कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा किन लगानी गर्न चाहन्छ यूएई ? 

काठमाडौँ — खाडीको दोस्रो ठुलो अर्थतन्त्र यूएई नेपालमा लगानी गर्न चाहन्छ । लगानी सम्मेलनमा भाग लिन काठमाडौँ आइपुगेका यूएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार सहायक सचिव अब्दुल्लाह अल सलेनीले यूएईको सरकारी र निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक भएको बताए । 

नेपालमा किन लगानी गर्न चाहन्छ यूएई ? 

हामी किन नेपालमा लगानी गर्न चाहन्छौँ भन्दै उनले यूएई नेपालमा लगानीको लागि इच्छुक हुनुको कारण पनि दिए । ‘नेपालको लागि यूएई तेस्रो ठुलो व्यापारिक साझेदार हो,’ उनले भने,‘हामीबीच वार्षिक ३० करोड डलरको व्यापार हुन्छ ।’


उनले यूएई नेपालको रणनीतिक आयोजनामा लगानी गर्न इच्छुक रहेको बताए । ‘हामी नेपाली कम्पनीसँग साझेदारी गरी काम गर्न चाहन्छौँ,’ उनले भने,‘नेपाल भारत र चीनजस्ता ठुला अर्थतन्त्रको बीचमा भएकाले पनि लगानीको लागि अवसर हुन्छ ।’


यूएईले भारत र चीनसँग पनि व्यापार साझेदारी गरिरहेको र नेपालसँग लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता पनि गरेकाले लगानीको लागि आकर्षक स्थान भएको बताए ।

‘नेपालमा यूएईबाट मात्रै होइन, मध्यपूर्वको अन्य देशबाट पनि लगानी भित्रिन्छ,’उनले भने । यूएईको अर्धसरकारी र निजी क्षेत्रले अन्य देशमा हालसम्म १ दशमलव ५ ट्रिलियन डलर वैदेशिक लगानी गरेको उनले जानकारी दिए ।

‘हामीले गर्ने लगानीको विशेषता भनेको हामी राजनीतिक हस्तक्षेप गर्दैनौँ,’ उनले भने,‘हामी जित–जितको अवस्थामा विश्वास गर्छौँ ।’ उनले यूएईले लगानी गरेको मुलुकको अर्थतन्त्रमा योगदान र रोजगारी सिर्जनामा पनि आफ्नो देशले ध्यान दिने बताए ।

‘तर, हामी लगानी गर्नुअघि केही विषयको ध्यान पनि दिन्छौँ,’ उनले भने,‘उक्त देशमा राजनीतिक र आर्थिक स्थायित्व छ कि छैन र कर प्रणाली उदार छ कि छैन भन्ने विचार गर्छौँ ।’

लगानी गर्नुअघि यूएईका लगानीकर्ताले विकासप्रति उक्त देशको दृष्टिकोण र व्यवसाय गर्ने वातावरण तथा लगानी गर्दाको प्रक्रियागत झन्झटको विषयमा पनि ध्यान दिने सलेनीले बताए ।

प्रकाशित : चैत्र १६, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?