कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै हातेकागज उद्योग

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाका हातेकागज उद्योगहरू बन्द हुन थालेका छन । लामो समय बन्द भएर केही संघसंस्थाको सहयोगमा तीन वर्षअघि पुनः सञ्चालनमा आएका उद्योगहरू फेरि बन्द भएका हुन् । बझाङ जिल्लामा रहेका १७ वटा हातेकागज उद्योगमध्ये १५ वटा बन्द भइसकेको सञ्चालकहरूले बताएका छन् । 

हराउँदै हातेकागज उद्योग

बन्द भएका उद्योगमा अधिकांश सामुदायिक स्वामित्वमा रहेका र साझेदारीमा सञ्चालित छन् । कागज उद्योग बन्द भएपछि त्यहाँ कार्यरत सयभन्दा बढीको प्रत्यक्ष र सयौं कच्चा पदार्थ (लोक्ता) संकलकहरूको रोजगार खोसिएको स्थानीयले बताए ।


‘साँझबिहान घरको काम गर्न पाइन्थ्यो । महिनाको १५ हजार तलब पनि आउँथ्यो,’ कालिका हातेकागज उद्योग दाँतोलाका प्राविधिक रतन जेठाराले भने, ‘हातमा अरु सीप छैन, उद्योग बन्द भएपछि ज्याला मजदुरी गरेर दिन काटिरहेको छु ।’


उनले उद्योग बन्द भएपछि व्यवस्थापक प्राविधिक सहयोगी आदि पदमा कार्यरत ९ जना बेरोजगार भएको बताए । तलकोट गाउँपालिकाको कालिका सामुदायिक वनको स्वामित्वमा रहेको यो उद्योगले वार्षिक ४० लाख बराबरको कागज उत्पादन गर्दै आएको थियो । राम्रोसँग चलिरहेका उद्योग बन्द हुनुमा यहाँको व्यवस्थापनको कमजोरी रहेको स्थानीयहरू बताउँछन् ।


‘साँझो बाँझो भनेजस्तै भयो । जो सञ्चालक समितिमा गयो, उसले उद्योग चलाउनभन्दा पनि आफूले कसरी कमाउने भन्ने सोच्यो । धेरैको मनपरी भएपछि यस्तै हो । चल्दा चल्दैको उद्योग बन्द भयो,’ ती स्थानीयले भने । उद्योग बन्द भएपछि उद्योगको भवन र त्यहाँ रहेका उपकरण बेवारिसे छन् ।

व्यवस्थापनकै कमजोरीका कारण जिल्लाकै ठूलो र नेपालकै पहिलो सामुदायिक उद्योग मालिका हाते कागज प्रालि पनि बन्द भएको छ । बहुसरोकारवाला वन कार्यक्रमको झन्डै १२ लाखको सहयोगमा ३ वर्ष अघिबाट पुन सञ्चालनमा आएको यो उद्योग एक वर्ष नचल्दै बन्द भएको हो । उद्योग बन्द भएपछि यहाँ रहेका लाखौं मूल्यका विटर मेसिन, भ्याट, फ्रेमलगायतका उपकरण संरचनाहरू पनि लापरबाह ढंगले छोडिएको स्थानीयले बताए ।


‘फलामका मेसिनहरूमा खिया लाग्न थालेका छन् । केही उपकरण गोठालाहरूले तोडफोड गरेर बिगारिसके,’ स्थानीय रवीन्द्र कामीले भने, ‘उद्योगको भवनमा भएका सामान र काठहरूसमेत उखेलेर लगिएका छन् । हेर्दाहेर्दै उद्योग ध्वस्त भयो ।’ जयपृथ्वी नगरपालिका वडा नं १ को श्री विनायक पिमिडाँडा सामुदायिक वनको स्वामित्वमा रहेको यो उद्योगमा ३ सय घरधुरी उपभोक्ताको सेयर रहेको भए पनि १८ वर्षदेखि उद्योगको नाफा नोक्सानको पनि हिसाब किताब नभएको उपभोक्ताहरू बताउँछन् ।


