कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमै पाटी छ्याङ्ङै

फेरि रोकियो गोरखा दरबार पुनर्निर्माण
हरिराम उप्रेती

गोरखा — पानी ओत्दैन । घाम छेक्दैन । परम्परागत शैलीबाट बनाइएको पाटीको छानाका आधा झिँगटी खसिसके । नगर्जी पण्डित–भुन्टे दमै दिनानुदिन जीर्ण बन्दै गएको पाटीभित्र दैनिक बिहान र बेलुकी पुगेर नगरा बजाउँछन् ।

दमै पाटी छ्याङ्ङै

‘बाजाको सुरक्षाका लागि ढोकामा ताल्चा लगाउँछु, छाना सबै हाङहाङ्ती छन्,’ उनले भने । असिनापानी पर्दा छानाले नथेग्ने उनको गुनासो छ । ‘साँझ नगरा बजाउँदा झमक्कै हुन्छ, हावाहुरी, असिना आए अन्त ओत लाग्ने ठाउँ छैन,’ उनले भने, ‘पानी चुहिएर बाजामा खिया लाग्ने, ढाडिएर नबज्ने त छँदै छ ।’ ठाउँ परिवर्तन गरेर बाजा बजाउन पनि नमिल्ने उनको दुःखेसो छ । ‘साँझ नगरा बजाएपछि आसपासका गाउँलेले पूजा गर्ने बेला भयो भन्ने बुझ्छन्, अन्त गएर बजाए अरूले सुन्दैनन्,’ उनी भन्छन्, ‘नित्य पूजामा यहाँ नगरा नबजाई हुँदैन ।’


आफ्नै जोडबलले ०२३ सालमा उक्त पार्टी निर्माण भएको भुन्टे बताउँछन् । ‘०२२ सालमा नगरा बजाउन भर्ना भएँ, सुरुको एक वर्ष पेटीमै बसेर नगरा बजाएँ,’ उनले भने, ‘काठमाडौंबाट दरबार हेर्न हाकिम आउँदा नगरा बजाउन एउटा घर चाहियो भनेर बिन्ती चढाएँ ।’ आग्रहअनुसार पाटी निर्माणका लागि तत्कालीन समयमा १३ हजार आएको उनले सुनाए । उनी भन्छन्, ‘खेताला खोजेर म आफैंले पाटी बनाउन लगाएको हुँ, दमैले बनाउन लगाएको भनेर नामै दमै पाटी रह्यो ।’


०५८ सालमा उनको अवकाश भइसकेको छ तर नगरा बजाउन गोरखा दरबारलाई भुन्टेकै खाँचो छ । ‘१३ रुपैयाँबाट जागिर सुरु गरेको हुँ, ०५८ मा ४ हजार ५ सय पाउँथेँ,’ उनले भने, ‘जागिर गयो, अर्को मान्छे पनि कोही आएनन्, म आफैं बिहान–बेलुकी नगरा बजाउँछु, अहिले पनि ४ हजार दाम लिने गरेको छु ।’


५३ वर्षसम्मै एउटै पेसालाई निरन्तरता दिँदै आएका उनलाई आफैंले बनाएको पाटी जीर्ण बन्दा चिन्ता छ । गोरखा दरबारमा नित्य पूजाको समयमा बज्ने नगरा, रासा, कर्नाल, धोपलगायत पाँच बाजा उक्त पाटीमा छन् । ‘भूकम्पले भत्काएर बनाएको पनि हो,’ उनले भने, ‘अहिले बाँदरले सबै झिंगटी झारिसके, पुरानो पाटी आफैंमा जीर्ण छ ।’ पाटी मर्मतका लागि उनले गोरखा दरबार हेरचाह अड्डासँग माग पनि गरेका छन् ।


निकै महत्त्वपूर्ण र ऐतिहासिक पार्टीको मर्मत गर्नै पर्ने उनले बताए । पुरातत्त्व विभागअन्तर्गत रहेको गोरखा संग्रहालय र दरबार हेरचाह अड्डा स्थानीय तहमा जाने भन्ने गत असोज २८ को निर्णय खारेज भएको छ । दरबार संघीय सरकारमातहत रहेपछि उक्त पाटीलगायत अन्य संरचना मर्मतका लागि बजेट आउनेमा गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी आशावादी छन् । ‘पाटी मर्मत आवश्यकता खडकिएको छ,’ अड्डाका निमिक्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘यसबारे पुरातत्त्वलाई पनि जानकारी गराएका छौँ ।’


चौथो पटक रोकियो पुनर्निर्माण

गोरखा दरबारको पुनर्निर्माणको काम चौथो पटक पुनः रोकिएको छ । काठ अभावमा काम अघि बढाउन नसकिएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको हो । २०७४ कात्तिक २९ मा ठेक्का सम्झौता गर्दा २०७६ मंसिरसम्ममा पुनर्निर्माण सक्ने लक्ष्य थियो । पटक–पटक पुनर्निर्माण रोकिँदा लक्ष्यअनुसार काम भेट्न मुस्किल देखिएको अड्डाका निमित्त प्रमुख कट्टेलले बताए । निर्माण सुरु भएको १५ महिना जग निर्माणमै बितेको छ । २५ प्रतिशत काम सकिएको छ ।


‘जगबाहेक अरू काम अघि बढेन,’ उनले भने । १५ दिन यता दरबार पुनर्निर्माणकै काम रोकिएको उनले बताए । ‘सय क्युफिट काठ तत्काल चाहिने भयो, काठ नआइपुग्दा अहिले काम रोकिएको छ,’ कट्टेलले भने । ढुंगा राख्ने, जग सम्याउने काम सकेर लकासी राख्न बेस स्टोन राखिएको छ ।


टेम्बर अफ कर्पोरेसनबाट काठ ल्याउन प्रक्रिया चलिरहेको र दुइर् चार दिनभित्रै काम सुरु हुने आफूहरूले जानकारी पाएको उनले बताए । पुरानै काठपात प्रयोग गर्न पनि नमिलेको उनको भनाइ छ । २ वर्षको समयसीमा पाएको ठेकेदार कम्पनीले आवश्यक पर्ने काठलगायत निर्माण सामग्रीको समयमै जोहो गर्न नसक्दा पुनर्निर्माण पटक–पटक रोकिने गरेको छ । कामदार पनि न्यून संख्यामा खटाउँदा सोचेअनुसार निर्माण सुरु हुन सकेको छैन । ‘काठको कामसँगै गारो लगाउँदा कामदार बढाउन भन्छौँ,’ उनले भने ।


शाहवंशीय राजा राम शाहले उक्त दरबारबाट वि.सं. १६६६ मा निर्माण गरेको उल्लेख छ । २०९० साल र २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि गोरखा दरबारको पुनर्निर्माण सुरु भएको हो । चार करोड ३७ लाख लागतमा दुई वर्षभित्र दरबार पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । ठेक्का बजेट स्वीकृतिलगायत पुनर्निर्माणको काम अघि बढाएको पुरातत्त्व विभागको अनुगमन निकै फितलो रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : चैत्र ११, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?