कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवारका चारै जनामा सिकलसेल

ठाकुरसिंह थारु

नेपालगन्ज — बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयागाउँका ७० जनाको रगत परीक्षण गर्दा ४ जनामा सिकलसेल एनिमियाँ ट्रेट पाइएको छ । एकै परिवारका सहोदर दिदीभाइ र बुबाछोरामा ट्रेट देखिएको हो । त्यहाँबाट संकलन गरिएको रगतको नमुना नेपालगन्जमा परीक्षण गरिएको थियो । थप पुष्टिका लागि रगतको नमुना भारतको लखनउमा परीक्षणका लागि पठाइने चिकित्सकले बताए । 

परिवारका चारै जनामा सिकलसेल

यहाँको भेरी प्रदेश अस्पतालमा सिकलसेल जाँच गरिन्छ । त्यहाँको मेसिन बिग्रिने गरेकाले ढुक्क हुनका लागि रगत परीक्षणका लागि बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । विक्रेता कम्पनीले अस्पतालको ल्याबमा रहेको मेसिने मर्मत गर्नुपर्ने समयावधि अझै बाँकी छ । विक्रेता कम्पनी सम्पर्कमा नआएका कारण समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।


अस्पतालका फिजिसियन संकेत रिसालले सिकलसेल शंका गरिएका व्यक्तिलाई उपचारका लागि सम्पर्कमा आउन सुझाव दिएको बताए । ‘कुन प्रकारको सिकलसेल हो त्यो पुष्टि नहुँदासम्म डराउनुपर्ने अवस्था छैन । रोग भएको पुष्टि भयो भने पनि उपचार सम्भव छ,’ उनले भने ।


भयावह रूपमा देखिएको उक्त रोगका कारण थारू समुदायमा आतंक फैलिएको छ । चिकित्सकका अनुसार सिकलको वास्तविक अवस्था बारे अध्ययन गर्न थारू समुदायका प्रत्येक व्यक्तिको रगत परीक्षण आवश्यक छ । सरकारीस्तरबाटै त्यो सम्भव हुन सकेको छैन । स्थानीय तहले सिकल जाँचका लागि केही बजेट छुट्याएका छन् । केही तह सिकलसेल जाँच मेसिन खरिद गर्ने प्रक्रियामा छन् ।


कोहलपुर नगरपालिका–३ मैटहवा गाउँमा रगत परीक्षण गर्दा १३ जना सिकलसेल एनिमियाका बिरामी भेटिएका थिए । नगरपालिकाले गाउँमै रहेको विद्यालयका बालबालिका र अभिभावकको रगत परीक्षण गरेको थियो । शत प्रतिशतले रगत परीक्षण नगराएका कारण सिकलपीडितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताए । थारू समुदायमा महामारीका रूपमा फैलिँदै गएको सिकलसेल एनिमियाका बिरामीको पहिचान गर्न रगत परीक्षण गरिएको थियो ।


सिकल जाँचका लागि केन्द्रीय प्रयोगशाला काठमाडौंको टेकु, नेपालगन्जस्थित भेरी अस्पताल र ७ नम्बर प्रदेशको सेती अन्चल अस्पताल धनगढीमा हुने गरेको छ । सिकलसेल जाँचका लागि निजी प्रयोगशालाले २ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । महँगो परीक्षण भएका कारण गरिब रगत जाँच गर्न असमर्थ छन् ।


वंशाणुगत रोगको पहिचान समयमा नहुँदा बिहेबारीपछि जन्मिने सन्तानमा सर्ने गरेको छ । समयमै पहिचान नहुँदा उपचार अभावमा बिरामीको मृत्यु हुने गरेको छ । सरकार स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?