कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहलाई सरकारको आग्रह, 'वार्तामा आउनुस्, गोलाबारुद  बिसाउनुस्'

काठमाडौँ — सरकारले गोलाबारुद बिसाएर संवादमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

चन्द समूहलाई सरकारको आग्रह, 'वार्तामा आउनुस्, गोलाबारुद  बिसाउनुस्'

उनले भने, 'सरकारले पटक पटक भनिरहेकै छ । वार्तामा आउनुस् । गोला, बारुद बिसाउनुस् ।'


मुलुकभरि चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ता धरपकड भइरहेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकार वार्ताबाट समस्या समाधान गर्न चाहिरहेको प्रस्ट पारे । 'हामीले सिध्याउने कुरा कहिले गर्‍यौं र ?' मन्त्री बाँस्कोटाले भने, 'उहाँहरुले हतियार बिसाउनुपर्छ । संविधानमाथि प्रश्न उठाउन पाइन्छ । संविधानले प्रस्ट भनेको लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन । हिंसालाई छुट दिन सकिँदैन ।'

सामाजिक समस्या छन् भने हतियारले समाधान नगर्ने भन्दै मन्त्री बाँस्कोटाले त्यसका निम्ति चेतनाको सशस्त्रीकरण आवश्यक रहेको औंल्याए । शान्तिपूर्ण तरिकाले सम्पूर्ण राजनीतिक कुराहरुलाई समाधान गर्न सकिने उत्तम बाटो रहेको भन्दै उनले वार्तामा नआए चन्द समूह आफैं सकिने चेतावनी दिए । 'हतियार छोड्नुस् भनिरहेका छौं । छोड्दै छोड्नु हुन्न भने हामी के गर्न सक्छौं र ', बाँस्कोटाले भने, 'भीरबाट लड्नेलाई राम राम भन्ने हो । काँध थाप्न सकिँदैन ।'

गलत, असम्भव असान्दर्भिक र दार्शननिक, राजनीतिक र वैचारिक हिसाबले समाजमा अस्वीकार गर्ने विषय छोडेर कोही सानो नहुने उनको भनाइ थियो ।


कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमतप्रति उनको लक्ष्य थियो ।

प्रकाशित : चैत्र ७, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?