कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–नारायणगढ सडक विस्तार सुरु

बनेको ४ वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्ने चिनियाँ कम्पनीसँग सम्झौता
घनश्याम गौतम

रुपन्देही — पूर्व–पश्चिम राजमार्ग अर्न्तगतको बुटवल–नारायणघाट खण्ड विस्तारको काम सुरु भएको छ । निर्माणका लागि सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले ठेक्कामा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम आरम्भ गरेको छ ।

बुटवल–नारायणगढ सडक विस्तार सुरु

माघ २४ मा भएको सम्झौताअनुसार पहिलो चरणको विस्तारको काम ०८० साउन २२ मा सम्पन्न हुनेछ । त्यसपछि ०८४ साउन २१ सम्म निर्माण कम्पनीले नै मर्मत गर्नेछ । यस अघिका निर्माण आयोजनामा मर्मतको समयावधि १ वर्षको हुने भए पनि यो योजनामा मर्मतको अवधि ४ वर्ष राखेर नयाँ परिक्षण गर्न लागिएको छ ।


विभागले एसियाली विकास बैंकको ३२ वर्षे ऋण सहयोगमा सडक विस्तार हुन थालेको हो । सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । त्यसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ ।


आयोजना निर्देशक दीपक श्रेष्ठका अनुसार दुई खण्डमा निर्माण हुने सडकका लागि निर्देशनालयले माघ २४ गते नै सम्झौता गरिसकेको छ । ‘निर्माण अवधि साढे ४ वर्षको हुनेछ,’ उनले भने, ‘त्यसपछिको ४ वर्ष मर्मतको काम समेत निर्माण कम्पनीले नै गर्नेछ ।’ निर्देशनालयका अनुसार १ सय १३ किमिलाई दुई खण्डमा विभाजन गरिएको छ ।


पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किमि छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको बुटवल–नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।


अहिले बुटवल–नारायणगढ सडक दुई लेनको छ । अबको ५ वर्षमा पूरै सडक ६ लेनको बन्नेछ । सडकको २ लेनको बीचमा तीन मिटरको ‘ग्रिनरी’ भाग रहनेछ । जहाँ सदावहार हरियाली देखिनेछ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको बन्नेछ । एक लेन साढे ३ मिटरको हुनेछ । बस्ती क्षेत्रको झन्डै २८ किमि खण्डमा ७ मिटरको सर्भिस लेन समेत निर्माण हुने आयोजना प्रमुख न्यौपानेले बताए ।


‘सडक अन्य विकसित देशका जस्तै आकर्षक र हरियाली बन्नेछ,’ उनले भने, ‘वातावरणीय सुन्दरता समेत बढाउने गरी सम्झौता भएको छ ।’ उकालो र ओरालो पहाडी क्षेत्र रहेको दाउन्ने खण्डको १२ किमिमा ३ लेन मात्र हुनेछ । त्यहाँ उकालोमा गुड्ने सवारी साधनले २ लेन र ओरालोमा गुडिरहेको सवारी साधनले १ लेन प्रयोग गर्ने उनले बताए । दाउन्ने पहाडको ८ किमि खण्डमा भने सडक २ लेन मात्र हुनेछ ।


सडक विस्तारका लागि निर्माण कम्पनीले रजहर, भूमहीमा क्याम्प निर्माण गरी काम सुरु गरेको छ । आरुङखोलामा सामग्री राख्नका लागि क्याम्प निर्माण भइरहेको आयोजनाका इन्जिनियर युवराज पाण्डेले बताए । सडकको शुक्रबार प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्दै छन् । ‘सडक विस्तारको प्रारम्भिक काम सुरु भइसकेको छ,’ इन्जिनियर पाण्डेले भने, ‘अहिले सडक निर्माणको क्षेत्रमा पर्ने रुख कटानका लागि लगत संकलन गर्ने काम भइरहेको छ ।’


विद्युत्का पोल सिफ्टिङको काम पनि भइरहेको उनले बताए । सडक निर्माणका क्रममा बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झन्डै ११ हजार रुख काट्नुपर्ने भएकाले त्यसको प्रक्रियासमेत अघि बढेको आयोजनाले जनाएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?