हिउँ हटाएपछि बाटो खुल्यो

हरि गौतम

रुकुम पूर्व — हिउँका कारण ३ महिनादेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । भूमे गाउँपालिका–१, पन्चासेदेखि बागलुङ सिमाना पातिहाल्नसम्म मध्यपहाडी लोकमार्ग खण्डमा मंगलबारदेखि गाडी सञ्चालनमा आएका हुन् । डोजर र एक्साभेटरले हिउँ हटाएपछि सडक खुलेको हो ।

मध्य–पहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका–१ पञ्चासे–बागलुङ खण्डमा हिउँ हटाएपछि चलेका सवारी साधन । तस्बिर : हरि/कान्तिपुर 

मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले हिउँ हटाएको हो । निर्माण कम्पनीले हिउँ हटाएर स्तरोन्नतिको काम थाल्ने तयारी गरेको छ । गत पुस पहिलो सातादेखि सडक अवरुद्ध थियो ।

Citizen

लगातार ८ पटक हिमपात भएपछि सडक पूर्णरूपमा ठप्प बनेको थियो । उक्त खण्ड दायाँबायाँ ठूलो जंगल छ । त्यसले पनि हिउँ पग्लिन पाएन । फेरि हिउँ नपर्ने देखिएपछि सडक खुलाइएको निर्माण कम्पनीले जनाएको छ ।

हिउँ हटाएपछि गाडी चल्न थालेको र स्तरोन्नतिको काम पनि सहज हुने कम्पनीका साइड इन्चार्ज पुष्पकुमार शाहीले बताए । हिउँ परेका कारण ३ महिनादेखि उक्त खण्डमा आवागमन बन्द थियो । स्तरोन्नतिको काम हुन सकेको थिएन । आगामी असारसम्म कालोपत्रे गरिसक्ने शाहीको दाबी छ । सडकको दायाँ–बायाँको हिउँउस्तै छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट काठमाडौं आवत–जावत गर्न झन्डै २ सय किमिभन्दा बढी लामो यात्रा गर्नु परेको थियो । हिउँले बाटो छेकेपछि जिल्लावासी रुकुम पश्चिम, सल्यानमा पर्ने राप्ती लोकमार्ग हुँदै काठमाडौं आउजाउ गर्थे ।
सिस्ने गाउँपालिकादेखि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, पोखरा भएर काठमाडौं पुग्न ४ सय २८ किलोमिटर यात्रा गर्नुपर्छ । राप्ती लोकमार्ग भएर जाँदा ६ सय ३८ किलोमिटर यात्रा गर्नुपर्छ ।

हिउँ हटाइएपछि रुकुमकोटदेखि बागलुङको बुर्तिबाङ, काँक्रीदेखि बुर्तिबाङ तथा सोझो पोखरा, काठमाडौं जानेलाई सजिलो भएको छ । बुधबारदेखि आवतजावत सहज हुने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निर्मला हत्या प्रकरण : थुनछेक बहस सुरु

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा यातना र प्रमाण नष्टको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधबार दिउँसो बयान सकिएपछि कञ्चनपुर जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो ।

वादी पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका छन् । प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन् ।

‘थुनछेक बहस निरन्तर छ, आज (बुधबार) वादी पक्षको बहस सकिएको छ,’ जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘शुक्रबार बहस निरन्तर अघि बढ्छ ।’ उनका अनुसार प्रतिवादी तर्फबाट थप कानुन व्यवसायीले बहस गर्ने जानकारी भए पनि कस–कसले गर्ने भन्ने विषयमा यकिनभइसकेको छैन ।

मंगलबार जिल्ला अदालतमा आफैं उपस्थित भएका विष्टको दोस्रो दिन बयान सकिएको हो । उपस्थित भएसँगै पहिलो दिन यातनासम्बन्धी कसुरमा बयान लिइएको थियो भने दोस्रो दिन बुधबार सार्वजनिक न्यायविरुद्धको कसुरमा बयान लिइएको हो । उनलाई प्रहरी हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढेको छ ।

फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरेपछि फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका हुन् ।

सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकै दिन यातना र सार्वजनिक कसुर लागेका ६ जना प्रहरी अदालतमा उपस्थित भएका थिए । उनीहरूलाई फागुन ३० गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश दिएको हो । विष्टको मुद्दा पनि आचार्यकै इजलासमा परेको छ ।

पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही दिन दिलीप विष्टका दाइ खड्कले विष्टसहित ४ जनाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए । भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीपलाई प्रहरीले यसअघि मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT