कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयलाई भूगोलविद्को सहयोग

विभिन्न विद्यालयलाई १ करोड ७ लाख ४५ हजार
एउटै विद्यालयलाई ७० लाख
उनकै नाममा विद्यालय
वसन्तप्रताप सिंह

बझाङ — बझाङको दुर्गम गाउँमा जन्मिएर अमेरिका बसोवास गर्दै आएका भूगोलविद डा. तुलसीराम जोशीले विभिन्न विद्यालयलाई १ करोड ७ लाख ४५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले बझाङका ३ र कैलालीको २ गरी ५ विद्यालयलाई सहयोग गरेका हुन ।

विद्यालयलाई भूगोलविद्को सहयोग

आफूले प्रारम्भिक शिक्षा हासिल गरेको बझाङको शान्ति मावि चौघानपाटामा पिता भानुभक्त जोशीको नाममा १२ लाख १५ हजारको भानुभक्त गरिब जेहेन्दार छात्रवृत्ति कोष स्थापना गरेका छन् । सर्वसाधारणका छोराछोरी पढ्ने नेपालकै दोस्रो सार्वजनिक विद्यालय सत्यवादी उच्च माविमा पनि उनले आफ्ना जेठा बुवाको नाममा १२ लाख १५ हजार रकमको देवीभक्त छात्रवृत्ति कोष स्थापना गरेका छन् । जोशी सत्यवादीबाट एसएलसी दिने पहिलो ब्याचका विद्यार्थी हुन् । यो विद्यालय मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले विसं १९६३ मा स्थापना गरेका थिए ।


जोशीले पुर्ख्यौली गाउँ छबिस पाथिभेरामा रहेको बान्नीचौर माविमा पनि आमा महालक्ष्मी देवी जोशीको नाममा १२ लाख १५ हजारको छात्रवृत्ति कोष स्थापना गरेका छन् । आफूले अध्ययन गर्दा भोगेको आर्थिक समस्या सम्झिँदै कुनै पनि बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कोषको स्थापना गरेको जोशीले बताए । उनले भने, ‘कापीकलम, झोला, पोसाक जस्ता सामान्य कुराको अभावमा विद्यालय छोड्नुपर्ने बाध्यता कसैलाई नपरोस् भनेर छात्रवृत्ति कोष स्थापना गरेको हुँ ।’


हालै कैलालीको धनगढीमा रहेको राष्ट्रिय माविलाई छात्रवृत्ति कोष तथा शैक्षिक सुधारका लागि ७० लाख नगद सहयोग गरेका थिए । उनले गरेको सहयोगको सम्मानमा उक्त विद्यालयले नाम परिर्वतन गरी राष्ट्रिय तुलसीराम मावि नामकरण गरेको थियो । जोशीको सम्मानमा राष्ट्रिय मावि कैलालीले धनगढी बजारमा रथ यात्रासमेत गरेको थियो । उनले कैलालीकै शारदा माविको पुस्तकालयलाई पनि एकलाख सहयोग गरेका थिए ।


जोशीले सहयोग गरेको रकमले विद्यालयको छुट्टै खाता खोलेर छात्रवृत्ति कोष स्थापना गरिने र कोष सञ्चालन निर्देशिका बनाएर हरेक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोग प्राप्त विद्यालयले जानकारी दिएका छन् । ‘उहाँको सहयोगले गरिब विद्यार्थीको पढाइमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ बान्नीचौर माविका प्रधानध्यापक लोकेन्द्रबहादुर सिंहले भने, ‘अरू स्रोतबाट पनि सहयोग जुटाएर छात्रवृत्ति कोषको रकम वृद्धि गर्दै लैजाने छौं ।’


४० वर्ष अमेरिकाको बसाइपछि जन्मथलो बझाङमा आएका जोशी छबिस पाथीभेरा गाउँपालिका ४ ब्यासीको तामाखानीमा जन्मिएका थिए । प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा हासिल गरेका उनले २०१३ सालमा बझाङकै सत्यवादीबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न अमेरिका गएका थिए ।


अमेरिकाकै विश्वविद्यालयमा प्राध्यापन गर्ने जोशी त्यहाँका ख्याति प्राप्त भूगोलविद् हुन् । उनले अमेरिकी राष्ट्रपतिबाट प्रसिडेन्ट भोलेन्टियर पदक र स्टेट गभरमेन्ट पदकसमेत पाइसकेका छन् । नेपालमा हुँदा महेन्द्र विद्याभूषण पदक पाएका जोशीले यसअघि पनि काभ्रेको एउटा विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेका थिए । त्यसअघि उनले बझाङकै १५ जना गरिब विद्यार्थीलाई उच्च शिक्षासम्म आफ्नै खर्चमा पढाएका थिए ।


उनको सहयोगमा पढेर हाल कोहलपुर मेडिकल कलेजका प्राध्यापकसमेत रहेका दन्त चिकित्सक डाक्टर हिमाल धामीले जोशीले बझाङको शिक्षा क्षेत्रमा निकै ठूलो योगदान गरेको बताए । उनले भने ‘शिक्षा नै जीवनको ज्योति हो । शिक्षा नभएकै कारण हामी पछाडि परेका हौं भन्ने कुरा उहाँको मान्यता हो । त्यसै कारण अमेरिकामै रहेर पनि उहाँले यहाँको शिक्षा क्षेत्रको विकासका लागि सक्दो गर्दै आउनुभएको छ ।’ जोशीले आर्थिक सहयोग नगरेको भए आफूले पनि उच्चशिक्षा हासिल गरेर यो स्थानसम्म आउन नसक्ने धामीले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?