर्माणलाई तीव्रता दिइएको छ ।


पहिलो खण्ड गल्छी–मैलुङ ४६ किमि सडक निर्माण भइरहेको छ । आयोजना प्रमुख देवकोटाका अनुसार उक्त सडक खण्डको ३९ प्रतिशत निर्माण पूरा भएको छ । मैलुङ–स्याफ्रुबेंसी सडक दोस्रो खण्ड हो । मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने काम पनि सकिएको छ । पहिरोले सडकमा थप क्षति गरेपछि गत असारमा तयार पारिएको डीपीआर संशोधन गरिएको हो । ‘सडकको लागत इस्टिमेट तयार गर्ने काम भइरहेको छ,’ देवकोटाले भने, ‘अब अर्थ मन्त्रालयसँग सहमति लिएर सडक स्तरोन्नति गर्न अर्को सातादेखि टेन्डर प्रक्रिया सुरु गर्छौं ।’


सडकको अन्तिम खण्ड १६ किमिको स्याफ्रु–रसुवागढी खण्ड चीनले बनाउने सहमति छ । त्यसअनुसार आगामी जुलाईबाट निर्माण सुरु गर्ने लक्ष्य छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अबको २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने आयोजनाले जनाएको छ । रसुवागढीदेखि गल्छीसम्मको दूरी करिब ८२ किमि छ । गल्छी–काठमाडौंको दूरी ४७ किमि छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किमि पार गर्नुपर्छ । बेत्रावती मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किमि छ ।


यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किमि छोटो हुनेछ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुने आयोजना प्रमुख देवकोटाले बताए । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब २ सय ३० किमि हुन आउँछ । नेपालको रसुवागढी–केरुङ दूरी २४ किमि छ ।


प्रकाशित : चैत्र १, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?