कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकले भरिए आधारशिविर

कञ्चनजंघामा एउटै कम्पनीबाट विदेशी र नेपाली गरी २४ जनाले आरोहण अनुमति लिए
कुम्भराज राई

ओखलढुंगा — सबैभन्दा बढी २२ पटक सगरमाथा आरोहण गर्ने कामिरिता शेर्पा यस वर्ष पनि सगरमाथा आरोहणको तयारीमा छन् । उनी त्यसको पूर्वतयारी स्वरूप खुम्बुमै रहेको आइल्यान्ड पिक (६१८९ मि) चढेर फर्किसके । शुक्रबार लुक्लाबाट काठमाडौं फर्किने तयारीमा रहेका उनले आफू सगरमाथा आधारशिविरसमेत पुगेर फर्किएको बताए ।

पर्यटकले भरिए आधारशिविर

‘आधारशिविर क्याम्पले भरिसकेका रहेछन् । यसपालि पनि गत वर्षकै तुलनामा आरोही आउने अनुमान छ ।’ कामिरिताले टेलिफोनमा भने, ‘म फेरि अप्रिलको पहिलो वा दोस्रो साता काठमाडौंबाट सगरमाथा आरोहणका लागि टोली लिएर फर्किन्छु ।’

केही वर्षयता ताप्लेजुङको कञ्चनजंघामा सफल आरोहण हुन सकेन ।


प्राविधिक कारणले आरोहण कठिन भएको कञ्चनजंघामा यस वर्ष ठूलो टोली आरोहण तयारीमा छ । विश्वकै तेस्रो अग्लो कञ्चनजंघामा एउटै कम्पनीबाट विदेशी र नेपाली गरेर २४ जनाले आरोहण अनुमति लिएका छन् । पिक प्रमोशन प्रालिले जम्बो टोली आरोहण गराउन लागेको हो । अन्य कम्पनी पनि आरोही लाने तयारीमा छन् ।


पिक प्रमोसनले पाँच दिनअघि आधारशिविर पुगेर व्यवस्थापन सुरु गरिसकेको छ । टेन्ट टाङ्नेदेखि आवश्यक सबै सामग्री ढुवानीको काम चलिरहेको छ । सबैभन्दा बढी आरोहणमा आउने सगरमाथा आधारशिविर टेन्टले भरिएर रंगिसकेका छन् । आरोहण कम्पनीले प्रायः अंग्रेजी महिना मार्चको अन्तिमदेखि अप्रिल दोस्रो सातासम्म तयारी गरिसक्छ । अप्रिल दोस्रो सातादेखि आइसफल डक्टरहरू रुट क्लिएर (बाटो बनाउन) उकालो लाग्छन् ।


आरोहण कम्पनीले आरोहण अनुमति पर्यटन विभागमा लिन थालेका छन् । तर मेसम्मै अनुमति लिने क्रम जारी हुने हुनाले यकिन तथ्यांक आउन समय लाग्छ । ‘चैत, वैशाख र जेठसम्म नेपालको हिमाल आरोहण गर्ने प्रमुख समय हो ।’ पिक प्रमोसन प्रालिका सञ्चालक तथा व्यवसायी आङबाबु शेर्पाले भने, ‘वसन्त ऋतुसँगै हामी खासगरी विदेशी आरोही स्वागत गर्न तयार हुन्छौँ । पर्यटन वर्ष २०२० सफल पार्न पनि यसवर्षको आरोहण मौसमले साथ दिए राम्रो सन्देश जान सक्छ ।’


आरोहणको पूर्वतयारी स्वरूप स–साना पिक चढेर अभ्यास गर्ने प्रचलन छ । खासगरी नयाँ आरोही यतिखेर आइल्यान्ड पिक, मेरा पिक, लबुचेजस्ता ६ हजारमाथिका उचाइ भएका पिकहरू चढिरहेका छन् । हिमाल आरोहणको आकर्षण पछिल्ला वर्षमा पहिलेभन्दा बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ । ०७२ को भूकम्पपछि आरोहणको गति रोकिएको छैन । नेपाली हिमाल सुरक्षित छ भन्ने सन्देश प्रवाह हुँदा आरोहीको आकर्षण नघटेको हो ।


नेपालभित्र प्रमाणित भएका ८ हजार मिटर माथिका १४ हिमाल छन् । त्यसमध्ये ११ वटा प्रदेश १ मा पर्छन् । विश्वको उच्च शिखर सगरमाथा र तेस्रो शिखर कञ्चनजंघा यहीं पर्छन् । आठ हजारमाथिका पाँच–पाँचवटा हिमाल सोलुखुम्बु र ताप्लेजुङमा छन् । एउटा हिमाल संखुवासभामा छ । नेपालमा सबभन्दा बढी आरोहण हुने हिमालको सूचीमा सगरमाथा पछि आमादब्लम, मकालु फस्ट, ल्होत्से, वरुणत्से, मकालु सेकेन्ड हुन् ।


पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटरभन्दा माथिका १ हजार ३ सय १० हिमाल छन् । नेपाली पर्यटनको झन्डै आधा हिस्सा हिमालले ओगट्छ । नेपाल आउने अधिकांश पर्यटक हिमाल हेर्न आउँछन् । हिमाली पर्यटन देशकै प्रमुख स्रोतमध्येको एक हो । हिमाल आरोहण अनुमति तथा पर्यटकबाट राजस्व संकलन गर्ने अधिकार संघमा छ । आरोहणबाट संकलित रोयल्टीको ५० प्रतिशत संघ र बाँकी २५–२५ प्रतिशत स्थानीय तह र प्रदेशले पाउने व्यवस्था छ ।


४ सय १४ शिखर आरोहणका लागि पर्यटन विभागले खुला गरेको छ । सन् २०१८ को वसन्त ऋतुमा २९ वटा चुचुरोमा १ सय ७ समूहका ८ सय ४४ आरोही पुगेका थिए । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाका लागि ३८ समूहका ३ सय ४६ र ल्होत्सेका लागि १० समूहका १ सय ७ जना थिए । विभिन्न पाँच चुचुरोमा एकल आरोहणका लागि अनुमति लिएका थिए ।

प्रकाशित : चैत्र १७, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?