कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोइङ लिलामको फाइल घुमेको घुम्यै

काठमाडौँ — नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ । 

‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको बैठक जहाज लिलाम गर्न फेरि डरायो । ‘हामीले फेरि मन्त्रालयको सहमतिका लागि निर्णय गर्‍यौं,’ समिति स्रोतले भन्यो, ‘तालुक मन्त्रालयको सहमतिका लागि बोर्डले गरेको यो तेस्रो निर्णय हो ।’ केही महिनायता बोइङ लिलामका लागि सहमति माग्ने निर्णय गर्दै निगमले फाइल पठाउने र मन्त्रालयले निगमकै नियम उद्धृत गर्दै बोर्डकै अधिकार भएकाले मन्त्रालय नपठाउनु भन्नेक्रम चल्दै आएको छ ।


निगम र मन्त्रालयबीच यस्तो दोहोरी हुनुको कारण निगमका दुइटा वाइडबडी विमानको खरिद प्रकरण हो । सार्वजनिक लेखा समितिले बाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै २०६९ सालयता निगमको बोर्डलगायत खरिदमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न ६० भन्दा बढी मन्त्री, सचिव, कर्मचारी, पदाधिकारीको नामावली प्रकाशित गरेपछि सञ्चालक समितिले लिलामको निर्णय लिन नसकिरहेको हो ।


‘निगमको बोर्डका पूर्वअध्यक्ष तथा तत्कालीन पर्यटन सचिव कृष्ण देवकोटाले मन्त्रिपरिपद्मै पठाउने भन्नु भएको थियो, तर उहाँकै सरुवा भएपछि फेरि नयाँ सचिवको रायका लागि मन्त्रालय पठाउने निर्णय गरेका हौं,’ निगमको बोर्डका एक सदस्यले कान्तिपुरसँग भने ।


निगमले दुइटा न्यारोबडी एयरबस ३२० ल्याएपछि ३१ वर्ष पुरानो अमेरिकी बोइङ ७५७ लिलामको घोषणा गरेको थियो । यस्तो घोषणा भएको पनि ५ वर्ष बितिसकेको छ । यो बीचमा ६ महिनाअघि ‘कर्णाली’ नाम दिइएको एउटा बोइङ १४ लाख ६० हजार डलरमा लिलाम भयो । उक्त बोइङ बीबी एयरवेजले खरिद गर्‍यो । तर, हालसम्म पुरै स्वामित्व हस्तान्तरण भइसकेको छैन । हाल लिलामका लागि राखिएको बोइङ कात्तिक ११ पछि व्यावसायिक उडानमा आएको छैन ।


अन्तर्राष्ट्रिय उडानमा चारवटा एयरबस र एउटा बोइङसहित निगमसँग पाँचवटा जेट विमान छन् । १ सय ९० यात्रु क्षमता भएको यो एक मात्र बोइङका लागि निगमसँग हाल ६ जना वरिष्ठ पाइलट छन् । यो विमान पछिल्लो पटक ‘ब्याकअप’ का रूपमा प्रयोग हुँदै आएको थियो । अहिले उडानमा रहेका चार एयर बसमध्ये कुनै ग्राउन्डेड हुँदा वा कुनै विमान ढिला हुँदा यसलाई उडानमा पठाइन्थ्यो । यसबाहेक यो बोइङलाई निगमले हङकङ र दुबईबाहेक प्रायः सातामा ३/३ दिन भारतको बैंग्लोर र थाइल्यान्डको बैंकक उडाउँथ्यो ।

प्रकाशित : चैत्र २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?