कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सडकले बिगार्‍यो सडक

पक्की मोटरबाटोको माथिल्लो भेगमा डोजर/एक्साभेटरले मनलाग्दी सडक खन्दा झरेको ढुंगामाटोले कालोपत्रे बाँकी रहेनन्
आश गुरुङ

लमजुङ — काठमाडौं र पोखरा जाने बेंसीसहरबाट ५ किलोमिटर पर गैरी र मनकामनाको पिच सडकलाई नरुवल र पाखाथोकलगायत गाउँ जान बनाइएको कच्ची सडकले बिगारेको छ । उदिपुरको रामादी नजिकै माथिल्लो गाउँ जाने कच्ची सडक बाढी र बाढीले ल्याउने ढुंगामाटोका कारण बिग्रिएको हो ।

सडकले बिगार्‍यो सडक

भोटेओडार नजिकै कुँवर गाउँतर्फको बाटोले पिच सडक बिगारेको छ । बेंसीसहर–डुम्रे खण्डको बेंसीसहर–पाउँदी खण्डका यी उदाहरणमात्रै हुन् ।


बेंसीसहरबाट घलेगाउँ जाने चोकमा कच्ची सडकबाट आउने बाढी र ढुंगामाटोले पिच सडकमा क्षति पुर्‍याएको छ । चण्डिस्थान जाने बाटोले पनि बेंसीसहरमा सडक बिगारेको छ । गाउँ लाने भन्दै जथाभावी खनिएका सडकले यसअघि बनिसकेका सडकमा क्षति पुर्‍याएका धेरै उदाहरण पाइन्छ जिल्लामा । पिच सडकबाट माथिल्ला गाउँ जाने सडक निर्माण क्रममा सावधानी नअपनाउँदा प्रायः सबैजसो मुख्य सडक बिग्रिएका छन् ।


लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार व्यक्तिगत बाटो लाने, कुनै फर्मका लागि जथाभावी ट्रयाक खोल्दा सडकले नै सडक कुरुप बनाएको छ । ‘अहिले गाउँगाउँमा जथाभावी बाटो खनिएका छन् । ती बाटाका लागि कुनै इन्जिनियर आवश्यक पर्दैन,’ उनले भने, ‘भिरालो ठाउँमा मूल सडकबाटै शाखा जथाभावी खोलिएका छन् । बनेको सडक भत्किएका छन् ।’ पृथ्वी राजमार्गको तनहुँ डुम्रेदेखि बेंसीसहरसम्म ‘सिंगल लेन’ कालोपत्रे सडक छ । करिब ४२ किलोमिटरको यो सडकका बीचमा दर्जनौं शाखा सडक छन् । यसले मूल सडक बिगारिदिएको उनले बताए ।


तनहुँको दमौलीदेखि लमजुङको भोर्लेटारसम्म २८ किलोमिटर ‘सिंगल लेन’ सडक कालोपत्रे छ । ती सडकसँग जोडिने गरी कच्ची सडक निर्माणले कालोपत्रे उप्किएको छ । कतिपय पक्की सडकको माथिल्लो क्षेत्रमा कच्ची सडक बनाउँदा डोजर र एक्साभेटरले जथाभावी ढुंगामाटो फालिदिँदा पिचमै थुप्रिने गरेको छ । यसले पहिले बनेको सडक भत्काउने गरेको छ ।


२०२८ मा कुन्छाबाट सदरमुकाम बेंसीसहर सरेपछि यस क्षेत्रमा जनघनत्व बाक्लिँदै गयो । २०५४ मा डुम्रे–बेंसीसहर सडक कालोपत्रे भयो । आवश्यकताअनुसार गाउँगाउँमा सडक निर्माण गरिए । यसअघिको जिल्ला प्राविधिक कार्यालयको तथ्यांकअनुसार पाउँदी–बेंसीसहरसहित लमजुङमा ४३ दशमलब ५ किलोमिटर सडक कालोपत्रे छ । १२० किलोमिटर सडक ग्राभेल छ ।


६८० किलोमिटर सडक कच्ची (धुले) छ । कालोपत्रेमा सिंगल लेन’ ३ दशमलब ५ मिटर चौडाइका हुन् । जहाँ एकतर्फी एउटा सवारीमात्रै पास हुन सक्छ । यी सडकका छेउबाटै कच्ची सडक बनाएपछि बर्खायाममा कहिलेकाहीं सवारी रोकिने गरेको चालकहरू बताउँछन् । तर, पक्की सडकछेउबाट गाउँ जाने सडक निर्माण रोकिएको छैन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि जथाभावी सडक निर्माण रोकिएको छैन । जनप्रतिनिधि आएपछि निर्माण गरिएका कालोपत्रेसमेत उक्किन थालेका छन् । केही सडक निर्माण गर्दागर्दै उक्किएका उदाहरण पनि छ ।


बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जनप्रतिनिध नहुँदा कर्मचारीले धानेको बेला जथाभावी सडक बन्नाले समस्या ल्याएको बताए । त्यही बेला निर्माण गरिएको सडकका लागि अहिले पनि मर्मत तथा निर्माणका योजनाको माग छ । ‘जनप्रतिनिधि नहुँदा कडाइ कस्ले गर्ने ? केही व्यक्ति आफैं इन्जिनियर बने ।


