कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सांसदलाई छक्याएर ठगी

काठमाडौं/सुर्खेत — कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएका हुन् ।

प्रदेश सांसदलाई छक्याएर ठगी

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अरू व्यक्तिसमेत ठगिएको खुलेको हो ।


कान्तिपुरलाई प्राप्त जानकारीअनुसार रोल्पाका भरत डाँगीले सांसदद्वयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशबहादुर कार्कीले फोन गरेर निम्ता दिएको सांसद थापाले बताए । ‘महिलासम्बन्धी विषयमा महिला सांसदलाई पो बोलाउनुपर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन्,’ उनले भने । सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासपोर्ट लिएर भिसा आवेदन दिएकी थिइन् । उनीहरूसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन ।


सांसदलाई निम्ता दिने केशबहादुर कार्कीको नाम अमेरिकाबाट सञ्चालित ओएस नेपाल डट कम नामक अनलाइन पोर्टलको अध्यक्षका रूपमा देखिन्छ । उक्त अनलाइनको काठमाडौंमा समेत कार्यालय छ भने सूचना विभागमा ९३१/०७५/७६ नम्बरमा दर्ता भएको छ । सांसद थापाले अमेरिकामा रहेकी छोरीसँग पनि भेट हुन्छ भनेर आफू जान तयार बनेको बताए । आफूलाई प्रस्ताव आएपछि उनले भ्रमण सूचीमा श्रीमतीको नाम पनि चढाएका थिए । कार्कीले आफूहरूसँगै केही गैरसरकारी संस्थाका प्रतिनिधि पनि अमेरिका जाने भनी झुक्याएको उनले बताए ।


‘हामीसँग जाने भनेका मान्छे ससाना केटाकेटी देखेपछि मलाई सुरुमै शंका लाग्यो, त्यही भएर मैले नजाने निधो गरेँ,’ उनले भने । उनले यस्तो तर्क गरे पनि दूतावासले भिसा नदिएकाले प्रक्रिया रोकिएको स्रोतको दाबी छ ।


थापाका अनुसार आयोजकले बारम्बार कार्यक्रमको मिति बदलेका थिए । उनले भने, ‘सुरुमा ११ मार्चका लागि कार्यक्रम तय भएको थियो । पछि २१ मार्चमा गर्ने भनियो । अन्तिममा २७ मार्चमा गर्ने भनिएको थियो ।’ उनका अनुसार सांसदसँगै अमेरिका लैजाने भन्दै कार्यक्रम आयोजकका नेपाल प्रतिनिधि बताउने रोल्पाका भरत डाँगीले १० जनाभन्दा धेरैसँग लाखौं रुपैयाँ उठाएका रहेछन् । अमेरिका जान तयार भएकालाई युवराज डाँगी र मीना वलीको खातामा पैसा जम्मा गर्न लगाएको उनले बताए । दलालको ठगीधन्दामा परेका व्यक्तिहरूले आफ्नो रकम उठाउनका लागि आफूहरूसँग सम्पर्क गरिरहेको सांसदद्वयले बताए ।


कान्तिपुरसँग सम्पर्कमा आएका एक पीडितले फसेको रकम उठाउन सांसदहरूले पहल नगरिदिएको बताए । ती पीडितले भने, ‘सांसद पनि जाने भनेपछि हामी पैसा तिर्न तयार भयौं । अहिले उहाँहरू थाहै नपाएजस्तो गर्नुहुन्छ ।’ भिसा आवेदन अस्वीकृत भएपछि छोराको पैसा फसेको भन्दै जीवन वलीले आफूलाई फोन गरेको सांसद थापाले बताए । ‘तपाईंहरूका कारण हामीले यत्रो पैसा बुझायौं, असुल गरिदिनुपर्‍यो भनेका थिए’, उनले भने, ‘मैले पैसासँग हाम्रो सम्बन्ध छैन तर ठगिएकै हो भने असुल गर्न सघाउँला भनेँ ।’


थापाका अनुसार मुख्य योजनाकार भरत डाँगी अहिले भारततिर भागेका छन् भने रकम बुझ्ने युवराज र मीनाले समयमै फिर्ता गर्ने भनी कागज गरेका छन् । एक पीडितले पैसा उठाउन भित्रभित्रै पहल भइरहेको र मुद्दामामिला नगर्ने सर्त भएका कारण घटना गुपचुप रहेको बताए । ती पीडितले कति जनासँग पैसा उठाइएको भन्ने यकिन नभएको जनाए । ‘ठगिनेहरू एक दर्जन होलान् भन्ने अनुमान छ,’ उनले भने । रकम उठाउने डाँगीसँग पछिल्लो दुई दिनयता सम्पर्क प्रयास गर्दा सफल हुन सकेन । एक पीडितका अनुसार पैसा माग्न थालेपछि उनी मोबाइल अफ गरेर भागेका छन् ।


सांसद नेपालीले अमेरिका जाने प्रक्रिया सुरु गरे पनि दूतावासले आयोजक भरपर्दो छैन भन्ने सल्लाह दिएपछि आवेदन नदिएको बताइन् । उच्च स्रोतले भने उनले आवेदन दिएको तर अस्वीकृत भएको जनायो । सांसदहरू धेरै जनासँग सम्पर्कमा आउने तर सबैका बारेमा थाहा नहुने बताउँदै उनले भनिन्, ‘एकदिन रोल्पा घर बताउने भरत डाँगीले फोन गरेर अमेरिका जान प्रस्ताव गर्‍यो । मैले हुन्छ भनिदिएँ ।’


उनका अनुसार डाँगीले अमेरिकामा हुने कार्यक्रमबारे ज्येष्ठ नागरिक तथा महिला बालबालिका मन्त्रालयमा पनि कुरा भएको बताएका थिए । त्यही कुरामा भर परेर आफू अमेरिका जान तयार भएको तर डाँगीको गतिविधि ठीक नलागेपछि पछि हटेको बताइन् । उनले भनिन्, ‘सुरुमा सांसदलाई मात्रै लैजाने भनेका थिए, पछि हामीसँगै जाने अरू १५ जना रहेको थाहा भयो ।’


फसेको रकम उठाउन भन्दै पीडितले आफूलाई फोन गरेको उनले बताइन् । ‘एक पीडितका अभिभावकले फोन गरेर रकम उठाइदिन भनेका थिए,’ उनले भनिन् । सबै खर्च अमेरिकाको आयोजकले बेहोर्ने भनेपछि आफू तयार भए पनि झुक्याइएको उनले बताइन् । ‘उल्टै कागजी प्रक्रिया र काठमाडौं जाँदा–आउँदा मेरो खर्च भयो । त्यसले त फसाउने नियत राखेको रहेछ ।’

प्रकाशित : चैत्र १५, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?