‘कुनै संघसंस्थाबाट सहयोग आयो भने केही दिन चलाए जस्तो गर्छन् । सहयोग पाइसकेपछि हालत उही हो,’ स्थानीय नरेन्द्रसिंहले भने, ‘उपभोक्ताको फाइदाका लागि खोलेको उद्योग केही व्यक्तिहरू मागी खाने भाँडोजस्तो भएको छ ।’


जिल्लाभरका हातेकागज उद्योगहरू एकपछि अर्को गर्दै बन्द भएपछि कच्चा पदार्थ बिक्री गरेर आम्दानी गर्दै आएका स्थानीयको समेत नुनतेल चलाउने बाटो बन्द भएको छ ।


‘रोजगारी नभएका महिलाहरूले पनि दिनमा ५/७ सय रुपैयाँ लोक्ता संकलन गरेर कमाउँथे उद्योग हुँदा पुरुष घरमा नभएकाहरूलाई पनि सानोतिनो खर्च चलाउनका लागि कसैलाई हात जोड्नुपर्ने अवस्था थिएन,’ मष्टा गाउँपालिका दयकी पुनीदेवी द्वालले भनिन्, ‘उद्योग बन्द भएपछि घर खर्च चलाउनै गाह्रो भएको छ ।’ उद्योग सञ्चालनमा हुँदा लोक्ता तथा कागज ढुवानी गर्ने, उद्योगलाई दाउरा बिक्री गर्ने कामबाट पनि धेरै स्थानीयलाई राम्रो रोजगारी भएको बताउँदै बन्द भएपछि उनीहरूलाई समस्या भएको उनको भनाइ छ ।


यता लोक्ता संकलकहरूले भने व्यवस्थापनको भन्दा पनि कच्चा पदार्थको अभाव उद्योग बन्द हुनुको मुख्य कारण रहेको बताएका छन् । हिमालय हातेकागज उद्योग दयका सञ्चालक प्यारीलाल जेठारा भन्छन्, ‘कतिपय वनमा कच्चा पदार्थ नै नभएकाले उद्योग बन्द भएका हुन् । धेरैजसो ठाउँका संकलक सतुवालगायत जडिबुटीबाट बढी आम्दानी हुने र लोक्ता संकलनबाट कम आम्दानी हुने भएपछि लोक्ता संकलन गर्न छोडेका छन् । संकलन गर्ने मानिस नै नभएपछि उद्योगमा कच्चा पदार्थको अभाव भयो ।’

तर जिल्लामा प्रशस्त मात्रामा कच्चा पदार्थ रहेको र व्यवथापनको लापरबाहीले नै उद्योगहरू बन्द भएको यस क्षेत्रका जानकारहरू बताउँछन् । स्थानीय गैरसरकारी संस्थामा लामो समयसम्म उद्यम विकासका क्षेत्रमा काम गरेका मंगल खड्का भन्छन्, ‘कच्चा पदार्थ पर्याप्त छ, बजार पनि राम्रै छ । अधिकांश उद्योग धराशायी हुनुको कारण व्यवस्थापनमा स्वार्थी र लालची प्रवृत्तिका मान्छेको हाली मुहाली हुनु नै हो ।’ उनले सामुदायिक र साझेदारीमा सञ्चालित उद्योग सबै बन्द हुनु तर एकल स्वामित्वका उद्योगहरूले राम्रो फाइदा गर्नु यसको उदाहरण भएको बताए ।


बझाङमा उत्पादित नेपाली हातेकागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । यसको माग र मूल्य पनि बढी हुने गरेको र राष्ट्रिय अर्थतन्त्रमा समेत सुधार गर्नका लागि यस्ता उद्योगको योगदान हुने गरेको भन्दै स्थानीय प्रविधिमा आधारित उद्योग बन्द हुनु दुःखद भएको उनले बताए ।


तीन वर्ष पहिला बझाङबाट मात्र वार्षिक ८ हजार कोरी (एक कोरीमा २ सयप्रति कागज हुन्छ) कागज उत्पादन भैरहेको र यसबाट जिल्लामा वर्षमा करिब २ करोड ५ लाख बराबरको रकम भित्रिने गरेको थियो । काठमाडौंमा कागजको मूल्य प्रतिकोरी गुणस्तर र तौलका आधारमा ३ हजार ५ सयदेखि ७ हजारसम्म रहेको छ ।

प्रकाशित : चैत्र ४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?