डोजरका ड्राइभर आफैं इन्जिनियर बन्छन् । जनतालाई जसरी हुन्छ ढोकैमा बाटो चाहिने । दीर्घकालीन असर के पर्छ हेर्नु छैन । सडकले सडकलाई बिगार्‍यो,’ उनले भने । बेंसीसहर नगरपालिकाभित्र आइन्दा प्राविधिक जाँचबिना जथाभावी सडक निर्माण गर्न नदिने उनले बताए । उनले सडक निर्माणमा भन्दा स्तरोन्नतिमा ध्यान दिएको र बजार क्षेत्रमा पिच बनाउने काम अघि बढाएको बताए ।


गोरखा सीमा धमिलिकुवा क्षेत्रदेखि कास्की सीमा रामबजारसम्म मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणाधीन छ । तार्कुघाट क्षेत्रमा कालोपत्रे गरिएको छ । दोर्दी गाउँपालिका २, प्यार्दीखोला बेलघारीदेखि ५ नं. वडाको पाचोकबेंसी जोड्ने सडकको अर्चलबोट खण्डमा कालोपत्रे भइरहेको छ ।


निर्माणाधीन अवस्थाका ग्राभेल सडक धेरै छन् । तर, कच्चीबाटोले ग्राभेल सडक बिगार्ने गरेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । ‘सकेसम्म घरघरै सडक लाने भन्छन् । सडककै माग बढी छ,’ उनले भने, ‘केन्द्र सरकार, प्रदेश सरकारले पनि सडकमै बढी बजेट छुट्याएको छ । हामीले पनि सडकमै बढी बजेट छुट्याएका छौं ।’


सडक निर्माण सोचेजस्तो नभएको उनले बताए । कच्ची सडकमध्ये हिमाली जिल्ला मनाङ र उत्तरी लमजुङ जाने बेंसीसहर–खुदी खण्ड सबैभन्दा बढी बिग्रिएको छ । उक्त सडक निर्माण भएको साँढे १ दशकभन्दा बढी भइसक्दा समेत कालोपत्रे हुन सकेको छैन । सडकका ठाउँठाउँमा दर्जनभन्दा बढी शाखाले बिगारिदिएका छन् ।


लमजुङमा ४ गाउँपालिका र ४ नगरपालिका छन् । सबै स्थानीय तहले बजेटको आधा हिस्सा सडकैमै छुट्याएका छन् । तत्कालीन जिविस, नगरपालिका, गाविस साथै सांसद कोष, सांसद क्षेक्र विकास कार्यत्रम, मन्त्रालयसाथै गैरसरकारी निकायको अनुदानमा ग्रामीण भेगसम्म मोटरबाटो अभियान र प्रतिस्पर्धा नै चल्यो । कतिपयले देशविदेशबाट ५० लाख रुपैयाँ चन्दा उठाएर गाउँमा सडक पुर्‍याए । सडक बनाउने प्रतिस्पर्धा अहिले पनि जारी छ । ऋण काढेर सडक निर्माण गरेका, आफूखुसी निर्माण गरेका सडक र निर्माणाधीन अवस्थाका थुप्रै योजना छन् ।


वर्षभरि सवारी गुड्न नसकेका, भर्खर ट्रयाक खुलेका सडकका कारण मूल सडकमा क्षति पुगेको गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीले बताए । उनका अनुसार सडक निर्माण गरिनु राम्रो हो । यसले विकासको ढोका खुलाउँछ । तर, प्रक्रिया गलत छन् । शाखा सडक निर्माण गरिँदा मूल सडकलाई क्षति पुग्छ या पुग्दैन भनेर हेक्का राख्नुपर्छ ।


सडक वरपर नाली बनाउनले सडकको आयु लम्ब्याउन सकिन्छ । ‘शाखा सडकमा पानी हालिएको छ । ट्याक्टर त्यहीं कुदाउँछ । त्यो सडकले मूल सडक नबिगारेर कस्ले बिगार्छ ?’ उनले भने, ‘डोजर चालक इन्जिनियर बन्ने, उपभोक्ता समिति, नेता इन्जिनियर

बन्ने अनि जथाभावी खनिएका सडकमा जथाभावी सवारी गुडाउँदा समस्या आउँछ ।’


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङका निमित्त प्रमुख इन्जिनियर उशेष श्रेष्ठले सडकको नयाँ ट्रयाक खन्नुभन्दा भएकालाई स्तरोन्नतिमा लानुपर्ने बताए । ‘कुनै गाउँमा दोहोरो तेहेरो सडक पुगेका छन् । आवश्यकताभन्दा पहुँचको आधारमा सडक निर्माण भए ।


यसले मुख्य सडकलाई नराम्ररी असर पारेको छ,’ उनले भने । मुख्य सडकबाट जथाभावी सडक निर्माण गरिनुले भूक्षय, बस्ती जोखिम, बाढीपहिरो जस्ता समस्या देखिएको उनको ठम्याइ छ । उनका अनुसार प्राविधिक अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन नगरी डाँडाकाँडा र वनजंगलमा जबर्जस्ती डोजर चलाएपछि त्यही बाटोमा पहिरो चलेको र मूलबाटोलाई समस्या पार्ने गरेको बताए ।

प्रकाशित : चैत्र २, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?